s
Year of Publication: 10 April 2023 | Kantipur
Published by: CESLAM
काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले श्रमजीवी वर्गको अधिकार सुनिश्चितताका लागि श्रम आयोग गठन गर्न अति आवश्यक रहेको बताएका छन् । आइतबार वीरगन्जमा नेपाल यातायात मजदुर संघको सातौँ महाधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले अहिले श्रमिकको सुरक्षा, पेन्सन र जीविकोपार्जनको समस्या समाधानमा सरकारले ध्यान पुर्याउन नसकिरहेको बताए ।
‘हामी समाजवाद उन्मुख भनेर संविधानमा लेख्छौँ । तर समाजवादको अनूभुति त त्यतिबेला मात्रै गर्न सकिन्छ, जतिबेला श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी हुन्छ,’ उनले भने ।
महाधिवेशनमा बोल्ने नेताहरूले श्रमिकहरूको माग पूरा गर्नका लागि हड्ताल गर्नुपर्ने परिस्थिति रहेको बताएपछि नेता कोइरालाले अब पहिलेको जस्तो हड्तालको सट्टा सामाजिक सञ्जालमार्फत् दबाब अभियान चलाउन सुझाव दिए ।
‘तपाईँहरु हड्ताल गर्ने कुरा गर्नुहुन्छ । तर, त्यो ठीक होइन । तपाईँहरू बरू सामाजिक सञ्जालमार्फत् संघर्ष गर्नुहोस् कि हरेक दिन सञ्जालमा श्रम आयोग बनाऔँ भनेर लेख्न थाल्नुहोस्,’ कोइरालाले अघि भने, ‘ताकि श्रम आयोग किन चाहिएको छ भनेर हाम्रो पार्टी सभापतिले, यो देशको प्रधानमन्त्रीले बुझ्न सक्नुहोस् ।’
उनले राजनीतिक दल र राज्य सञ्जालनका हरेक निकायमा श्रमिक वर्गको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने बताए । ‘नेपाली कांग्रेसको जन्म नै श्रमिक वर्गको अधिकार सुनिश्चितताका लागि भएको हो । त्यसैले श्रमिक वर्ग नै कांग्रेसको जन्मदाता हो,’ उनले भने, ‘नेपाली कांग्रेसले श्रमिकहरूको जीवनमै सुधार ल्याउन नसक्ने हो भने राजनीति केका लागि गर्ने ?’
उनले श्रमिक वर्गको संघर्षले मात्रै लोकतन्त्रलाई बलियो बनाउन मद्दत पुर्याउने बताए ।
Published on: 10 April 2023 | Kantipur
GET IN TOUCH