s

रोजगारी दिनेलाई मतदान : डोम समुदाय

Year of Publication: 11 November 2022 | Gorkhapatra

Published by: CESLAM

ललिता साह

बोदेबर्साइन (सप्तरी) कात्तिक २४ गते । सप्तरीको तिलाठी कोइलाडी वडा – ८ का गीता मरिकले आफूहरूले गर्दैआएको रोजगारी र श्रमको मूल्य बढाइदिने नेतालाई भोट दिने बताउनुभयो । सप्तरीमा डोम समुदायले सरसफाइ लगायत बाँसको ढकी, पङ्खा, कोनिया बनाएर विक्री गरेर आयआर्जन गरी परिवार चलाउँछन् ।

गीता आफ्नो पारम्परिक पेसासँगै स्थानीय तोपाबजारको सफाइको काम गर्दै आठ जनाको परिवार पाल्दै आउनुभएको छ । दुई पुस्तादेखि बढार्दै आएको तोपाबजार अहिले पनि दैनिक सय रुपियाँमा काम गर्न बाध्य हुनुहुन्छ ।

स्थानीय तहको निर्वाचनमा मोल बढाइदिन्छु भनेर वडा अध्यक्षले भोट लिएर जानुभयो तर मोल बढेन उहाँले भन्नुभयो । विगतको निर्वाचनमा भोट दिएर जिताएका नेताहरू एक पटक पनि समस्या बुझ्न नआएको उहाँको गुनासो छ । “हरेक चुनावमा हामी झुठा आश्वासन मात्र पाउँछौँ, बजारभाउ बढेजस्तै हाम्रो कामको मोल बढेको भए राम्रो हुन्थ्यो” उहाँले भन्नुभयो ।

कामको उचित मूल्य नपाएर परिवार धान्न धौधौ रहेको स्थानीय असिया मरिकले बताउनुभयो । उहाँले थप्नुभयो, “सरकारबाट हाम्रो नाउँमा आएको राहत कुनै नेताले हामीलाई दिँदैन, हामी आफ्नै कामले रोजीरोटी खाएर बाँचेका छौँ ।”

“बाँसको सामग्रीको एउटा ढकीको मूल्य दश वर्ष पहिले पनि दुई सयदेखि तीन सय रुपियाँ थियो, आज पनि त्यत्तिकै मूल्यमा बेच्नुपरेको छ” उहाँले भन्नुभयो । समाजको अपहेलनाकै कारण समुदायमा थप अर्को रोजगारी पनि पाएका छैनौँ उहाँले भन्नुभयो ।

आफ्नो पेसाको उचित मोल नरहेको अर्का स्थानीय राजेन्द्र मरिकको भनाइ छ । श्रम गरी खाने, बेरोजगार तथा निम्नस्तरका मतदाताले आफूलाई सहज तरिकाले हातमुख जोड्न रोजगारीको व्यवस्था मिलाउने नेतालाई जिताउने उहाँको भनाइ छ ।

Published on: 11 November 2022 | Gorkhapatra

Link

Back to list

;