s

घर बनाउने कामदार पाउनै मुस्किल

Year of Publication: 14 February 2018 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

बलराम घिमिरे, अनिश तिवारी

शक्तिशाली भूकम्प गएको ३२ महिना सकिँदा रसुवामा २ हजार ६८ घर निर्माण भएका छन् । जिल्लामा कुल लाभग्राही ११ हजार ७ सय ३६ जना छन् । तीमध्ये ५ हजार ५ सय ५० जनाले दोस्रो किस्ताका लागि प्रक्रिया पूरा गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई रसुवाका आयोजना प्रमुख धीर फडेराले बताए ।

‘दोस्रो किस्ता पाउने लाभग्राहीको संख्यालाई आधार मान्दा आवास निर्माणमा करिब ५३ प्रतिशत प्रगति देखिन्छ,’ उनले भने ।अनुदान सम्झौता गरेका १० हजार ८ सय ९१ मध्ये १० हजार ४ सय जनाले पहिलो किस्ताबापत ५० हजार रुपैयाँ बुझेका छन् । ८ सय ४५ लाभग्राहीसँग अझै अनुदान सम्झौता हुन सकेको छैन । पुनर्निर्माणले गति लिन नसक्दा पीडितले यो जाडो पनि अस्थायी टहरामै कटाए । भूकम्पले विस्थापित भएका, लालपुर्जा नभएका, विदेशमा रहेकाहरूसँग अझै सम्झौता हुन बाँकी रहेको पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालय रसुवाका प्रमुख कृष्णकान्त उपाध्यायले बताए । चिसो मौसम, चाडपर्व, विभिन्न चरणमा भएको चुनाव, कामदार र निर्माण सामग्री अभाव लगायतका कारण निजी आवास निर्माण हुन नसकेको पीडितको भनाइ छ । स्थानीय स्रोतहरू ढुंगा, माटो र काठ प्रयोग गरेरै भूकम्प प्रतिरोधी घर निर्माण गर्न सकिन्छ भन्ने सूचना ग्रामीण भेगमा पर्याप्त पुगेको छैन ।
 
‘सरकारले खालि म्याद थपिएको र सकिएको, किस्ता छिटो लिनुपर्नेजस्ता सूचना मात्र बाँड्यो,’ गोसाइँकुण्ड गाउँपालिका–५ धुन्चेका तेम्पा थोक्राले भने, ‘स्थानीय स्रोत प्रयोग गरेर भूकम्प प्रतिरोधी घर निर्माण गर्न सकिन्छ भन्ने जानकारी दिन सकेन ।’ पीडितका अनुसार निर्माण सामग्री निकै महँगो छ । रड, सिमेन्ट र बालुवा गाउँसम्म ढुवानी गर्न समस्या छ ।
 
भूकम्पले थातथलोमा पहिरो गएपछि विस्थापित भएकाहरू उत्तरगया गाउँपालिकाको खाल्टे र बोगटीटार बस्दै आएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त बस्तीमा परेका ७ सय २९ परिवारको नाम लाभग्राही सूचीमा प्रकाशन गरेको छ । त्यसमध्ये ९९ परिवारलाई प्राधिकरणले पटकपटक गरि घडेरीयोग्य जग्गा खरिद गर्न २ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
घर निर्माण सुरु गरिए पनि दक्ष कामदारको अभावमा काम पूरा गर्न नसकिएको गोसाइँकुण्ड गााउँपालिका–५ भार्कुका फुर्पा तामाङले बताए । ‘तालिम लिएकाहरूले घर निर्माण गर्दैनन्,’ उनले भने, ‘गाउँमा कामदार पाउनै मुस्किल छ ।’ स्थानीयका अनुसार सरकारले ल्याएको घरको डिजाइन व्यावहारिक छैन । आफूहरूको घर तामाङ कला संस्कृतिअनुसारकै डिजाइनमा बन्नुपर्ने उनीहरूको भनाइ छ । जिल्लामा २ हजार ३ सय ३८ जनाले डकर्मी तालिम लिएको प्राधिकरणले जनाएको छ । तर, जिल्लाको दक्षिणी भेगमा पनि कामदारको अभाव उस्तै छ । तालिम लिएकाहरू नआएपछि कतिपयले बाँके, बर्दियादेखि कामदार ल्याएर घर बनाउँदै छन् । यहाँ खटिएकामध्ये ४ हजारभन्दा बढी कामदार बाहिरी जिल्लाका छन् । जिल्लामा ४ वटा संघसंस्थाले १ हजार ५९ घर निर्माण गर्ने जिम्मा पाएका थिए । तीमध्ये ५ सय २९ वटा बनिसकेका छन् । अहिलेसम्म ६ सय १ जनाले तेस्रो किस्ता रकम लिएका छन् दोस्रो किस्ता पाउने ८ सय ७२ जना छन् ।
 
नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाले साबिकको ठुलोगााउँ गाविसमा ४ सय ५५ घर निर्माण गर्ने जिम्मा पाएको छ । त्यहाँ तेस्रो किस्ता पाउने १ सय ४३ र दोस्रो किस्ता पाउने ३ सय १३ जना रहेको रेडक्रस रसुवाका सभापति बाबुलाल तामाङले बताए । ‘बाँकी रहेका घर पनि समयमै बनाइसक्ने लक्ष्य छ,’ उनले भने ।
छैनन् पर्याप्त प्राविधिक
 
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका कुबिन्डेकी कर्णमाया तामाङले प्राविधिकले निरीक्षण नगरेकै कारण आवास निर्माण सम्पन्न गर्न सकेकी छैनन् । प्राविधिकलाई बोलाउँदा नआएपछि उनले डीपीसीबाट थप संरचना थप्न नसकेकी हुन् । ‘धेरै फोन गर्दा पनि उहाँहरू आउनुभएन, झुलाएर राख्नुहुन्छ,’ तामाङले गुनासो पोखिन्, ‘आफ्नै सुरले गर्दा मापदण्डअनुसार नहोला र किस्ता रकम नपाइएला भन्ने डर ।’ बजार नजिकै भए पनि प्राविधिक नगएका कारणले आफ्नो आवास निर्माण कार्य बीचैमा रोकिएको उनले सुनाइन् ।
 
प्राविधिक र इन्जिनियर नआएकै कारण आवास संरचना पूरा गर्न नसकेको अर्का स्थानीय चलमान श्रेष्ठले दुखेसोगरे । ‘इन्जिनियरले चासो दिँदैनन्,’ उनले भने, ‘पहिलो किस्तामा ऋण लिएँ, बल्लतल्ल घर बनाउन थालेको दुई महिना बितिसक्यो, अझै सकिएन ।’ उनले प्राविधिकनआएका कारण डीपीसी उठाउनेबाहेकको काम अघि बढाउन नसकेको बताए ।
 
दुई लाख ऋण लिएर आवास निर्माण थालेका जुगल गाउँपालिका हगामका बलबहादुर श्रेष्ठ पनि इन्जिनियर र प्राविधिकको अटेरीले काम रोकिएको भन्दै अन्योलमा छन् । ‘सरकारले उनीहरूलाई कसका लागि खटाएको हो थाहा भएन, बारम्बार बोलाउँदा समेत बेवास्ता गरेर बस्छन्,’ इन्जिनियर खोज्दै बलेफी गाउँपालिकाको जलवीरे बजारमा भेटिएकाउनले भने, ‘कार्यालयमा कहिल्यै भेट हुँदैन, फोन सम्पर्क गर्दा पनि उठाउँदैनन् ।’
 
इन्जिनियर नहुँदा सास्ती पाएका यस्ता भूकम्पपीडित नगरदेखि गाउँपिच्छे भेटिन्छन् । जिल्लामा २ सय ६८ इन्जिनियर खटाइएकोमा अहिले २ सय ५४ जना मात्रै कार्यरत छन् । एकैसाथ धेरै स्थानमा पुनर्निर्माण भइरहेकाले यस्तो समस्या आएको सहरी विकास तथा भवन डिभिजन कार्यालयले जनाएको छ ।
 
‘एकैपटक धेरै घर निर्माण भइरहेकाले यो समस्या भएको हो,’ डिभिजन कार्यालयका सुचना अधिकारी टंक गौतमले भने, ‘पर्याप्त नभए पनि सबै प्राविधिक कार्यक्षेत्रमा व्यस्त छन् ।’ पुनर्निर्माण प्राधिकरण समन्वय समिति सचिवालयका अनुसार हालसम्म अनुदान सम्झौता गरेका ७५ हजार ७ सय ६५ मा ५३ हजार ९ सय १ भूकम्पपीडितले मात्रै आवास निर्माण सुरु गरिरहेका छन् । पुनर्निर्माण प्राधिकरण समन्वय समिति सचिवालयका प्रमुख रुद्र मल्लका अनुसार ८३ हजार ६ सय ६३ जना लाभग्राही छन् । ती मध्ये ११ हजार ६३ ले आवास निर्माण सम्पन्न गरेका छन् ।
 
Published on: 14 February 2018 | Kantipur

Back to list

;