s

हरुवा/चरुवा : ज्याला १९ रुपैयाँ

Year of Publication: 14 March 2019 । Nagarik

Publication Type: NEWS

Published by: CESLAM

  रघुनाथ लामिछाने

धेरै जमिन थुपार्नुपर्ने। त्यसमा खेती पनि गर्नुपर्ने। अनि बेच्नु पनि पर्ने। तर खेती गर्ने हैसियत भने नहुने। त्यसैले आफ्नो खेती सुनिश्चित गर्नका लागि कसैलाई ‘स्थायी खेतालो’ राख्नुप-यो। खासगरी तराई क्षेत्रमा यसरी खेतीपाती सुनिश्चित गर्न राखिएका व्यक्ति नै हरुवा हुन्। जसरी पश्चिम तराईमा ‘कमैया’ राखिन्थ्यो। कुनै गरिब परिवारको मूलीलाई यसरी हरुवा राखेपछि उसकी श्रीमती लोग्नेको पछि लाग्ने नै भइहाली। जसले खानाकै भरमा लोग्ने हरुवा बसेकै घरमा ‘सघाइदिने’ (गोबर सोहोर्ने, घाँस÷दाउरा गरिदिने, टिपनटापन आदि) गर्छन्। अनि उनीहरूका छोराछोरी भने सोही जमिनदारको घरमा गाईवस्तु, बाख्रा आदि चराउन ‘नियुक्त’ हुने गर्छन्। यिनको ‘पद’ भने चरुवा राखिँदै आएको छ। जमानादेखि नै। धेरै नीति निर्माता, विद्वान् तथा आफूलाई लेखक/अनुसन्धानकर्ता बताउनेहरू हरुवा/चरुवा ‘डेट एक्सपायर’ अर्थात वाहियात विषय भएको दाबी गर्छन्। तर तराईका देहाती गाउँहरूमात्र हैन, तुलनात्मक विकसित अर्थात सहरहरूमा समेत अहिले पनि भेटिन्छन् हरुवा/चरुवा। त्यो पनि छ्याप्छ्याप्ती।  गरिबी नै मुख्य योग्यता भएका कारण हरुवा/चरुवा सोहै्रै आना गरिबीसँग सम्बन्धित विषय हो।

रूप बँधुवाकै

धनुषाको शहीदनगर नपा–५ का श्रीप्रसाद सदा स्थानीय राजाराम कापरका हरुवा हुन्। हरुवाको कोखबाट जन्मेका श्रीप्रसाद अरुकै घरमा जन्मे र आजपर्यन्त हरुवा नै छन्। उनले छोरीको बिहेका लागि राजारामसँग डेढ लाख रुपियाँ ऋण लिएका थिए। ३० वर्ष पुगेको छोरोसमेत उसैकहाँ हरुवा काम गर्ने भएकाले यी बाउ÷छोरा कतै पनि कमाउन जान पाउँदैनन्। त्यसैले उनीहरूले यो जुनीमा कमाएर त्यो डेढ लाख चुक्ता गर्ने कुनै सम्भावनै छैन। त्यसैले श्रीप्रसादले छोरालाई ऋण थपेर भए पनि वैदेशिक रोजगारीमा पठाउन खोजेका थिए। तर राजारामले उक्त पैसा चुक्ता नगरी ढिम्किनै नदिने अडान लिइरहेका छन्। पैसा तिरेर जाउँ, तिर्नै पनि कसरी कमाउने ? कमाएर तिरौँ न त भन्दा छाड्दै नछाड्ने। यतिबेला निकै चिन्तामा छन् श्रीप्रसाद। हो, श्रीप्रसाद जस्ता धेरै हरुवा यतिबेला यस्तै ऋणको बन्धनमा छन्। न उनीहरू तिर्न सक्छन् न त फुत्कनै। जसले उनीहरूले यतिबेला भोगिरहेका हरुवा जिन्दगीलाई बँधुवामा रूपान्तरण गरेको छ। अर्थात ऋणले नमजाले बाँधेको छ उनीहरूलाई। जसरी बाजे, बाबुलाई बाँधेको थियो। त्यतिमात्र हैन, अहिले उनीहरूका ‘छोरो पुस्ता’ समेत यही बाँधा जिन्दगी बिताउन बाध्य भइरहेका छन्।

