s

अनौपचारिक क्षेत्रका श्रमिक स्वरोजगार सामाजिक सुरक्षामा समेटिदै

Year of Publication: 14 July 2023 | Annapurna Post

Published by: CESLAM

काठमाडौं : सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका श्रमिक स्वरोजगार सामाजिक सुरक्षामा समेट्ने भएको छ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत संघ संस्था, कार्यालय बाहेकका व्यवसायी तथा श्रमिकलाई समेत समेट्ने भएको हो। यसका लागि फेदीखोला गाउँपालिकासँग सम्झैता गर्दै कार्यक्रम सुरुवात गरिएको छ।

सामाजिक सुरक्षा योजना सञ्चालनका लागि असार २७ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष केवल प्रसाद भण्डारीको उपस्थितिमा सामाजिक सुरक्षा कोष र फेदीखोला गाउँपालिका बीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यक्रम सहित सम्झौता सम्पन्न भएको कोषले जानकारी दिएको छ।

औपचारिक क्षेत्रका निजी संगठित संस्थामा कार्यरत श्रमिकहरूका लागि सामाजिक सुरक्षा योजना, वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरू कार्यान्वयनमा रहेको सन्दर्भमा कोषले आफ्नो कार्यक्षेत्र विस्तार गरेको बताएको छ।

सो गाउँपालीकासँगै अब बाँकी स्थानीय तह पनि यसमा आवद्ध हुन अनुरोध गरेको छ। २०७९ मंसिर २५ मा स्विकृत अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ बमोजिम अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूको तर्फबाट गाउँपालिकाले नेपाल सरकारले तोकेको मासिक न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत र सम्बन्धित श्रमिकको ११ प्रतिशत गरी कुल २०.३७ प्रतिशत रकम हाल १ हजार ९ सय १२ रुपैयाँ मासिक रुपमा कोषमा योगदान गरी कोषबाट सञ्चालित विभिन्न योजनाहरूमा सहभागी हुने गरी सम्झौता सम्पन्न भएको छ।

यसैगरी कार्यविधिमा स्वरोजगारमा रहेका व्यक्तिहरूले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३१ प्रतिशतदेखि सो को तीन गुणासम्म हाल न्यूनतम २ हजार ९ सय ९ रुपैयाँ ३५ पैसाका दरले अधिकतम यसको तीन गुणासम्म कोषमा योगदान गरी कार्यविधि बमोजिमको सुविधा उपभोग गर्न सक्ने छन्।

कार्यविधिले नियमित रुपमा योगदान गर्ने योगदानकर्ताहरूलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी विभिन्न योजनाहरू सञ्चालनमा ल्याएको छ।

अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धि कोष र पालिका बीचको सम्झौताले यो कार्यक्रम सबैका लागि हुनेगरी व्यापकता प्राप्त गर्ने कोषको अपेक्षा छ।

कार्यक्रममा फेदीखोला गाउँपालिकाले हाल निर्माण क्षेत्रमा कार्यरत ७ सय १४ जना श्रमिकहरूलाई कोषमा आबद्ध गर्ने र कोषले कार्यविधि बमोजिमका सुविधाहरू प्रदान गर्ने गरी अघि बढेकोमा पालिकाका अध्यक्ष घनश्याम सुवेदी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले खुशी व्यक्त गरे।

सो कार्यक्रममा मन्त्रालयका सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष केवल प्रसाद भण्डारीले कोषलाई सामाजिक सुरक्षा कार्यक्रमको विस्तार गरी आम नागरिकसम्म पुर्‍याउने गरी अगाडि बढ्न निर्देशन दिए। अनौपचारिक क्षेत्रको कार्यक्रमको विस्तारका लागि सबै ७ सय ५३ वटा पालिकाहरूलाई अनुरोध गरे।

Published on: 14 July 2023 | Annapurna Post

Link

Back to list

;