s
यो अध्ययन नेपालमा श्रमिक भर्तीसम्बन्धी नीति र अभ्यासका बिचमा रहेको असमानताहरूलाई पहिचान गर्न र निजी भर्ती एजेन्सी अर्थात म्यानपावर कम्पनीहरु (PRAs) र प्रस्थानपूर्वको अभिमुखीकरण तालिम प्रदान गर्ने तालिम केन्द्रहरू (PDOT) जस्ता बैदेशिक रोजगारीमा कामदारहरु पठाउने क्षेत्रमा औपचारिक रुपमा काम गरेका प्रमुख श्रम बिचौलियाहरुले आप्रवासी कामदारहरूलाई विदेश प्रस्थान गर्नुअघि मानव बेचबिखनबारे जानकारी प्रदान गर्न उनिहरुसंग गर्ने भेटघाट तथा हुने संलग्नतालाई मूल्याङ्कन गर्न गरिएको थियो। यस अध्ययनका लागि छानिएका १५ वटा म्यानपावर कम्पनीहरु र १० वटा PDOT केन्द्रका व्यवस्थापनसँगको अन्तर्वार्ता, उक्त संस्थाहरुद्वारा अनलाइनमा प्रकाशित सामग्रीहरू र नेपालबाट हुने श्रम आप्रवासनसम्बन्धी प्रकाशनहरूको समीक्षाबाट प्राप्त तथ्याङ्कहरुलाई यस अध्ययनमा प्रयोग गरिएको थियो । यस अध्ययनमा नेपालमा श्रमिक भर्नाको नीति र अभ्यासका बिचमा धेरै नै असमानताहरू रहेको भेटियो, जस्तो कि बिदेसका रोजगारदाता कम्पनीहरुबाट श्रम माग (labour demand) ल्याउनको लागि बिचौलियाहरूको व्यापक प्रयोग तथा अनाधिकृत भुक्तानी, नेपाली म्यानपावर कम्पनीहरुले कामदारहरूको खोजीका लागि नेपालमा श्रम बिचौलियाहरुको प्रयोग र कर्मचारी प्रशासनमा रहेका झन्झट तथा अनियमितता। यी कुराहरूले नेपाली कामदारहरूको लागि समग्र आप्रवासन लागत वृद्धि हुन पुगेको र उनीहरूको सुरक्षित आप्रवासनलाई प्रभावित बनाएको पाइयो। बैदेशिक रोजगारीका लागि प्रस्थान गर्नुअघि आप्रवासी कामदारहरूलाई अनलाइन सामग्री, पत्रपत्रिकामा छापिएका रोजगारी विज्ञापन र सम्भावित आप्रवासीहरूसँगको आमने-सामनेको अन्तरक्रियाहरू मार्फत मानव बेचबिखन सम्बन्धी जानकारीहरु न्यूनतम रुपमा मात्र प्रदान गरिएको पाइयो। अभिमुखीकरण तालिम कक्षाहरू श्रम स्वीकृति लिनको लागि आवश्यक पर्ने औपचारिकताका लागि मात्र संचालन हुने गरेको र अभिमुखीकरण तालिम केन्द्रहरूले गुणस्तरमा आधारित प्रतिस्पर्धाको सट्टा कामदार भर्ती एजेन्सीसँगको नेटवर्क मार्फत ग्राहकहरू पाउने भएकाले उनीहरूले प्रदान गर्ने सेवाको गुणस्तर सुधार गर्न उनीहरु प्रोत्साहित नभएको पाइयो। अन्त्यमा, यस अध्ययनले सरकारी निकाय, गैरसरकारी संस्था र भर्ती एजेन्सीलाई नेपालबाट हुने श्रम आप्रवासनमा सुधार गर्ने विषयमा केहि सुझाबहरू प्रस्तुत गर्दछ।
GET IN TOUCH