s
Year of Publication: 30 April 2022 | Naya Patrika
Published by: CESLAM
अनौपचारिक क्षेत्रका श्रमिकहरूले समान कामका लागि समान ज्याला पाउनुपर्ने आवाज उठाएका छन् । अन्तर्राष्ट्रिय श्रम दिवसको पूर्वसन्ध्यामा होमनेट नेपालको अगुवाइमा नेपाल महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मञ्च, जिफन्ट, एनटियुसी र एक्सन एडद्वारा संयुक्त रूपमा आयोजित विचार गोष्ठीमा उनीहरूले समान काममा समान ज्यालाको आवाज उठाएका हुन्।
गोष्ठीमा सहभागी श्रमिक महिलाहरूले महिला र पुरुषको ज्याला बराबर हुनुपर्ने, कार्यस्थलमा सम्मानजनक व्यवहार हुनुपर्ने, घर र समाजदेखि कार्यालयमा हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्नेमा जोड दिएका थिए। शंकरापुरकी कृषि श्रमिक डोल्मो नेसुरले अब असमान ज्यालामा काम नगर्ने बाचा गर्दै अन्य श्रमिक महिलालाई पनि समान कामका लागि समान ज्याला दाबी गर्न आह्वान गरिन् । “समान ज्याला नपाए काममै नजाऔँ। बरु आफ्नै घरको काम गरौँ,” उनले भनिन्।
संविधान र कानुनले समान कामका लागि समान ज्याला र विभेदरहित रोजगार सुनिश्चित गरे पनि व्यवहारमा विभेद कायम रहेको उनीहरूले बताएका थिए। कृषि, निर्माणजस्ता क्षेत्रमा आफूहरूले पुरुषजत्तिकै कठिन तथा जोखिमपूर्ण काम गरे पनि समान ज्याला पाउन नसकेको गुनासो पोखेका थिए।
महिला श्रमीकका संघर्षका कथा सुनेपछि स्वास्थ्य मन्त्रालयकी लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखाकी प्रमुख रोशनीदेवी कार्कीले संविधान, कानुन र सरकारले ल्याएका विभिन्न कार्यक्रममा लैंगिक समानताका हक सुनिश्चित गरेको हुँदा ती अधिकार प्राप्तिका लागि सम्बन्धित व्यक्तिहरू आफैँ अघि बढ्नुपर्ने बताइन् ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकका लागि पनि स्वास्थ्य उपचारलगायतका सामाजिक सुरक्षा योजना लागू गर्न लागेको जानकारी दिए। आगामी आर्थिक वर्षदेखि तोकिएका अस्पतालमा अनौपचारिक श्रमिकहरूको पनि स्वास्थ्यउपचार गर्ने कार्यक्रम लागू गर्न लागिएको उनले जानकारी दिए।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा श्रमविज्ञ उमेश उपाध्यायले नेपालको श्रम क्षेत्रका लैंगिक असमानताको अवस्था र त्यसको निराकरणका लागि लिनुपर्ने पहलबारे प्रकाश पारेका थिए।
GET IN TOUCH