s

सहरबाट फर्केर गाउँमा बाख्रापालन

Year of Publication: 1 July 2024 | Kantipur

Published by: CESLAM

बागलुङ — खेतीपातीले खान नपुगेपछि गाउँछाडेर परिवारै सहर पसेको १५ वर्ष भयो । त्यो बीचमा उनी ३ वर्ष त काम गर्न खाडी पुगे । परिवारका सदस्य त अझै काठमाडौंमै छन् । उनले भने गाउँ फर्केर मिहनेत रोजेका छन् । तीन वर्षको मेहेनतबाट उनले गाउँमै वार्षिक ७ लाख बढी कमाउन थालिसके ।

जैमिनी नगरपालिका–७ बोर गाउँका ३१ वर्षीय कुशल रानाले तीन वर्षदेखि बाख्रा पालेरै पुरानो ऋण तिरेर कमाइ गर्न थालिसकेको बताए । उनले जीर्ण घर मर्मत समेत गर्दैछन् । बोयर बाख्रा फर्मबाट कुशलले मनग्ये कमाइ थालेका हुन् ।

गाउँको झण्डै २० रोपनी जमिनमा उनले डाले घाँस र उन्नत जातको घाँस रोपिसकेका छन् । ‘वर्षौ सम्म बैदेशिक रोजगारीमा बसेर केही भएन, बरु गाउँमै केही गर्न सकिन्छ भन्ने हिम्मत बटुलेर काम थालेको हुँ,’ उनले भने, ‘अब बाख्रा पालेरै लाखौं कमाउन सक्ने संभावना देखेको छु ।’ उनले अहिलेसम्म फर्ममा २० लाख बढी लगानी गरिसकेको बताए । बाख्राका लागि उनले आधुनिक खोर समेत बनाइसकेका छन् । बाँझो बनेको बारी खनी खोस्रेर उन्नत जातको घाँस रोपेका छन् । डालेघाँसका रुख बारीको कान्लामा प्रशस्तै छन् । रानाको फर्ममा अहिले ७० बाख्रा पुगिसकेका छन् । १ सय बोयर बाख्रा पुर्‍याउने उनको योजना छ । यतिबेला उनको फर्म बोयर बोका उत्पादन गर्ने स्थल बनिसकेको छ । कम्तीमा ५० माउ पुर्‍याउन सकेमा वर्षमा १ सय बोका उत्पादन गर्न सकिने उनले बताए । एक वर्ष पालेको बोयर बोका बेचेर रानाले ४० हजारदेखि ५० हजार रुपैयाँसम्म कमाउन सकेको उनले बताए ।

बोयरको मासु अन्य खसीबोकाको तुलनामा महँगो छ । उन्नत जातको घाँस खुवाउँदा एकैवर्षमा बोयरका बोका ७० केजीसम्म हुने गरेको कृषि प्राविधिकले बताए । ‘एउटा युवा गाउँमै बसेर केही काम गर्छु भनेर मिहनेत गरेको देखेपछि हामीले पनि साथ दिएका छौं,’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले भने, ‘मेहेनत गरेकोले आधुनिक खोर बनाउन साथ दिएका छौं ।’ परियोजनाले दिएको ५ लाखमा झण्डै ५ लाख लगानी थपेर उनले १० लाख बराबरको खोर बनाइसकेका छन् ।

उनको मिहनेतका लागि जैमिनी नगरपालिकाले ४२ हजार पर्ने मकै पिस्ने मिलमा ५० प्रतिशत अनुदान दिएको छ । बाख्रालाई मकै पिसेर कुँडोको रुपमा दिने गरेको रानाले बताए । त्यसबाहेक घाँस काटेर टुक्रा पार्ने चापट मेसिनमा पनि परियोजनाबाटै रानाले अनुदान पाएका छन् । उनको मिहनेतबाट प्रभावित भए पनि परियोजनासहित नगरपालिकाले पनि आधुनिकीकरणका लागि साथ दिएको नगर उपप्रमुख हरिहर शर्माले बताए । ‘अनुगमनमा पनि कुशलको बाख्रा फर्म अब्बल देखिएको छ,’ शर्माले भने, ‘हामीले नमूना फर्मको रुपमा अबलोकन गर्न आउनेलाई पनि यहाँ पठाउने व्यवस्था गरेका छौं ।’ युवाले बैदेशिक रोजगारीबाट फर्केर राम्रो व्यवसाय गर्न खोज्दा साथ दिने नगरको नीति बनेको उनले बताए । काठमाडौंमा बस्दै आएका परिवारका सदस्यलाई पनि गाउँ फर्काउने तयारी गरेको रानाले बताए ।

उनको आधुनिक खोरमा बोका, माउ, पाठापाठी राख्ने छुट्टै कोठा बनेको छ । हावा खेल्ने झ्याल र घाँस र दाना खुवाउने टाट्नो र डुंँड पनि बनाएका छन् । फर्मबाट खसीबोका सजिलै बिक्री हुने गरेको रानाले बताए । बजारको चिन्ता गर्न नपरेको भन्दै उत्पादन बढाउने लक्ष्य राखेको सुनाए । कुशलको मिहनेतले युवालाई कृषि खेतीम आर्कषण गरेको स्थानीय बिष्णु थापाले बताइन् । गाउँगाउँमा सडक पुगेकोले खसीबोका सजिलै बजार पठाउन सकिने भएपछि ग्राहक गाउँमै आउने गरेका छन् । ‘पछिल्लो समय बाँदर आतंकले खेतीपाती छाडेका किसान पनि पशुपालनमा भने हौसिएका छन्,’ उनले भनिन्, ‘अब पशुपालनमा युवालाई गाउँ फर्काउन सबैले साथ दिनुपर्छ ।’ बैदेशिक रोजगारीमा गएका युवालाई रानाले सन्देश दिएपछि अन्य युवाले पनि गाउँ फर्केर कामगर्ने योजना सुनाएको स्थानीय पूर्णबहादुर रानाले बताए । ‘मलाइ पनि केही युवाले के गरौं भनेर सोधेका छन्,’ उनले भने, ‘आएर मौरी पाले पनि हुन्छ भनेर सल्लाह दिएको छु ।’ मौषमले साथ दिएमा बर्षमा ५ लाख कमाउन गाउँनै उपयोगी भएको उनको भनाइ छ ।

Published on: 1 July 2024 | Kantipur

Link

Back to list

;