s
Year of Publication: 22 March 2022 | Gorkhapatra
Published by: CESLAM
काठमाडौँ, चैत ६ गते । काठमाडौँ चाबहिलकी तुलसा जोशीले सात वर्षअघि बीएस्सी नर्सिङ पूरा त गर्नुभयो तर भनेजस्तो काम पाउनुभएन । भक्तपुरको ठिमीस्थित एक अस्पतालले दुई/तीन महिना काम गरेपछि बल्ल सात हजार रुपियाँ दियो । उहाँको बीएस्सी नर्सिङ अध्ययन गर्दा पढाइ खर्च नै १२ लाखभन्दा बढी भइसकेको थियो । पाएको तलबले खाजा खर्च र बसभाडा पनि नपुग्ने स्थिति थियो । लोकसेवाले पनि सरकारी अस्पतालका लागि विज्ञापन गरेकै थिएन ।
तुलसा एक वर्षको तयारीपछि बेलायत जानुभयो । त्यहाँको कमाइले उहाँ अहिले सन्तुष्ट हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेपालमै राम्रो जागिर भएको भए विदेश आउनुपर्ने थिएन ।”उहाँमात्र होइन, सुविना कालाखेतीले नर्सिङ पेसा धेरै राम्रो भन्ने सोचेर पढ्न थाल्नुभयो । खर्च कति लाग्ने थाहै नभई अध्ययन गर्नुभएकी सुविनालाई नाम निकालेपछि मात्र कलेजलाई शुल्कमात्र छ/सात लाख रुपियाँ बुझाउनुपर्ने थाहा भयो । सुविनाले भन्नुभयो, “यति महँगो पढाइ हुन्छ भन्ने थाहा पाएको भए पढ्दिनथेँ ।”
जेनतेन गत वर्षमात्र प्रमाणपत्र तहमा नर्सिङ अध्ययन सक्नुभएकी सुविनाले पढाइ सकेर काम पाउनुभएन । जागिर नपाएपछि कुनै अस्पतालमा काम गरेको अनुभवपत्र बनाएर बिदेसिनुभएको उहाँ अहिले अस्ट्रेलियामा हुनुहुन्छ । सुविनाले भन्नुभयो, “सुरुमा धेरै गाह्रो छ । पछि सहज होला भनेर सङ्घर्ष गरिरहेकी छु ।” आठ वर्षअघि आर्मी मेडिकल कलेजबाट बीएस्सी नर्सिङ पास गर्नुभएकी गोङ्गबुकी रेश्मा लोहनीले आफन्तको चिनजानका आधारमा तीनकुनेका एक अस्पतालमा काम गर्न थाल्नुभयो तर सुरुमा बेतलबी काम गरेको केही समयपछि मात्र मासिक आठ हजार बनाइदिएको थियो । चित्त नबुझेर लोहनी अस्ट्रेलिया जानुभयो ।
उहाँले काम गर्दै नर्सिङमा स्नातकोत्तर सकिसक्नुभयो । अस्ट्रेलियाको पीआर लिइसक्नुभएकी लोहनी नेपाल आउने सोचमा हुनुहुन्न । उहाँ भन्नुहुन्छ, “मेरो नेपाल आउने सोच छैन । किनभने नेपालमा नर्सलाई रोजगारी पाउनै मुस्किल पर्छ ।”
तुलसा, सुविना र रेश्मा त प्रतिनिधि हुन् । नेपालमा लाखौँ खर्च गरेर नर्सिङ शिक्षा अध्ययन गरे पनि रोजगारी नपाउने नर्स धेरै छन् । ती सबै नर्स विदेश पलायन भइरहेका वा हुनेक्रममा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख गोमादेवी निरौलाले नेपालमा नर्सलाई रोजगारीको अवसर नभएकै कारण हजारौँ नर्स बिदेसिन बाध्य भएको बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बिरामी र नर्सको अनुपात मिल्न सकेको छैन । जनरल वार्डमा नेपालमा नर्स र बिरामीको अनुपात एक नर्सबराबर छ जना बिरामी हुनुपर्ने हो । तर, नेपालमा एकजना बिरामीले ३० देखि ४० जनासम्म बिरामी हेर्नुपर्छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार आईसीयूमा एक नर्सबराबर एकजना बिरामी हेर्नुपर्छ ।
नेपालमा एकजना नर्सले पाँचदेखि १० जनासम्म आईसीयूका बिरामी हेर्नुपर्ने स्थिति छ । नर्स र बिरामीको अनुपात नमिल्दा बिरामीलाई उचित स्याहार तथा हेरचाह गर्न नसकिने हुन्छ । सुत्केरी गराउने ठाउँमा एकजना बिरामीबराबर दुईजना नर्स चाहिनुपर्नेमा त्यहाँ एकजना नर्सले धेरैजना बिरामी हेर्नुपरेको नर्सिङ महाशाखा प्रमुख निरौलाको भनाइ छ । नेपालमा कति नर्स बिदेसिएका छन् भन्ने कुनै तथ्याङ्क छैन । नर्सिङ महाशाखा प्रमुख निरौलाले बिदेसिएका नर्सको कुनै तथ्याङ्क नहुने बताउनुभयो ।
उहाँले नर्सको सही तथ्याङ्क निकाल्ने प्रयासमा नर्सिङ महाशाखा लागिपरेको बताउनुभयो । नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार सरकारी सेवामा स्टाफ नर्स एक हजार छ सय जना छन् । यस्तै, नर्सिङ अधिकृत १०९ जना, अनमी आठ हजार पाँच सय, सामुदायिक नर्सिङ अधिकृत २८, नर्सिङ प्रशासक ३९ र प्रमुख नर्सिङ अधिकृत चार जना छन् । नर्स र बिरामीको अनुपातमा नर्स राख्ने हो भने नेपालमा अझै हजारौँ नर्स आवश्यक हुन्छ ।
नर्सिङ सङ्घ नेपालकी कोषाध्यक्ष कल्पना श्रेष्ठले नेपालमा नर्सिङ अध्ययन निकै महँगो रहेको रोजगारी नपाउने र पाउँदा पनि खर्च नउठ्ने भएपछि विदेश जाने नर्स बढ्दै गएको बताउनुभयो । उहाँले सरकारले नर्स र बिरामीको अनुपातमा नर्सिङ जनशक्ति थप गर्नुपर्ने भन्दै पछिल्लो समय स्थानीय तह तथा प्रदेशले राख्ने नर्सहरू पनि सेवा करारमा मात्र राख्ने गरेको गुनासो गर्नुभयो ।
Published on: 22 March 2022 | Gorkhapatra
GET IN TOUCH