ज्यालामा चरम शोषण

पछिल्लो समय हरुवा/चरुवा बस्ने शैलीमा केही परिवर्तन आएको छ। अर्थात पहिले हरुवा/चरुवा पूरै समय गिरहत (जमिनदार) कै घरमा बस्थे वा उसैले ‘दया÷माया’ ले दिएको एकाध धुर जमिनमा छाप्रो बनाएर बस्थे। यसरी बस्न दिनुको कारण बाहिर दया देखिए पनि भित्र भने गिरहतको स्वार्थ थियो। घरमै वा घरनजिकै बस्ने भएपछि बिहान÷बेलुकाको घरको काम पनि लगाउन पाइने स्वार्थ यसमा हावी थियो। तर पछिल्लोपटक धेरै हरुवा÷चरुवा घरमै बस्छन्। कानुनले बाँधा श्रमलाई गैरकानुनी घोषणा गरेकाले होस् वा घरमा नराखीकनै ऊबाट गच्छेअनुसारको श्रम लिन पाउने भएकाले होस्, मालिकहरूले हरुवा/चरुवालाई घरमै बस्न पाउने व्यवस्था मिलाइदिएका छन्।

जसलाई उनीहरू आफ्नो ‘उदारता’ का रूपमा अथ्र्याउँछन्। अनि आफूलाई समाजशास्त्रको ज्ञाता ठान्नेहरू जमिनदारको यही उदारताको प्रशंसा गर्दै अहिले मुलुकमा हरुवा/चरुवा नरहेको दाबी गर्छन्। र, उनीहरूलाई कृषि श्रमिकको कित्तामा परिभाषित गर्न अग्रसर छन्। त्यो पनि जबर्जस्ती। के गरिबको कोखमा जन्मनु नै अपराध हो ? जबसम्म यो प्रश्नलाई केन्द्रमा राखेर बहस थालिन्न, तबसम्म हरुवा/चरुवाको ऊर्वर भूमि बनि नै रहनेछ, खासगरी तराई। सिरहास्थित सखुवा नन्कारकट्टी गापा–४, सखुवा टोलकी अरुलियादेवी सदाय स्थानीय उमा यादवको घरमा काम गर्छिन्। गोबर सोहोर्ने, गुइँठा, दाउरा बनाउनेदेखि सबै काम गर्नुपर्छ उक्त घरमा। यसरी काम गरेबापत ६ महिनामा यिनले पाउने भनेको ५० किलोग्राम धान र २४ सय रुपियाँ हो। २० रुपियाँ प्रतिकिलोग्रामका हिसावले उनले पाउने धानको मूल्य १ हजार रुपियाँ हो। यसरी हेर्दा उनले प्रतिदिन पाउने ज्याला भनेको करिब १९ रुपियाँ पर्न आउँछ। के अहिले पनि मानिसलाई प्रतिदिन १९ रुपियाँमा काम लगाउन पाइन्छ ? कृषि श्रमिक भनेको यिनै हुन् ? हुन त शोषण भनेकै बाध्यतामा हुने हो। यही बाध्यता भजाएर खान पल्केकाले हरुवा÷चरुवा छैनन् भनेकै भरमा हामी पनि किन ‘होमा हो’ मिलाउँदै यिनीहरूलाई जबर्जस्ती कृषि मजदूरमा रूपान्तरण गर्न मरिहत्ते हालिरहेका छौँ ? के त्यस्तो बाध्यता छ हामीमा कि जबर्जस्ती एउटा गरिब समुदायलाई खुइल्याउन लागिपरेका छौँ ? के फाइदा हुन्छ हामीलाई यसो गर्दा ?सरकारले मजदूरको न्यूनतम पारिश्रमिक प्रतिमहिना १३ हजार ४ सय ५० रुपियाँ तोकेको छ।

यसरी हेर्दा एकजना मजदूरले प्रतिदिन कम्तीमा पनि ४४८ रुपियाँ ज्याला पाउनुपर्छ। तर हामी किन सरकारले तोकेको न्यूनतम ज्याला पनि नदिएर गैरकानुनी काम गरेबापतदोषीलाई कारबाहीको माग गर्दैनौँ ? रहस्य यहाँ पनि छ। अरुलियादेवीमात्र हैन, प्रायः सबै हरुवा÷चरुवाले पाउने भनेको दैनिक ज्याला करिब करिब यत्ति नै हो। तर विडम्बना, उनीहरूले आफूले पाउने ज्यालालाई कहिल्यै पनि दैनिकरूपमा हिसाब गरेकै हुन्नन्। हिसाब गरेकै भए पनि न उनीहरू आफ्नो ज्याला बढाउन ‘बार्गेनिङ’ गर्ने हैसियत राख्छन् न त बढाएन भने पनि छाडेर जाने हिम्मत नै उनीहरूसँग छ। वास्तवमा गरिबीले उनीहरूलाई यति आक्रान्त पारेको छ कि उनीहरू उचित ज्याला, उचित खानपान हैन, ‘काम गर्न दिनु’ लाई नै गिरहतको महानता ठान्छन् र जिन्दगीभर त्यसैमा अनुग्रहित भइरहन्छन्।

गर्न के सकिन्छ ?

