s
Year of Publication: 6 February 2015 | Kantipur
Publication Type: NEWS
Published by: CESLAM
मुक्त हलिया पुनस्र्थापना प्रक्रिया सुरु भएको छ। ३० परिवारका लागि घरजग्गा खरिद कार्य अघि बढाइएकोे हो। प्रमाणीकरणमा परेका उनीहरूमध्ये 'क' र 'ख' वर्गका ३० परिवारलाई घरजग्गा व्यवस्था गर्न नामावली छनोट गरिसकिएको प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलले बताए। 'क' वर्गबाट छनोट भई पुनस्र्थापनामा परेकालाई घडेरी खरिद तथा 'ख' वर्गका लागि भने घर मर्मत प्रक्रिया अघि बढाएका छौं,' प्रजिअ शर्मा पौडेलले भने।
चालू वर्षमा 'क' वर्गबाट छनोट गरिएका १५ परिवारका लागि घडेरी किन्न र यीमध्ये ७ का लागि घर बनाउन लागिएको हो। यस्तै 'ख' वर्गबाट छनोट गरिएका १५ परिवारलाई मर्मत गरिने मुक्त हलिया पुनस्र्थापना समितिका सदस्यसचिव जन्मजय शाहले बताए।
जिल्लामा अहिलेसम्म प्रमाणीकरणमा परेका ९ सय २२ लाई परिचयपत्र दिइएको छ। 'क' वर्गमा ८० जना छन्। मुक्त हलिया परिवारमध्ये अति विपन्न परिवारलाई पहिलो प्राथमिकतामा राखेर पुनस्र्थापना अघि बढाएको समितिले जनाएको छ। यस आर्थिक वर्षमा न्यून संख्यालाई मात्र पुनस्र्थापनाको कार्यक्रम आएकाले समिति तथा मुक्त हलियाका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाका अगुवाको सहभागिता गराई नामावली छनोट गरिएको हो। '७ दिने दाबीविरोध सूचनामा समेत कसैको गुनासो नआएकाले छनोट न्यायोचित भएको छ,' शाहले भने।
घडेरी खरिद, मर्मत र निर्माणका लागि प्रतिपरिवार १ लाख ५० हजार बजेट रहेको जिल्ला मालपोतले जनाएको छ। निर्धारित मूल्यमा मुक्त हलिया परिवारहरूले
रोजेको जग्गा व्यवस्थापन गर्न हलिया अगुवा कलुवा लोहारलाई जिम्मेवारी दिएको प्रजिअले बताए।
पुनस्र्थापना योजनाको छनोटमा परेका मुक्त परिवारहरू घरबासको व्यवस्था हुने भएपछि खुसी देखिएका छन्। घडेरी खरिद तथा घर निर्माणको कार्यक्रममा परेका कोटिलाका धने लोहारले भने, 'आफ्नै घरमा बस्न पाउने पुस्तौंदेखिको धोको पूरा हुने सुन्दा खुसी लागेको छ।' केहीले भने न्यून संख्यामा पुनस्र्थापना योजना राखिएको भन्दै गुनासोसमेत गरेका छन्। 'मुक्त हुनेको ९ सय संख्या भए पनि ३० परिवारका लागि मात्रै प्रक्रिया अघि बढाइनु न्यायोचित भएन,' मुक्त हलिया गोरख सार्कीले भने। सरकारले ०६५ भदौ २१ गते हलिया मुक्ति घोषणा गरेको थियो।
Published on: 6 February 2015 | Kantipur
GET IN TOUCH