s

इँट्टा उद्योगका कामदारलाई बिमा र निःशुल्क उपचार

Year of Publication: 8 April 2021 | Nagarik

Published by: CESLAM

सरिता श्रेष्ठ 

धादिङको थाक्रे गाउँपालिका वडा नं ७ मा रहेको एभरेस्ट इँट्टा उद्योगमा कार्यरत रोल्पाका २४ वर्षीय गणेश घर्तीको मेसिनमा च्यापिएर गत फागुनमा मृत्यु भयो। उद्योगले गरिदिएको दुर्घटना बिमाले घर्तीको परिवारलाई केही राहत मिल्यो। बिमा बापतको सात लाख र आतेजाते रकम उनको परिवारले पाए। आर्थिक अवस्था कमजोर र ज्याला, मजदुरी गरेर जीविका चलाउने घर्ती परिवारको सन्तान गुमाउँदाको पीडामा दुर्घटना बिमा बापतको रकमले मलम लगायो।

इँट्टा उद्योगमा काम गर्ने हरेक मजदुरको सामूहिक बिमा र स्वास्थ्य उपचारको सम्पूर्ण खर्च उद्योगले नै बहोर्ने गरेको एभरेस्ट इँट्टा उद्योगका सञ्चालक पुष्पराज रेग्मीले बताए। ‘हाम्रो उद्योगमा मेसिनबाट इँट्टा बनाइन्छ, जसले गर्दा छिटो र सरल काम हुने र धेरै कामदार पनि लाग्दैन,’ सञ्चालक रेग्मीले भने, ‘करिब डेढ सय मजदुर छन्, सबैको दुर्घटना बिमा गरिदिएको छौं भने उद्योगमा नै प्राथमिक उपचार हुन्छ, पढाईका लागि बालबालिकालाई सिकाइ केन्द्र पनि छ।’ उद्योग र कामदारबीच भएको सम्झौता अनुसार नै तलब दिने गरिएको सञ्चालक रेग्मीले बताए।  

जिल्लामा ३० भन्दा बढी इँट्टा उद्योग सञ्चालनमा छन्। तीमध्ये चारवटा मात्रै बालश्रममुक्त छन् र तिनले कामदारको बिमा गरिदिएका छन्। धुनीबेसी नगरपालिका वडा नं ६ मा रहेको जालपादेवी इट्टा उद्योग, थाक्रे गाउँपालिका वडा नं ७ मा रहेको एभरेष्ट इट्टा उद्योग, थाक्रे गाउँपालिका वडा नं ८ मा रहेको यति इट्टा उद्योग र गजुरी गाउँपलिका वडा नं ५ मा रहेको राजधानी इट्टा उद्योगमा बालश्रम मुक्त छ। उद्योग परिसरमा बालबालिकाका लागि सिकाई केन्द्र स्थापना गरिएको छ, प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ। गम्भीर प्रकृतिको स्वास्थ्य समस्या देखिएमा पनि उद्योगले नै खर्च व्यहोर्ने गरेको छ। 

धुनीबेसी नगरपालिका वडा नं ६ मा रहेको जालपादेवी इँट्टा उद्योगले पनि कामदारको बिमा गरिदिएको छ। उद्योगमा कार्यरत नेपाली तथा भारतीय कामदारको बिमा गरिदिएको सञ्चालक सञ्जय न्यौपानेले बताए। ‘उद्योगमा काम गर्ने दुई सयभन्दा २० भन्दा बढी कामदार सबैको कामको सम्झौता गरिएको छ, सम्झौता अनुसार नै पारिश्रमिक दिने गरेका छौं,’ सञ्चालक न्यौपानेले भने, ‘औषधी उपचार निःशुल्क छ भने गुनासो सुन्नका लागि गुनासो पेटिका र गुनासो सुन्ने व्यक्ति पनि राखेका छौं।’ उद्योगमा धादिङबाहेक अन्य जिल्लाका नेपालीसँगै भारतीय कामदार पनि छन्। 

भूकम्पपछि जिल्लाको धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिका क्षेत्रमा इँट्टा उद्योग बढे। मजदुरीका लागि टाढा टाढाबाट आएका मजदुरले उचित पारिश्रमिक नपाउने, दुर्घटना भइहाल्यो भने क्षतिपूर्ति नपाउने, बालबालिकाको प्रयोग गर्ने लगायत समस्या छन्। पढ्न छाडेर आमाबुबासँगै उद्योगमा आएका बालबालिका समेत उद्योगमा काम गरिरहेको भेट्न सकिन्छ। बालश्रम शोषण गर्न नपाइने कानुन भए पनि श्रम शोषण भइरहेको छ। यस्ता समस्यालाई मध्यनजर गर्दै ग्लोबल फेयरनेस इनिसिएटिभको आर्थिक तथा प्राविधिक सहयोगमा प्रयास नेपाल धादिङले बेटर ब्रिक नेपाल परियोजना सञ्चालन गरेको छ। 

परियोजना सञ्चालन भएका उद्योगमा बालश्रममुक्त भएको र कामदारको बिमा, निःशुल्क स्वास्थ्य उपचार पनि भएको बेटर ब्रिक नेपाल परियोजनाका फिल्ड संयोजक सुनिता कँडेलले बताइन्। ‘बाल तथा बाध्यकारी श्रमको अन्त्य गर्ने उद्देश्यले जिल्लाको चारवटा इँट्टा उद्योगमा बेटर ब्रिक नेपाल परियोजना सञ्चालन गरिएको छ,’ कँडेलले भनिन्, ‘उद्योगमा बालबालिका प्रयोग हुन थालेपछि त्यस क्षेत्रमा अस्थायी सिकाइ केन्द्र सञ्चालन, खाजा, मनोरञ्जनको व्यवस्था समेत गरिएको छ।’ 

परियोजनाले उद्योग सञ्चालनको लागि इँट्टा उद्योग महासंघले जारी गरेको मापदण्डहरू कार्यान्वयनमा पहल गरेको छ। बालश्रम मान्य छैन, बाध्यकारी वा इच्छा विपरीत श्रम मान्य छैन, ज्याला तथा कार्यघन्टा, कार्यस्थल सुरक्षा स्वास्थ्य र अमानवीय व्यवहार मान्य छैन जस्ता मापदण्ड निर्धारण गरेको छ। नेपालको श्रमशक्ति सर्वेक्षण २०१८ अनुसार नेपालका इँट्टा उद्योगमा दुई लाखभन्दा बढी श्रमिकले रोजगारी पाएको, उद्योगमा ६० हजार बालश्रमिक रहेको र त्यसमा ६० प्रतिशत महिला बालश्रमिक प्रयोग भएको कँडेलको भनाइ छ।

उद्योगमा कार्यरत कामदारका पाँच वर्षमुनिका बालबालिका निम्ति उद्योगभित्रै प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्र सञ्चालन गरिएको छ। पाँच वर्षमाथिका बालबालिकालाई नजिकैको विद्यालयमा पढाउने व्यवस्था, बालश्रम उन्मूलन, कामदारको स्वास्थ्य सुरक्षा, कामदारलाई अभिमुखीकरण कार्यक्रम र विद्यालय निरन्तरताको लागि बालबालिकालाई शैक्षिक सामग्री सहयोग तथा उद्योगी र श्रमिकबीच श्रम सम्झौता गर्न सहयोग गर्दै आएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए।

Published on: 8 April 2021 | Nagarik

Link

Back to list

;