s
Year of Publication: 21 August 2023 | Annapurna Post
Published by: CESLAM
स्याङ्जा : अनौपचारिक क्षेत्रमा रही सामाजिक सुरक्षा कोषमा मुलुककै नमूना बन्न सफल भएको छ स्याङ्जाको फेदिखोला गाउँपालिका।
सिद्धार्थ राजमार्गमा पोखरा महानगरपालिकासँग सिमाना जोडिएको फेदिखोला अन्यन्तै सुन्दर रमणीय क्षेत्र पनि हो। सुगम र सम्पन्न गाउँपालिकाका रूपमा चिन्न सकिने फेदिखोला यहाँँका अन्य पालिकाभन्दा भूगोल र जनसंख्यामा पनि सानो छ।
राम्रो पालिका हाम्रो पालिका बनाउने अभियानमा जुटेका गाउँपालिकाले मुलुकमै नमूना कामको सुरुवात गरेको छ। औपचारिक श्रमिकमा मात्र ध्यान दिँदै आएको अवस्थामा अनौपचारिक क्षेत्रलार्ई पनि सहभागी गराइ सामाजिक सेवामा क्रियाशिल बनाउने सोचको अभियानसँगै अघि बढेका पालिकाका अध्यक्ष घनश्याम सुवेदी सबैंका लागि नमूना बन्न सफल बने। त्यसो त, अनौपचारिक क्षेत्रमा रही सामाजिक सुरक्षा कोषमा भागिदार हुन पाएकोमा फेदिखोला गाउँपालिका–२ का जमुना खड्कामा खुसी थपिएको छ।
सरकारले अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउने गरी परियोजना कार्यान्वयन गरेपछि उनीलगायत यहाँँका सयौं श्रमिकमा खुसी छाएको हो।
श्रमजिवी वर्गलार्ई लक्षित गर्दै राज्यले सुरुवात गरेको यस्ता खालका कल्याणकारी सहयोगले आफूलगायत धेरै विपन्न परिवार लाभान्वित हुने उनी बताउँछिन्।
त्यसो त, फेदिखोला गाउँपालिकाले भने ३ वर्षअघि नै पालिकाले नै जिम्मा लिनेगरी श्रमिकका लागि संचित कोष स्थापना गरेको थियो। गाउँपालिकामा सूचिकृत श्रमिकको १५ प्रतिशत र पालिकाले पनि १५ प्रतिशत रकम थप गरेर मजदुर सञ्चित कोषमा सञ्चालनमा ल्याइएको अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए।
‘अहिलेसम्म ७ सय १४ जना पालिकाको संचित कोषमा आबद्ध छन्। अब उनीहरूसहित अन्य थप अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा आबद्ध रहेकालार्ई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनेगरी वडादेखि लक्षित समूहलार्ई प्रशिक्षण दिइने योजना अघि बढाइएको छ,’अध्यक्ष सुवेदीले भने।
अब, सरकारले तोेकेका न्यूनतम आधारभूत पारिश्रमिकको श्रमिकले ११ प्रतिशत र पालिकाले ९ दशमलब ३७ प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान छ। हालको ब्यवस्थाबमोजिम प्रतिश्रमिक मासिक १ हजार ९ सय १२ रुपैयाँ सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने हुन्छ।
अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने फेदिखोला गाउँपालिका देशकै पहिलो पालिका बनेकोमा स्याङ्जाबासी हर्षित छन्।
फेदिखोलाको अनुकरणीय कामको सिको यहाँँका ११ वटै पालिकाले गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जीटीको भनाइ छ।
Published on: 21 August 2023 | Annapurna Post
GET IN TOUCH