s

नेपालमै कमाउछन् विदेशीले महिनामा ४० हजारदेखि ४० लाखसम्म

Year of Publication: 28 February 2018 | Setopati

Publication Type: NEWS

Published by: CESLAM

रोजगारका लागि नेपालीहरु धमाधम बिदेसिरहेका बेला रोजगार खोज्दै नेपाल आउने विदेशीको संख्या पनि बढ्दो छ । श्रम स्वीकृति लिएर नेपाल आउने विदेशीको संख्या यो वर्ष बृद्धि भएको छ । यो खबर आजको नागरिक दैनिकमा छ।
 
‘श्रम स्वीकृति लिएर नेपालमा काम गर्ने विदेशीको संख्या बढ्दो छ,’ श्रम विभागका निर्देशक वरुणकुमार झाले नागरिकसँग भनेका छन्, ‘बिनाश्रम स्वीकृति अवैध तरिकाले कोही विदेशीले पनि यहाँ काम नगरून् भनेर सबैलाई श्रम कानुनको दायरामा ल्याउने प्रयासमा हामी छौं ।’
 
श्रम विभागको तथ्यांकअनुसार ०७४ वैशाख १ गतेदेखि माघ मसान्तसम्म २ हजार ३ सय ७० विदेशीले श्रम स्वीकृति लिएका छन् । यो संख्या नेपालमा काम गर्ने भारतीयबाहेकको हो । थोरै अवधिमा यति धेरै विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएको यो पहिलोपटक हो ।
 
मासिक २० हजार रुपैयाँ कमाउन नेपाली युवा मलेसिया तथा खाडी राष्ट्रमा भौंतारिरहँदा नेपालमा काम गर्ने विदेशीले भने मासिक ४० हजार रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म पारिश्रमिक बुझ्ने गर्छन् ।
 
नेपालमा सबैभन्दा कम तलब बुझ्ने विदेशी कामदारमा जलविद्युत् परियोजनामा काम गर्ने चिनियाँ नागरिक छन् । उनीहरुको न्यूनतम मासिक पारिश्रमिक ४० हजार रुपैयाँ छ ।
 
बढी पारिश्रमिक बुझ्ने विदेशीमा अमेरिकी तथा युरोपेली छन् । अमेरिकी तथा युरोपेली सहयोगमा नेपालमा सञ्चालित संस्थामा काम गर्ने ती मुलुकका नागरिकले मासिक ४० लाख रुपैयाँसम्म पारिश्रमिक बुझ्ने गर्छन् ।
 
Published on: 28 February 2018 | Setopati

Back to list

;