s
Year of Publication: 19 May 2012 | Kantipur
Publication Type: NEWS
Published by: CESLAM
विमल खतिवडा
दीपक भुसाललाई कहिल्यै पनि सरकारी जागिर खाने सोच पलाएन । गाउँबाट बर्सेनि सयौंको संख्यामा युवा रोजगारीका लागि बिदेसिने गरेका भए पनि उनलाई त्यो मोहले तान्न सकेन । उनका लागि सरकारी जागिर वा विदेश जे भने पनि करेसाको खेतबारी हो । एसएलसी उत्तीर्ण गरेका उनी अहिले काँक्रो, टमाटर र मूलाको बीउ उत्पादन गरेर मासिक ५० हजार रुपैयाँसम्म आम्दानी गर्छन् ।
बिहान उठेदेखि बेलुका साँझ नपर्दा उनी तरकारीको गोडमेल गर्नमै व्यस्त हुन्छन् । 'जन्मिएर यो उमेरसम्म आइपुग्दा गाउँ छाडेर अन्यत्र जानै मन लागेन,' उनले भने, 'त्यही भएर बुबाआमाले सुरु गरेको कृषि पेसा अँगालेर बसेको हुँ ।' उनले पाङराङ बीउ उत्पादनका लागि नेपालकै पकेट क्षेत्रका रूपमा परिचित भएकाले बीउ मुख्य रोजगारीको स्रोत बनेको बताए ।
चार महिनामा ३ लाख रुपैयाँसम्म आम्दानी गर्न सकेको भुसाल बताउँछन् । छोराछोरी खेतीकिसानीमा लाग्दा अभिभावक समेत खुसी छन् । अभिभावक समेत उच्च शिक्षाका लागि छोराछोरीलाई पढाउन बाहिर पठाए पनि पछि गाउँमै फर्काउने गरेका छन् । ५ र ६ वडामा व्यावसायिक रूपमा बीउ उत्पादन हुने गरेको भए पनि १ देखि ९ वडाकै युवाहरू तरकारी खेतीमा आबद्ध छन् ।
'जेठो छोराले काठमाडौं गएर बीबीएस पास गर्न साथ गाउँमा बोलाएँ,' स्थानीय विश्वनाथ उप्रेतीले भने, 'छोरो पनि खुसी भएर आयो ।' अहिले तरकारीको बीउ उत्पादनमा लागिपरेको छ ।' छोराले उच्च्ा शिक्षा अध्ययन गरेकाले यही पेसामा लगाउने उप्रेतीले बताए । गाउँका ४० जना युवा तरकारीको बीउ उत्पादनमा व्यस्त छन् । 'पढाएर छोराहरूलाई जागिर खुवाए पनि कति कमाउन सक्लान् र ?' उप्रेतीले भने, 'पढेर तरकारी खेती गर्नु हुँदैन भन्न्ो छैन, त्यही भएर जागिरबाट भन्दा तरकारीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले छोरालाई यो पेसामा लगाएको हुँ ।' उक्त गाविसमा २०५७ सालबाट काँक्रो, टमाटर र मूलाको व्यावसायिक रूपमा बीउ उत्पादन थालिएको हो ।
चैतदेखि साउनसम्म युवाहरू बीउ उत्पादन गरी बिक्री गर्न व्यस्त बन्ने गर्छन् । युवालाई बीउ उत्पादनमा अभिभावकले सहयोग गर्दै आएका छन् । पाङराङबाट अहिलेसम्म एक जना पनि युवा रोजागारीका लागि बिदेसिएको रेकर्ड गाउँलेसँग छैन । २५ देखि ३५ वर्ष उमेरका युवा सक्रिय भई कृषि पेसामा लागेका छन् । 'अन्य जिल्लाका युवा मदिरा, लागू औषध र तासजुवा खेलेको आरोपमा दैनिक जस्तो पक्राउ परेका समाचार सुनिन्छन्, 'स्थानीय मानबहादुर भुसालले भने, 'तर हाम्रा छोरानातिले यस्ता कुरा सेवन त परै जाओस् यस बारे सोच्ने फुर्सदसम्म पाउँदैनन् ।'
Published on: 19 May 2012 | Kantipur
GET IN TOUCH