s
Year of Publication: 18 November 2022 | Annapurna Post
Published by: CESLAM
कृष्ण पोखरेल
तानसेन : बगनासकाली गाउँपालिका–७ स्थित कालीगण्डकी किनारमा दैलातुङ बस्ती छ। त्यहाँका बोटे समुदाय कालीगण्डकीमा डुंगा चलाउने, माछा मारेर गुजारा चलाउँथे।
अहिले उनीहरू यो परम्परागत पेसाबाट विस्थापित भएका छन्। आम्दानी स्रोत केही नभएपछि गाँस जुटाउनै समस्या भएको मीनाकुमारी बोटेले बताइन्। मुलुक आम निर्वाचनको संघारमा छ। तर, कुनै पनि दल र उम्मेदवारले किनाराका बोटे समुदायको पीडा देखेका छैनन्। ‘हामी त भोट हाल्ने मात्रै भयौं। पीडा कसैले बुझेन,’ उनले भनिन्।
गाउँमा अरू भरपर्दाे पेसा व्यवसाय छैन। कालीगण्डकीमा पुल निर्माण भएपछि उनीहरू परम्परागत पेसाबाट विस्थापित भएका हुन्। बस्तीको माथिल्लो भेगमा अन्य समुदायका बस्ती रहे पनि तल्लो भेगमा नदीको किनारामा बोटेको बस्ती छ। गाउँमा गुजारा नभएपछि युवाहरू गाउँ छोडी रोजगारीको लागि बाहिरिन बाध्य छन्। वृद्धवृद्धा, महिला गाउँले कुर्दै आएका छन्। ‘सधैंजसो निर्वाचन नेताहरूले सबै काम गरिदिने भन्छन्। चुनाव जितेपछि कोही पनि गाउँमा फर्केर आउँदैनन्। यहाँको अवस्था जस्ताको तस्तै छ,’ मीनाले भनिन्।
*आम्दानी स्रोत केही नभएपछि गाँस जुटाउनै समस्या
*चुनाव जितेपछि कोही पनि नेता गाउँमा फर्केर आउँदैनन्
प्रत्येक निर्वाचनमा नेताहरू भोट माग्न पुग्ने गरेका छन्। बोटे बस्तीमा रहँदासम्म सबै नेताले समुदायले राखेका माग मुखले पूरा गरिदिन्छन्। निर्वाचन सकिएपछि सबै कुरा बिर्सिन्छन्। पुनः पाँच वर्षपछि पुरानै कुरा लिएर नेता बस्तीमा पुग्ने गरेका छन्। ‘मजदुरी पाएको दिन चुलोमा आगो बल्छ नत्र भोकै सुत्नुपर्छ। अधिकांश बोटेको राम्रो घरबास छैन’, शान्तिकुमारी बोटेले भनिन्, ‘सानो छाप्रोलाई गाउँपालिकाले दिएको जस्तापाताले ढाकेका छौं। खेतीपातीको लागि जमिन नहुँदा काम पाए माम, नपाएर भोकैको अवस्थामा छौं।’
गाउँमा बोटे समुदायको परम्परागत पेसा व्यवसाय टिकाउन राणा सरकारदेखि पञ्चायतसम्म डुंगा दिने चलन रहेछ, त्यही डुंगाबाट जीविकोपार्जन हुँदै आएको थियो। पञ्चायतपछि बोटे समुदायले राम्रा मीठा कुरा पाए तर राम्रो जीवन पाएनन्। ‘भएको डुंगा खिएर सकियो, कसैले हामीलाई डुंगा दिएनन्, नयाँ डुंगा बनाउँदा, ऋण लागेर धेरैले खेतबारी बेच्यौं। हामी बोटेहरूको वनीबास भयो हजुर’, गजवीर बोटेले भने, ‘गरिबीले गर्दा अहिले बोटेहरूको गन्ती नै हुन छाडिसक्यो।’
बोटे समुदायको गाउँमा अधिकांशको आफ्नै जमिन छैन। भएकाको तीन महिना पनि खान पुग्दैन। दुःख बिमार हुँदा दुई, चार पैसा जुटाउने अवस्था छैन। पाल्पामा रामपुर, माथागढी, रैनादेवी छहरा र रिब्दीकोटमा अल्पसंख्यक बोटे र कुमाल समुदायको बसोबास छ। यी क्षेत्रहरू सधैं भोट बैंकका रूपमा प्रयोग हुँदै आएका छन्।
Published on: 18 November 2022 | Annapurna Post
GET IN TOUCH