s

प्रधानमन्त्री रोजगार कार्यक्रममा फारम भर्नेको लर्को

Year of Publication: 19 April 2019 | Gorkhapatra

Publication Type: NEWS

Published by: CESLAM

गाउँपालिकामा रोजगार संयोजक आए संगै प्रधानमन्त्री रोजगार कार्यक्रममा फारम भर्नेको लर्को वडा कार्यालयमा लाग्न सुरु भएको छ । सो कार्यक्रममा १८ देखि ५९ बर्ष ननाँघेका नागरिकले रोजगारी पाउने भए पछि फारम भर्नेको लर्को लागेको हो ।
 
पाँच दिनमा छ सय भन्दा बढीले प्रधानमन्त्री रोजगार कार्यक्रममा फारम भरेको सिमकोट गाउँपालिकाका रोजगार संयोजक हर्क बहादुर शाहीले बताउनु भयो । यही अनुपातमा फारम भर्ने हो भने कार्यक्रमका लागि फारम भर्नेको संख्या अत्याधिक हुने उहाँले बताउनु भयो । कार्यक्रमको रोजगार छनौट निर्देशिका अनुसार एउटा घरमा एक जना रोजगारी भए पनि बाँकी अरु १८ देखि ५९ उमेर समुहका जति पनि बेरोजगार सदस्य छन् ती सबैले रोजगार फारम भर्न सक्ने व्यवस्था रहेको छ । आफु नियुक्त भएर गाउँपालिकामा हाजिर भए लगत्तै कार्यक्रमका लागि फारम भर्न सुरु गरेको र वडा नम्बर एकमा फारम भर्ने कार्य सम्पन्न भएको र बाँकी वडामा पनि फारम भर्ने कार्य धमाधम भइ रहेको उहाँले बताउनु भयो ।
 
सिमकोट गाउँपालिकामा आठ वटा वडाहरु रहेका छन् । यो फारम भर्ने मिति वैशाख २० गतेसम्म तय गरिएको संयोजक शाहीले बताउनु भयो । ठुलो परिवार संख्या भएका घरधुरी गाउँपालिकामा धेरै भएको कारण एउटै घरबाट चार जनासम्मले फारम भरेको उहाँले बताउनु भयो । यसका लागि कार्यक्रमले वडा कार्यालयबाट बेरोजगारहरुले फारम भर्ने व्यवस्था गरेको छ । फारम भरि सकेपछि अन्तमा वडाले सिफारिस गरेर पठाए पछि रोजगार संयोजकले बुझ्ने व्यवस्था छ । सरकारले यो कार्यक्रम अन्र्तगत बेरोजगार युवायुवतीले फारम भरेर छनौट भएमा एक सय दिन बराबर सार्वजनिक विकास निर्माणमा काम गरेर पारिश्रमिक पाउने छन् । हुम्ला जिल्लामा दैनिक ज्याला दर सात सय रुपियाँ निर्धारण गरिएको छ । यसै बीच सिमकोट गाउँपालिकामा रोजगार संयोजक आएको भए पनि अन्य छ वटा नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा भने संयोजक हालसम्म छनोट भएर आउन सकेका छैनन् ।
 
Published on: 19 April 2019 | Gorkhapatra

Back to list

;