s

प्रधानमन्त्री रोजगार कार्यक्रमको लाखौं रकम हिनामिना

Year of Publication: 27 December 2021 | Gorkhapatra

Published by: CESLAM

शैलेन्द्र रोकाया

बझाङ, पुस ११ गते । बझाङको दुर्गाथली गाउँपालिका ६ मा किर्ते कामदार खडा गरेर उपभोक्ता समितिले लाखौं रकम हिनामिना गरेको भेटिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडामा ग्रावेल बाटो निर्माण गर्न बनेको उपभोक्ता समितिले किर्ते कामदार बनाएर ५ लाख १७ हजार रुपियाँ हिनामिना गरेको छ ।

दुर्गाथली गाउँपालिकाको –६ दुर्गम गाउँ चुहाबनमा ५ सय मिटर (नैरेथुन–चौपाटा ग्रोवेल) बाटो निर्माणका लागि बनेको उपभोक्ता समितिले १० जनाको किर्ते कामदार खडा गरेर बैंकबाट ५ लाख रुपियाँ बढी रकम लिएको भेटिएको छ । गत आर्थिक बर्षको फागुनमा सडक निर्माणका लागि ३३ जना कामदारले निरन्तर सय दिन काम गरेको भएपनि बैंकबाट भने ४३ जनाको नाममा रकम निकालिएको प्रमाण फेला परेको हो ।

उपभोक्ता समितिले प्रतिव्यक्ति प्रतिदिनको ज्याला ५ सय १७ रुपियाँ तोकेर ३३ जनालाई काममा लगाएको थियो । एक जनाले सय दिन काम गर्दा ५१ हजार ७ सय रुपियाँ पाउँछन् । त्यसमध्ये १ प्रतिशत कर कट्टी गर्दा ५१ हजार १८३ रुपियाँ प्रति कामदारले पाएका छन् । ३३ जनाले एक सय दिन काम गर्दा कुल १७ लाख ६ हजार रुपियाँ हुन आउँछ । बैंकबाट ४३ जनाको नामबाट कुल २२ लाख २३ हजार रुपियाँ भुक्तानी भएको देखिएको छ । 

काम नगरेका १० जना किर्ते कामदार खडा गरेर ५ लाख १७ हजार रुपियाँ अतिरिक्त भुक्तानी गरेको भेटिएको छ । स्थानीयले उपभोक्ता समितिका अध्यक्ष सुन्दर बिक, सचिव अर्जुन धामी र वडा अध्यक्ष धिरजबहादुर जाग्रीको मिलोमतोमा रकम हिनामिना गरेको स्थानीयको आरोप छ । उहाँहरुले किर्ते कामदार खडा गरेर ५ लाख १७ हजार रुपियाँ कुम्ल्याएको स्थानीयको आरोप छ ।

गाउँपालिकाले वडा कार्यालयमार्फत बेरोजगारको आबेदन माग गरेर संघीय सरकारलाई पठाएपछि संघीय सरकारले प्रमाणित गरेर गाउँपालिकालाई पठाउने प्रबधान छ । सोही प्रक्रियाअनुसार संघीय सरकारले दुर्गाथली गाउँपालिका –६ का ४३ जनाको नाम प्रमाणित गरेर प्रधानमन्त्री रोजगार कार्यक्रममा १०० दिनको रोजगारी दिने उद्देश्यले रकम समेत गाउँपालिकामा पठाएको थियो ।

संघीय सरकारले प्रमाणित गरी पठाएका कामदारमध्ये उपभोक्ता समितिको कोषाध्यक्ष समेत रहनुभएका एकल महिला कलसीदेबी धामीले भन्नुभयो, “पहिले हामीलाई काम गर्न खाता खोल्न लगाइयो । पछि नाम काटिएको रहेछ भनेर काम गर्न नआउ भनेपछि काम गर्न गएनौं । म अनपढ महिला केही पनि थाहाँ थिएन । उपभोक्ता समितीका अध्यक्षले खातामा रकम निकाल्नु छ, बैकं जाउँ भनेपछि गएँ तर मेरो खातामा पनि पैसा आएको रहेछ ।”

पैसा झिकेर मलाई १५ हजार रुपियाँ दिएपछि किन दिएकोभन्दा वडा अध्यक्ष धिरज जाग्रीले बैकं आउन जानको खाना खर्च भनेर दिएको हो, लुगा कपडा किन्नु भनेर भनेको उहाँले बताउनुभयो । “घरबाट बैकंमा आउदा समेत अरु मान्छेले देख्यो भने अस्पताल जाँदैछुँ भन्नु भनी सिकाएका थिए” उहाँले बताउनुभयो । उपभोक्ता समितिका अध्यक्षले त्यस्तो सिकाएको धामीले बताउनुभयो ।

उपभोक्ता समितिका केही पदाधिकारी र वडा अध्यक्षले १० जना किर्ते कामदारलाई १५ हजार रुपियाँ दिने आश्वासनले हस्ताक्षर गर्न लगाएको बताएका छन् । उहाँहरुले १५ हजार रुपियाँ दिने र बैंकबाट रकम भुक्तानीका लागि हस्ताक्षर गरिदिन आग्रह गरेको बुझिएको छ । स्थानीयकाअनुसार कलसीसहित अन्य ९ जना कामदारलाई पनि किर्ते कागज गराएर १५ हजार रुपियाँका दरले पैसा दिइएको उहाँहरुको भनाई छ ।

योजनामा नियमित काम गरिरहेका स्थानीय कामदार राईसिंगे जाग्रीले भन्नुभयो, “प्रधानमन्त्री स्वोजगारको काम गर्न पहिले वडा कार्यालय र उपभोक्ता समितिले ४३ जनालाई गाउँपालिकामा रहेको कुमारी बैकंमा खाता खोल्न लगाएको थियो । अरुको नाम काटिएकाले ३३ जनालाई मात्र काममा आउन भनिएको थियो । बाँकी १० जनालाई काममा नआउन भनिएको स्थानीयको भनाई छ । काम ३३ जनाले गरेपनि पैसा भने ४३ जनाको नाममा आएको उहाँहरुको भनाई छ ।

“काम ३३ जनाले गरेका थियौं, ४३ जनाको नाममा पैसा आएकोमा म अचम्म छुँ” जाग्रीले भन्नुभयो । गत आर्थिक बर्षको असारमा सम्पन्न सो योजना साउनको अन्तिमतिर ४३ जनाको नाममा रकम आएको जानकारी भएपछि स्थानीयहरुले असोज ८ गते गाउँपालिकामा रहेको न्यायिक समितिमा उजुरी गरेका थिए ।

गाउँपालिकाले न्यायिक समितिमा उजुरी गर्दा पनि गाउँपालिकाले आनाकानी गरेको स्थानीयको आरोप छ । वडा अध्यक्ष धिरज जाग्रीले ४३ जनाले नै काम गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, “३३ जना निरन्तर काममा आउनुभयो, १० जना कामदारको कहिले छोराछोरी त कहिले घरको अन्य सदस्य काममा आएका हुन् ।” सो उजुरीका बिषयमा गाउँपालिकाले अनुसन्धान गरिरहेको गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले बताउनुभयो ।

Published on: 27 December 2021 | Gorkhapatra

Link

Back to list

;