s
Year of Publication: 18 October 2020 | Kantipur
Published by: CESLAM
छपाल लामा
हुम्ला — लिमी उपत्यकामा पर्ने हल्जीगाउँका ६४ वर्षीय कोन्क्याप मुटुप तामाङलाई उमेर ढल्केको भन्दा पनि काम गर्न नपाइने चिन्ताले बढी सताएको छ । हिमालपारिको गाउँ भनेर चिनिने लिमी उपत्यकामा ६५ वर्ष कटेपछि सार्वजनिक काम गर्न नपाइने नियमको कारण उनी चिन्तित भएका हुन् । ‘काम गर्ने जाँगर भए पनि गाउँको नियमले रोक लगाएको छ,’ उनी भन्छन्, ‘अलिअलि पैसा आउँथ्यो, अब त्यही पनि नआउने भयो ।’
नाम्खा गाउँपालिका–६ मा हल्जी, जाङ र तिल गरी तीन वटा गाउँ छन् । लामा समुदायको बसोबास रहेको यी तीन वटै गाउँमा ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक र १५ वर्षमुनिका बालबालिकालाई सार्वजनिक काम गर्न बन्देज छ । वडाध्यक्ष पाल्जोर तामाङ बालबालिका र ज्येष्ठ नागरिकलाई काम गराउँदा श्रमशोषण हुने भएकाले यस्तो नियम लगाइएको बताउँछन् । उनका अनुसार विशेषगरी विकास निर्माण र सार्वजनिक श्रमका काममा लगाउन रोक लगाइएको हो । ‘उनीहरूले ‘कमाउन पाएनौं’ भनेर चिन्ता त मान्छन् होला तर उमेरका कारण काम गर्न पनि त सक्दैनन्,’ उनले भने, ‘त्यसैले हाम्रो गाउँमा यस्तो निमय लगाइएको हो ।’
तिलगाउँका ६५ वर्षीया छिरिङपुटी तामाङ भने यो नियमले वृद्धवृद्धालाई राम्रै गरेको बताउँछन् । कडा काम गर्न नसकिने भएकाले घरको चुलोचौको र गाईबस्तु हेर्नमा समय बित्ने गरेको उनले बताए । ‘उमेर हुँदा काम गरियो, रमाइलो पनि गरियो,’ उनले भने, ‘अब त हातपाखुरा बसे, काम गर्न पनि सकिँदैन, गाउँको निमयले राम्रै गरेको छ ।’
श्रमसम्बन्धी यो नियम गाउँपालिकाअन्तर्गतको मात्रै हो । वडाध्यक्ष तामाङले बाउबाजेको पालादेखि चल्दै आएको ‘गाउँको नियम’ भएको दाबी गरे । उनका अनुसार ६५ वर्ष कटेका ज्येष्ठ नागरिकलाई घरमै बस्न र ज्ञानगुन आर्जन गर्न प्रेरित गरिँदै आएको छ । ‘सकिन्छ भने गुम्बामा गएर पूजापाठ र ज्ञानकर्म गर्ने, सकिन्न भने घरमै आराम गर्ने गर्छन्,’ उनले भने, ‘काममा लगाइयो भने गर्न पनि सक्दैनन्, गरिहालेमा देखिने गरी काम पनि हुँदैन ।’ बालबालिकालाई भने बालश्रम शोषणको दृष्टिले काम गर्न रोक लगाइएको उनले बताए ।
करिब १ हजार २ सय जनसंख्या रहेको लिमी उपत्यकामा नागरिकता, पञ्जीकरण, सिफारिसजस्ता केही अत्यावश्यकबाहेक गाउँका आफ्नै नियम छन् । गाउँपालिकाका तर्फबाट तामाङ वडाध्यक्ष भए पनि तीन गाउँमा छुट्टाछुट्टै अध्यक्ष हुन्छन् । अहिले तिलगाउँमा लाक्पा तुन्डुप तामाङ, जाङगाउँमा तेमा लुन्डुप तामाङ र हल्जीगाउँमा सोनाम तुन्डुप तामाङ अध्यक्ष छन् । अध्यक्षहरूले गाउँको नियमलाई कार्यान्वयन गराउँछन् । नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामा सरकारका योजनाहरूलाई समेत गाउँका ‘अध्यक्ष’ हरूले हेरफेर गर्ने गरेको बताउँछन् । ‘हामीले त बजेट (योजना) दिने मात्रै हो, काम गाउँकै प्रतिनिधि (अध्यक्षहरू) ले गर्ने गर्छन्,’ उनले भने, ‘अध्यक्षहरूको आदेशलाई गाउँका कसैले पनि अटेरी गर्न सक्दैनन् ।’ यी गाउँमा सरकारीभन्दा गाउँकै नियम लागू हुने गरेको उनले बताए ।
गाउँका अध्यक्षहरू पाँच वर्षका लागि चुनिन्छन् । देशमा लामो समयसम्म निर्वाचन नहुँदा पनि लिमी उपत्यकाका यी गाउँमा गाउँ अध्यक्षहरू चुनिने गरेका थिए ।
GET IN TOUCH