s

श्रमिकलाई सधैं उस्तै

Year of Publication: 9 March 2018 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

लीला श्रेष्ठ

अन्तर्राष्ट्रिय नारी दिवस

रामेछाप सुनपाती गाउँपालिका–५ रुपाकोटकी २५ वर्षीया सरिता मानन्धर सूर्यविनायक–८ जगातीस्थित एक इँटाभट्टामा काम गर्छिन् । बिहान १ बजे उठ्ने, इँटा बनाउने उनको नित्यकर्म नै हो ।

उनलाई के दिवस, के अधिकार । मुलुकभरका महिलाहरू बिहीबार १ सय ८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा इँटाभट्टाका मजदुर महिलाहरूलाई भने सार्वजनिक बिदासम्म पनि थाहा छैन ।
 
बिहानीको उज्यालो नझर्दै झयाउली (छाप्रो) बाट निस्केका उनीहरू धुलाम्य इँटाभट्टामा कोही इँटा बनाउँदै त कोही बोक्न व्यस्त छन् । ‘आफूले पाखुरा नबजारी खान पाउने होइन,’ उनले भनिन्, ‘के दिवस, के अधिकार, गरिबलाई दिवसले छुँदैन ।’ भूकम्पको धक्काले भत्किएको घर बनाउनेसपना बुन्दै ४ वर्षीय छोरासहित इँटाभट्टा छिरेको उनका पति/पत्नी बिहान १ बज्दा नबज्दै इँटा पार्न (बनाउन) निस्कन्छन् ।
 
सुर्खेत धारापानीकी ३१ वर्षीया वसन्ती पुनमगर चाँगुनारायण–९ ताथलीस्थित एक इँटाभट्टामा काम गर्छिन् । उनका पतिसहित १० र १६ वर्षीया दुई छोरासँगै आएका छन् । १३ वर्षकै उमेरमा विवाह गरी १५ वर्षमै छोरालाई जन्म दिएकी वसन्तीका १६ वर्षीय छोरा ओमप्रकाशसँगै इँटा बनाउँछन् । उनले कक्षा ७ मै पढाइ छोडे । वसन्तीका अर्का छोरा १० वर्षीय अशोक कक्षा ३ को पढाइ छोडेर अभिभावकसँगै भक्तपुर आएका हुन् । ‘छोरा पढाइमा लगनशील थियो, गाउँमा गरी खाने स्रोत छैन,’ उनले भनिन्, ‘आफैंसँग ल्याउँदा विद्यालय जानबाट वञ्चित भयो ।’ इँटाभट्टा नजिक विद्यालय नभएको र वैशाखपछि गाउँमै पढाउने उनले बताइन् । पढ्ने उमेरका सन्तानका साथ इँटा बनाइरहेकी वसन्तीले प्रतिप्रश्न गरिन्, ‘हाम्रो परिश्रम र पसिनाको मूल्यांकन गर्ने निकाय पनि छ ?’ दिनरात इँटाभट्टाको मजदुरीमा लागेका महिलालाई महिला दिवस कहिले र किन मनाइन्छ, पत्तो छैन । ‘हामी कामदारलाई बारसम्म याद हुँदैन, कसरी दिवस थाहा हुनु,’ सिन्धुली मरिनछाप गाउँपालिका–३ कमवतीकी गंगा वाइबाले भनिन्, ‘हामीलाई कामको मात्र याद हुन्छ, जेबिना हामी भोकै हुन्छौं । न हामीलाई आफ्नो अधिकारको बारेमा थाहा हुन्छ, न हामीलेआफ्नो सन्ततीलाई अधिकार सिकाउन सकेकाछौं । अधिकार अधिकार भनेर भएन, बाँच्ने आधार पनि त चाहियो ।’ १० दिनमा एक दिन बिदा पाउने गरेको उनले बताइन् ।
 
घरबास छोडेर इँटाभट्टाको झयाउली छिरेका महिलाहरू पुरुषसरह बिहान सबेरै उठी घाम झुल्किने बेलासम्ममा एक हजारदेखि १५ सय इँटा पार्ने गरेको बताउँछन् । इँटाभट्टामा कार्यरत महिलाको काँधमा बालबच्चा हुर्काउने जिम्मेवारी पनि उत्तिकै चुनौती छ । ‘जताततै माटो मुछ्न कृत्रिम पोखरी स्थापना गरेको छ, बच्चा जोगाउनै मुस्किल छ,’ सल्यान कालिमाटी रामपुरकी शारदा डाँगीले भनिन्, ‘साना दुई वर्षको छोरा छ, कामसँगै उसकै गोठालो बस्नुपर्छ ।’ इँटाभट्टामा कार्यरत मजदुरको बालबालिका खुला रूपमा छोडिएको अस्थायी पोखरीका कारण असुरक्षित रहेको उनीहरूको गुनासो छ । प्रत्येक वर्ष इँटाभट्टाको पोखरीमा बालबालिका डुबेर मत्यु हुने गरेको छ ।इँटाभट्टामा ज्यालाको भनेकुनै विभेद नरहने भएकालेकामको समान मूल्यांकन हुने गरेको उनीहरू बताउँछन् ।
 
Published on: 9 March 2018 | Kantipur

Back to list

;