s

पहाडको पुनर्निर्माणमा तराईका कामदार

Year of Publication: 4 May 2018 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

मनीष दुवाडी

धादिङका गाउँगाउँमा भूकम्पपछिको आवास पुननिर्माण तीव्र छ। सरकारले अनुदानको रकम लिने समयसीमा तोकिदिएपछि धमाधम घर बनिरहेका छन्। एकै पटक एउटै गाउँमा धेरै घर बन्न सुरु गर्दा गाउँमा काम गर्ने मजदुरको अभाव भएको छ। त्यसैले पुनर्निर्माणका लागि तराईबाट मजदुर आउने क्रम बढेको छ।

नीलकण्ठ नगरपालिका–९ मा एक्सन नेपाल र अक्सफामले बनाउँदै गरेको नमुना बस्ती निर्माणका लागि बाराबाट कामदार ल्याइएका छन्। गाउँमा कामदारको अभाव भएपछि बाहिरी जिल्लाबाट कामदार ल्याउनुपरेको ठेकेदारहरूको भनाइ छ। ‘काम जानेपछि जहाँ गए पनि सजिलो हुने रहेछ। त्यहीमाथि हामी तराईवासीलाई पहाडमा काम गर्न हावापानी र वातावरण पनि धेरै नै राम्रो हुने रहेछ’, नीलकण्ठ–९ मा घर बनाउँदै गरेका बर्दियाको बारा–बरिदिया नगरपालिकाका अर्जुन थारूले भने। ६ महिना अघिदेखि पहाडी गाउँमा घर बनाउदै हिँडेका उनले तराई क्षेत्रको तुलनाका पहाडी क्षेत्रमा ज्याला रकम पनि राम्रो रहेका् प्रतिक्रिया दिए।
 
सरकारले असार मसान्तसम्म दोस्रो किस्ता लिने म्याद तोकेपछि जिल्लामा पुनर्निर्माणले गति लिएको छ। पहिलो किस्ता लिएर जग मात्रै हालेका घर अहिले निर्माण सम्पन्न हुने प्रक्रियामा छन्। पुनर्निर्माणमा मिस्त्रीदेखि मजदुरसम्मको काम जिल्लाबाहिरकै जनशक्तिले धानिरहेको छ। सरकारी र सामुदायिक संरचना पुनर्निर्माणमा मात्र होइन, भूकम्पपीडितका निजी आवास पुनर्निर्माणमा पनि जिल्लाबाहिरका मजदुर खटिएका छन्। मापदण्डअनुसार भूकम्पप्रतिरोधी घर बनाउन समूह नै बनाएर गाउँगाउँमा पुगेका छन्। गाउँमा युवा जनशक्ति नभएकै कारण बाहिरी जिल्लाका कामदारको भर पर्नुपरेको स्थानीयको भनाइ छ।
 
भूकम्पप्रभावित गाउँबस्तीमा अधिकांशले घरको डीपीसी गरिसकेका छन्। कामदार नपाएका कारण भूकम्पको साढे दुई वर्षसम्म पुनर्निर्माण सुरु गर्न नसकेका भूकम्पपीडितले कामदार पाएपछि पुनर्निर्माण थालेको नीलकण्ठ–९ का बाबुराम लम्सालले बताए।
 
रुकुमका अनन्त कामी धादिङको गंगाजमुना गाउँपालिकास्थित बुढाथुममा घर बनाउन व्यस्त छन्। दुई महिनाअघि ठेकेदारसँग सम्पर्क गरेर घर बनाउन आएका उनी खाली हात बस्नुपरेको छैन। उज्यालो भएदेखि अँध्यारो नहुँदासम्म सधैँ काममै व्यस्त हुन्छन् उनी। अधिकांश ठाउँमा तराई र पश्चिमी जिल्लाका कामदारले काम गरिरहेका छन्। घर पुनर्निर्माणमा बाहिरी जिल्लाबाट कामदार आएपछि सजिलो भएको भूकम्पपीडितको भनाइ छ। ‘भूकम्पप्रतिरोधी घर बनाउन दक्ष कामदारको अभाव छ’, सिद्धालेक नलाङका नरबहादुर अधिकारीले भने, ‘बाहिरी जिल्लाबाट घर बनाउन चाहिने सबै खाले ज्यामी समुह बनाएरै आउन थालेपछि सजिलो भएको छ।’
 
पुनर्निर्माणमा बाहिरी जिल्ला मात्र होइन, भारतबाट समेत कामदार आएका छन्। भारत विहारका बुधराम मुस्तफा पनि सिद्धलेक गाउँपालिकास्थित सलाङमा घर बनाउन खटिएका छन्। ‘म ८ वर्षदेखि नेपालमै बसेर निर्माणको काम गर्थें’, उनले भने, ‘भूकम्पपछि ज्याला पनि राम्रो र खानबस्न पनि सजिलो भएपछि गाउँगाउँ डुल्न थालेको छु।’ भूकम्पले भत्काएको संरचना बनाउने कार्यमा उनले अरू साथीलाई समेत परिचालन गरेका छन्। भूकम्पलगत्तै धादिङका विभिन्न ठाउँमा भूकम्पप्रतिरोधी घर बनाउन गाउँगाउँ चहारिरहेका छन् उनी। प्रत्येक ठाउँमा आलोपालो घर बनाउने ठेक्का नै लिएर सम्पन्न गरेको उनले बताए।
 
भूकम्पपीडितका घर बनाउन खटिएकामध्ये अधिकांश कामदार बाहिरी जिल्लाकै छन्। तैपनि घर बनाउन चाहिने र निर्माण थुपारेर कामदार पर्खिरहेका पीडितको संख्या धेरै छ। कतिपय ठाउँमा अझै कामदार नपाएरै घर बनाउने काम अलपत्र छ। ‘दोस्रो किस्ताको निवेदन दिने म्याद गुज्रिन लागेपछि इन्जिनियरको सल्लाह लिएर आफंैले डीपीसीसम्म गरेँ’, धादिङ जोगीमाराका रामप्रसाद थपलियाले भने, ‘कामदार नपाएपछि यो बर्खाअघि पनि घर ठड्याउन सकुँलाजस्तो लागेको छैन।’
 
घर बनाउन चाहनेहरूको संख्या बढी भएका कारण कतिपयले घरको जग मात्रै हालेर बसेका छन्। एकातिर दक्ष कामदारको अभाव छ भने अर्कोतिर निर्माण सामग्रीको महँगीको मार खेपिरहनुपरेको छ।
 
Published on: 4 May 2018 | Annapurna Post

Back to list

;