s

काम गर्न विदेश जाने र फर्केकालाई १८ विधामा निःशुल्क तालिम

Year of Publication: 22 April 2021 | Setopati

Published by: CESLAM

तपाईं दक्ष भएर वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ? वा विदेशबाट फर्किएर देशमै केही गर्ने सोचमा हुनुहुन्छ? त्यसो हो भने वैदेशिक रोजगार बोर्डले विभिन्न १८ वटा विधामा निःशुल्क तालिम प्रदान गरिरहेको छ।

वैदेशिक रोजगारीबाट समस्यामा परेर फर्किएका तथा जान चाहनेलाई पनि लक्षित गरेर सीप तालिम सञ्चालन गरिरहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए। 

'हामीले सातै प्रदेशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) का आंगिक शिक्षण संस्थाहरूमार्फत तालिम सञ्चालन गरिरहेका छौं,' कार्यकारी निर्देशक श्रेष्ठले भने।

सिटिइभिटीका आंगिक शिक्षण संस्थामार्फत पूर्वाधार भए स्थानीय तहमै, नभए सिटिइभिटीको पूर्वाधार जहाँ छ त्यहाँ तालिम सुरू गरिसकेको उनले जानकारी दिए।

तालिम व्यवस्थित बनाउन स्थानीय तहले सिफारिस गरेका व्यक्तिलाई तालिमका लागि छनोट गरिने बोर्डले जनाएको छ। महिला, जनजाति, आर्थिक हिसाबले विपन्नलाई विशेष प्राथमिकतामा राखिएको श्रेष्ठले बताए।

'वैदेशिक रोजगारीबाट समस्यामा परेर फर्किएकालाई समेत प्राथमिकतामा राखिनेछ,' उनले भने।

बोर्डले दिने निःशुल्क तालिममा हाउस  किपिङ, स्टिल फिक्सर, वेटर, सेक्युरिटी गार्ड, मेसन, कुक, प्लम्बर, हाउस पेन्टिङ, स्काफ फोल्डर, गार्मेन्ट, टेलरिङ, सटरिङ कार्पेन्ट्री, असिस्टेन्ट इलेक्ट्रिसियन, असिस्टेन्ट वेल्डर, जुनियर ब्युटीसियन र जुनियर फर्निचर मेकर छन्।

बोर्डका अनुसार सुरूमा यी तालिम दिनको तीन घन्टाका हिसाबले दिइँदै आएको थियो। ३९० घन्टाको पूरा कोर्ष डिजाइन भएकाले चार महिना बढी लाग्थ्यो। यसमा व्यवहारिक कठिनाइ भएकाले हाल करिब एक महिनाको कोर्ष डिजाइन गरिएको छ।

'३९० घन्टाको कोर्ष अलि व्यवहारिक देखिएन। धेरै दिन लाग्ने भयो,' कार्यकारी निर्देशक श्रेष्ठले भने, 'फेरि नेपाली परिवेशमा ढुक्कले तालिम मात्रै लिएर बस्ने अवस्था छैन। त्यसैले १६० घन्टा, करिब एक महिनाको मात्रै बनायौं।'

नयाँ कोर्षअनुसार दैनिक ६ घन्टा सिकाइने गरी १६० घन्टाको तालिम निर्धारण गरिएको हो। समय छोटो लागे पनि काम गर्न सक्ने गरी सिकाइने उल्लेख गरिएको छ। बोर्डको समन्वयमा उपलब्ध गराइने सीपहरू देश-विदेशमा माग हुने कामकै आधारमा छानिएका हुन्। कार्यकारी निर्देशक श्रेष्ठका अनुसार समय कम भएपछि तालिममा युवाहरूको उपस्थिति बढेको छ।

'१८ विषयमध्ये कुनै पनि विषयमा तालिम लिनुहुन्छ भने एक महिनामा सकिन्छ,' बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्, 'यो तालिममा सहभागी भई सीप परीक्षण उत्तीर्ण गरेपछि कामहरू कुशल ढंगबाट गर्न सकिन्छ।'

तालिम सकिएपछि राष्ट्रिय सीप परीक्षण बोर्ड (एनएसबी) ले परीक्षण गर्छ। सीप परीक्षण उत्तीर्ण गर्नेहरूले तालिमका लागि बोर्डमा बुझाएको शुल्क रकम फिर्ता पाउँछन्। उत्तीर्ण नगर्नेको हकमा भने फिर्ता हुँदैन। आन्तरिक मूल्यांकन र सीप परीक्षणमा सहभागी हुन सैद्धान्तिक कक्षामा ८० प्रतिशत र व्यवहारिक कक्षामा ९० प्रतिशत हाजिरी अनिवार्य हुनुपर्नेछ।

'सीप तालिमलाई नतिजामुखी बनाउन हामीले यसो गरेका हौं। निःशुल्क मात्रै भन्ने हो भने त यसको महत्व नै रहँदैन,' बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्, 'कामदारको पैसा दुरूपयोग नहोस् भन्नेमा हामी सचेत छौं। किनभने यसमा श्रमिकको रगत-पसिना मिसिएको छ।'

विदेशबाट फर्किएर देशमै केही गर्छु भन्नेको र वैदेशिक रोजगारीमा जानेको हकमा पनि प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने गरी केही मापदण्ड कायम गरिएको उनले बताए।

तालिमको प्रमाणपत्र पाएपछि ती व्यक्तिलाई स्थानीय तहले रोजगारी दिन सक्छन्। कोही सीप सिकेर वैदेशिक रोजगारीमै संलग्न हुन चाहे, विदेशमै पनि सीपअनुसारको काम र उचित पारिश्रमिकको सुनिश्चितता हुने बोर्डको विश्वास छ।

'तालिम लिएर यहीँ केही गर्छु भन्नेलाई स्थानीय तहले रोजगारी व्यवस्था मिलाउन सहयोग पुर्‍याउनुपर्ने भनेर हामीले समन्वय गरेका छौं। विदेश नै जान्छु यहाँ काम गर्दिनँ भन्नेलाई न स्थानीय सरकारले रोक्न सक्छ न हामीले,' बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले सेतोपाटीसँग भने।

अघिल्लो वर्षमा दस हजारलाई यस किसिमको तालिम उपलब्ध गराउने बोर्डको योजना थियो। तर कोरोनाका कारणले अघिल्लो वर्ष सुरू भएको तालिम पनि सम्पन्न हुन सकेको थिएन। अघिल्लो वर्ष रोकिएको कार्यक्रम चालु आर्थिक वर्षमा पुनः सुरू गरिएको बोर्डले जनाएको छ।

हालसम्म आठ सयभन्दा बढीको सीप परीक्षण भइसकेको बोर्डले जनाएको छ। कोरोनाले पुनः असर पारेन भने चालु आर्थिक वर्षभित्र दस हजारलाई तालिम उपलब्ध गराउने लक्ष्य रहेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ।

Published on: 22 April 2021 | Setopati

Link

Back to list

;