s

‘कामका लागि नगद’ ले श्रमिकलाई राहत

Year of Publication: Published on: 2 September 2021 | Nagarik

Published by: CESLAM

महेश्वर चामलिङ राई

कोभिड कहरले परिवारको छाक टार्न हम्मेहम्मे भएका उदयपुरका श्रमिक वर्ग तथा बिपन्नलाई यहाँको एक संस्थाले ज्यालादारी काम दिएर राहत महसुस गराएको छ। जिल्लामा क्रियाशील मानवअधिकार र वातावरण विकास केन्द्र (हुरेन्डेक) उदयपुरले ‘कामका लागि नगद’ कार्यक्रम सञ्चालन गरेर कोभिड प्रभावित विपन्न तथा श्रमिक वर्गलाई राहतको अनुभूति गराएको हो।  

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वल्र्डभिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा हुरेन्डेकले जिल्लाका रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाका विभिन्न वडामा पूर्वाधार निर्माणका काममा लक्षित वर्गलाई परिचालन गरेर ज्यालादारी काममा खटाएको हो। संस्थाले सञ्चालन गरेको ‘पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना’ अन्तर्गत खानेपानी, सिंचाई कुलो र ग्यावियन पर्खाल लगाउने काममा उनीहरुलाई ज्यालादारीमा परिचालन गरेको जनाएको छ। 

कोभिड संक्रमणका कारण जिल्लामा वैशाख तेस्रो सातादेखि लागू गरिएको निषेधाज्ञा र बजार बन्दजस्ता मानव चलखेल रोक्ने कार्यबाट दैनिक ज्यालादारी गरिखाने श्रमिक तथा विपन्न परिवार भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको थियो। गतवर्ष लकडाउन लागे पनि हरेक स्थानीय तहले राहतस्वरुप चामलदेखि नुन तेल र हात धुने साबुनसम्म वितरण गरेको भए पनि पछिल्लो कोभिड कहरमा कुनै सहयोग वितरण गरिएन। 

यसरी राहत नपाउने तर, घरभित्रै कोचेर राख्ने राज्यको गलत शैलीले जहान परिवारलाई भोकै राख्नुपर्ने बाध्यतामा थोरै भए पनि सहयोग पुर्याउने उद्देश्यले संस्थाले कामका लागि नगद कार्यक्रम सञ्चालन गरेको हुरेन्डेकका अनुगमन तथा मूल्यांकन अधिकृत (मिल अफिसर) जितेन राईले बताए।

कार्यक्रमअन्तर्गत संस्थाले वडाको सिफारिसमा एकल महिला, पुरुष, अपाङ्गता भएका परिवार, दैनिक ज्याला मजदुरी गरीखाने वर्ग, गर्भवती र सुत्केरी महिला भएको परिवारलाई राहत दिलाउने उद्देश्य थियो। त्यसैअनुसार निषेधाज्ञाले आम्दानीको स्रोत गुमाउन बाध्य श्रमिक वर्गलाई समेटेर कार्य क्रम चलाउँदा काम पनि भएको र गरिव तथा विपन्नले खान पनि पाएको राईले बताए।

साउन दोस्रो सातादेखि सुरु भएको कार्यक्रम रौतामाई गाउपालिकाका ३, ६, ७ र ८ नंं वडामा लागू गर्दा ७९ महिलासहित १ सय ७१ जना लक्षित वर्गले प्रत्यक्ष लाभ लिन पाएका छन्। त्रियुगा नगरपालिकाका १५ नं. वडाको खाँवुमा पनि त्यस्तै कार्यक्रम लागू गर्दा  ७ महिलासहित १५ जनाले केही दिनका लागि भए पनि रोजगारी पाएको संस्थाले जनाएको छ।

कामका लागि नगद कार्यक्रममार्फत् सिंचाई कुलो, खानेपानीको पाईपलाईन र धारा निर्माण, पोखरी निर्माण र शिक्षातर्फ विद्यालय सुधारका काम भएको छ। 

संस्थाले कामदारलाई स्थान र कामको प्रकृति अनुसार भुक्तानी दिएको जनाएको छ। जसअनुसार रौतामाई गाउपालिकामा खट्ने कामदारलाई प्रतिव्यक्ति ७ हजार ९ सय ३६ रुपैयाका दरले भुक्तानी दिइएको थियो भने त्रियुगा नगरपालिका १५ खाँबुका कामदारलाई प्रतिव्यक्ति १४ हजार १ सय ७७ रुपैयाका दरले पारिश्रमिक दिइएको थियो। 

जसअनुसार रौतामाईमा भएको कामबापत १३ लाख १३ लाख ५७ हजार ५६ रुपैंया ज्याला बितरण गरिएको थियो भने त्रियुगा १५ मा २ लाख १२ हजार ६ सय ५५ को काम सम्पन्न भएर भुक्तानी दिइएको राईले बताए।

Published on: 2 September 2021 | Nagarik

Link

Back to list

;