पछिल्लो समय धेरै हरुवा/चरुवालाई आफ्नै घर (प्रायः सबैको झुपडी) मा बस्ने ‘सुविधा’ दिएका छन् मालिकहरूले। त्यसैले उल्यालो भएदेखि रात नपरुन्जेल उसैकहाँ घोटिए पनि मुन्टो लुकाउन भने घर नामक झुपडी आइपुग्छन् अचेल धेरै हरुवा÷चरुवा। जसलाई उनीहरूले ठूलै क्रान्तिकारी कदम पनि ठानेका छन्। तर कृष्णदेव सदाको घरमा हरुवा बसेका सिरहास्थित सखुवा नन्कारकट्टी गापा–४ को सखुवा टोल बस्ने गुलेती सदा भने त्यस्ता अभागी हुन् जो साहूले ‘घरमै बस्न जा’ भन्दा पनि जाँदैनन्। कारण– उनको घरमा दुईजना छुट्टाछुट्टै सुत्न पुग्ने ठाउँसमेत छैन। त्यसैले १३ वर्षीया छोरीसँग सुत्न अप्ठेरो हुने भएकै कारण उनी साहूले घरजाने सुविधा दिँदादिँदै पनि उसकै घरमा सुत्न बाध्य छन्। गुलेती त एक उदाहरणमात्र हुन्, सखुवा टोलका सबै सदाको अवस्था यस्तै हृदयविदारक छ। र, अन्यत्रका सदा परिवारको पनि। जसले सदा समुदायको चरम गरिबी प्रष्ट्याउँछ। अनि हरुवा÷चरुवा बस्नैपर्नाको एउटा कारण पुष्टि गर्छ। धनुषाको जदुकुवास्थित ननुपट्टीका राजदेव विन गाउँकै पवन मण्डलका हरुवा हुन्। १० धुर (१ धुर बराबर २.१२९६ पैसा) गुठीको जमिन थियो। तर ३ छोरा छुट्टी भिन्न भए। अहिले सोही जग्गामा ३ छोरासहित आफ्ना लागि ४ झुपडी बनाएका छन्। सोचौँ त, १० धुरमा ४ झुपडी ? कल्पनै पनि अत्यासलाग्दो छ। तर कसैले नपत्याए पनि उनको वास्तविकता भने यही हो। दलित, त्यसमा पनि सबैभन्दा तल्लो दर्जाको मानिने मुसहर समुदाय। हरुवा÷चरुवा पनि प्रायः यही समुदायबाट छ। जो पूर्णतः भूमिहीन छन्। यसरी हेर्दा देखिन्छ कि जो गरिब छ उही हरुवा÷चरुवा बस्नका लागि योग्य मानिन्छ। त्यसैले हरुवा÷चरुवा सोहै्रै आना गरिबीसँग सम्बन्धित विषय हो। जसको एउटै अपराध गरिबको कोखमा जन्म लिनुबाहेक केही देखिन्न। के गरिबको कोखमा जन्मनु नै ठूलो अपराध हो ? जबसम्म यो प्रश्नलाई केन्द्रमा राखेर बहस थालिन्न, तबसम्म हरुवा/चरुवाको ऊर्वर भूमि बनि नै रहनेछ, खासगरी तराई।

अन्त्यमा,

बच्चा कुर्मी, जो बच्चैदेखि नेपाली कङ्ग्रेसका नेता प्रदीप गिरीको घरमा हरुवा बसे। थुप्रै खेती धानिदिए। गाईवस्तु चराइदिए। एउटा पाडो देखाएर ‘यो तेरो हो, तँलाई नै दिन्छौँ’ भन्थे। तर दूध त आफैँ खाए, खाए, पछि बेचेर पैसा पनि आफैँ लिए। पछि ७ कठ्ठाको एउटा जग्गा देखाएर ‘योचाहिँ तँलाई दिने हो’ भनेर फकाइरहे। अहिले त्यो पनि बेचेर हिँडे प्रदीपका भाइहरू मिलेर। नाम बच्चा भए पनि यतिबेला उनी ८० वर्षका भए। तर पनि प्रदीपका लहान नपा–१४ स्थित बस्तीपुरका थोत्रा ४ घर बढारकुँडार गर्छन् तर आफू भने पूरै घाम÷पानी छिर्ने ‘पारदर्शी’ घरमा बस्छन्। किनकि आफैँले सफासुग्घर गर्ने घरमा पनि भित्र बस्न भने ‘मनाही’ छ उनलाई। किनकि उनी हरुवा हुन्। बेलाबेलामा उनको परिवारका सदस्यले निगाह गरेर दिएका १÷२ सय बक्सिसबाहेक आजसम्म ज्यालाको ‘ज’ समेत नसुनेका बच्चा नेता भएकै कारण अझै पनि प्रदीपले चाहिँ ‘केही गर्दिहाल्छन् कि’ भन्ने आशमा छन्। त्यसैले त उनको ‘अस्थिपञ्जरयुक्त’ घर पनि रुँगेरै बसेका छन्। 

Published on: 14 March 2019 । Nagarik

Back to list

;