s

विदेशिने भन्छन्–गाउँमै मजदुरी गर्न पाइयोस्

Year of Publication: 7 December 2017 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

खगेन्द्र अवस्थी
 
बैतडीको पुर्चौडी नगरपालिका ५ का शंकर धामी बुधबार बैतडीको जुलाघाट नाकाबाट भारत छिर्दै गरेका भेटिए । कात्तिकमा खेतीपाती सकेर कामको खोजीमा भारत जाने धामी यो वर्ष महिना दिन ढिलो गएका हुन् ।
 
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्न फर्केकाले भारत जान ढिला भएको बताउँछन् । ‘गहुँ छरेर कात्तिक अन्तिममा जाने समय हो, भोट दिएर जाने इच्छाले ढिलो भयो,’ उनले भने, ‘निर्वाचनको मुखमा मताधिकार प्रयोग नगरी जान मन लागेन, मन परेको उम्मेदवारलाई मत दिएँ ।’ स्थानीय तहको निर्वाचनका बेला भारतमै हुँदा भोट हाल्ने अवसर गुमेकाले योपटक भोट हाल्न पर्खिएको उनी बताउँछन् । पहिलो चरणको निर्वाचन सकिएपछि प्रतिनिधि र प्रदेशसभा उम्मेदवारलाई भोट दिन पर्खेकाहरू मत परिणाम नआउँदै भारततिर हिँडेका हुन् ।
 
बैतडी, बझाङ, बाजुरालगायत हुम्ला, मुगु, कालिकोटका सर्वसाधारण जुलाघाट नाकाबाट भारत पस्छन् । दोस्रो चरणको निर्वाचनका लागि तराईका सीमा बन्द भएपछि प्रदेश ६ का उच्च पहाडी जिल्लाबाट भारत जाने बैतडी हुँदै हिँडेका हुन् । यहाँका अधिकांश युवा र बयस्क निर्वाचनअगावै भारत पसेका थिए । पहिलो चरणको निर्वाचन सकिएपछि कामको खोजीमा भारत जानेको संख्या झनै बढेको छ । रोजगारीका लागि भारत गएका कारण मतदान कम भयो । निर्वाचन आयोगले बैतडीमा ९२ हजार मत खस्ने अनुमान गरे पनि ७६ हजार ३ सय ४३ मात्र खसेको छ । 
 
उनीहरूले आम्दानीको माध्यम नहुँदा भारत जान बाध्य भएको भन्दै स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गरेका छन् । आफ्नै ठाउँमा मजदुरी गर्न सहजै नपाइने बनाउँदै १६ वर्षदेखि भारतको उत्तराखण्ड क्षेत्रमा मजदुरी गर्दै आएका पुर्चौडीकै परमल बोहराले बताए । ‘यहाँ काम पाइँदैन, घर चलाउन भारत नगई हुँदैन,’ बोहराले भने, ‘हामीलाई मजदुरी गर्न दिए पनि हुन्थ्यो, भोट दिएका नेताले रोजगारी पाइने काम गरुन् ।’
 
स्थानीय तह निर्वाचनपछि गाउँमै सिंहदरबारको नारा सुनेका सर्वसाधारणले कुनै सुविधा पाएको अनुभूति नभएको भन्दै बिस्तारै नयाँ निर्वाचित हुने नेताले रोजगारी नपाएर विदेश जानुपर्ने बाध्यता हटाउने आशा गरेका छन् । 
 
‘पाखोबारीमा अन्न उत्पादन हुँदैन, मजदुरी नगरी चुलो बल्दैन ।’ बझाङको बित्थडचिर गाउँपालिका ६ का राईभान बोहराले भने, ‘गाउँको चुनावमा जितेकाले अहिलेसम्म केही गरेको देखिएन, आउँदो वर्ष फर्कँदा गाउँमै काम गर्ने अवस्था मिलोस् ।’
 
Published on: 7 December 2017 | Kantipur

Back to list

;