s

चिया मजदुरले मागे न्यूनतम पारिश्रमिक

Year of Publication: 5 September 2018 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

चिया मजदुरले बगान र कारखानामा श्रम ऐन कार्यान्वयन गर्न र सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक लागू गर्न माग गरेका छन् । उनीहरूले यसका लागि सोमबार प्रदर्शनसमेत गरेका छन् ।

हिलेको कुवापानीमा भेला भएका मजदुरले प्रदर्शन गर्दै त्यहाँ रहेका तीनवटा चिया कारखानामा माग लेखिएका तुल र कालो झन्डा राखे । नेपाल चिया बगान श्रमिक संघ, कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघको अगुवाइमा प्रदर्शन गरिएको हो ।

गुराँसे टिस्टेट, जुन चियाबारी तथा नारायणी चिया कारखानाको मूलगेटमा प्रदर्शन गरिएको थियो । मजदुरहरूले श्रम ऐन २०७४ कार्यान्वयनमा आउन नसकेको भन्दै प्रदर्शनमा उत्रन बाध्य भएको जनाए ।

चिया बगान र अन्य मजदुरबीचको विभेद अन्त्य गरेको श्रम ऐन कार्यान्वयन नगरिएसम्म आन्दोलनका कार्यक्रम अघि सारिने चिया मजदुर संघका अध्यक्ष नारायण तामाङले बताए ।

सरकारले साउन १ देखि लागू हुने गरी चिया मजदुरको साविकको दैनिक पारिश्रमिक २ सय ७८ बाट बढाएर ३ सय ८५ कायम गरे पनि त्यसको कार्यान्वयन नगरिएको उनले जनाए ।‘एकातिर श्रम ऐन कार्यान्वयन नगरी श्रमिकमाथि अन्याय गरिएको छ,’ उनले भने, ‘अर्कोतिर सरकारले निर्धारण गरेको पारिश्रमिकसमेत नदिइनुले चरम उपेक्षा गरिएकाले आन्दोलनमा उत्रन बाध्य छौं ।’

चिया मजदुरले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयनका लागि अघिल्लो साता श्रम कार्यालय तथा धनकुटा, इलाम र झापाका जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराए पनि उचित चासो नदिएको श्रमिक नेताहरूले बताए । आन्दोलनमा नाबालक बच्चा पिठयुँमा राखेरसमेत मजदुर थिए ।

ऐन कानुन व्यावहारिक रूपमा कार्यान्वयन गर्न चिया मालिकहरूले कन्जुस्याइँ गरेको नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले बताए । जिल्लामा विभिन्न चिया कारखानामा ५ सयभन्दा बढी चिया मजदुर छन् ।

Published On: 5 September 2018 | Kantipur

Back to list

;