s

आमाबुबा इँटा भट्टामा, ठेलामा बच्चा

Year of Publication: 31 January 2021 | Annapurna Post

Published by: CESLAM

अजवी पौड्याल

 

काठमाडौं : १० महिने निर्जल नेपाली र उनकी दिदी १४ महिने सुस्मिता नेपाली यो जाडोका बेला माटो ओसार्ने ठेलामै दिन गुजार्न बाध्य छन्। सिन्धुलीका नीरबहादुर नेपाली दुई पत्नीसहित ललितपुरको एक इँटाभट्टामा काम गर्ने भएकाले यी नाबालकलाई ठेलामा छाड्ने गरेका हुन्। नेपाली दम्पती तीन काखे बच्चा लिएर दुई महिनाअघि ललितपुर आएको थियो।

उनीहरूको निवासमा दिउँसो २ बजे पुग्दा नीरबहादुरकी जेठी पत्नी कमला निर्जललाई काखमा लिएर खाना खाइरहेकी थिइन्। छेउमै थिए ३ वर्षे अर्का छोरा। बच्चाका हातखुट्टा फुटेर कालै देखिन्थ्यो। काखमा रहेका बच्चा बान्ता गरिरहेका थिए। कमला भन्दै थिइन्, ‘७–८ दिन भइसक्यो बान्ता गर्न रोकिएको छैन। उँधै उँभै भएर बच्चालाई बचाउनै मुस्किल भइसक्यो। कामको चापाचाप छ। बच्चा हेरेर कसले बस्नु ? दुःख नगरे खानै पुग्दैन।’ उनले केही बेरमा दुई बच्चालाई माटो बोक्ने ठेलामा हालिन् र आफू माटो ओसार्न लागिन्।

उनले भुइँमा छाड्दा माटो खाने, जताततै हिँड्ने भएकाले बच्चा हुर्काउन ठेला रोज्नुपरेको सुनाइन्। भनिन्, ‘काखमै लिएर हुर्काउन त मन छ नि ! तर, पापी पेट पाल्नै परो।’

नीरबहादुरले सालीसँग पनि बिहे गरेका रहेछन्। कान्छी पत्नीतर्फकी छोरी हुन् सुस्मिता। गाउँमा गरेर खान पुग्ने जग्गा छैन। नीरबहादुरले भट्टामै काम गर्दै जीविका चलाउँदै आएका छन्।

सन्तानेश्वर इँटा उद्योग वरपर देखिन्छन् टिनका छाप्रा। यी छाप्रा इँटा बनाउने मजदुरका अस्थायी वासस्थान रहेछन्। टहरा वरिपरि स–साना बच्चा खेलिरहेका थिए। हरेक छाप्रोभित्र काखे बच्चा बोकेका महिला घरधन्दामा अल्झिएका देखिन्थे। पुरुषहरू माटो ओसार्न खलातिर व्यस्त थिए। उनी बिहान झिसेमिसे हँुदासम्म एक लट इँटा बनाइसक्छन्।

गत वर्ष १ हजार इँटा बनाउँदा १ हजार २ सय ५० रुपैयाँसम्म पाउँथे उनीहरू। तर, यसपटक कोरोना महामारीले गर्दा काम गर्ने धेरै छन्। काम पाउनै गाह्रो रहेको कामदार बताउँछन् । ५० परिवारले सक्ने काममा ७० बन्दा बढी परिवार आएका छन्। त्यही भएर १ हजार इँटा बनाएको ज्याला १ हजार १ सय पाउँछन्। अधिकांशलाई फागुनमै भट्टा बन्द हुन्छ कि भन्ने चिन्ताले सताएको छ।

‘काखमै लिएर हुर्काउन त मन छ नि ! तर, पापी पेट पाल्नै परो।’

कमला नेपाली, बालककी आमा

रामेछाप पकरवासकी माया धोवी पनि इँटा बनाउन व्यस्त छिन्। सात महिनाकी काखे छोरी च्यापेर उनी मंसिरमा ललितपुर आएकी हुन्। पतिसँगै भट्टामा बस्ने माया बच्चाहरू रातमा निदाएका बेला काममा निस्कने गरेकी छन्। ठूलो छोरो ६ वर्षको भए पनि उनले स्कुल पठाउन पाएकी छैनन्। गाउँमा बुवाआमा नहुँदा बच्चा स्कुल जानै छाडे। बर्खामा फल्ने बाली भित्र्याएर हरेक वर्ष इँटा बनाउन आउने गरेको उनले सुनाइन्। दुई–चार महिना इँटा बनाएर कमाएको पैसाले बाँकी समयको खर्च पुर्‍याउनुपर्छ। दुई जनाले एक दिनमा ३ हजारसम्म इँटा बनाउँछन्।

इँटा लोड गर्न व्यस्त आमाबुबा र अन्य इँटाभट्टाका मजदुर।

ललितपुर चापागाउँकी मुना देसार पनि उही भट्टामा भेटिइन्। डेढ वर्षकी छोरी बोकेर इँटा बनाइरहेकी मुनालाई बोर्डिङमा छोरी पढाउन पैसा जम्मा गर्नु रहेछ। चिसोमा गाह्रो भए पनि कामअनुसार नगद पाइने हुँदा इँटा बनाउन रमाइलै लाग्ने उनले बताइन्।

उनका पतिले ११ वर्षदेखि इँटा बनाउँदै आएका छन्। बिहेपछि मुनाले पनि पतिको कामलाई सघाउने निधो गरिन्। भनिन्, ‘जे काम गर्न पनि दुःख नै छ। हामीले जानेकै यही काम त हो। छोरीलाई राम्रोसँग पढाउनुपर्ला।’

Published on: 31 January 2021 | Annapurna Post

Link

Back to list

;