s
Year of Publication: 7 January 2022 | Nagarik
Published by: CESLAM
मुलुकमा बेरोजगारी समस्या बढिरहेका बेला उद्यमशीलता विकास गर्दै रोजगारी सृजना गर्नका लागि युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले सहकार्य गर्ने भएका छन्।
दुई निकायले बेरोजगार युवालाई सीप सिकाएर पुँजी उपलब्ध गराई उद्यमी बनाउनका लागि सघाउने भएका हुन्। सिटिइभिटीले तालिम दिएका सीपयुक्त जनशक्तिलाई स्वरोजगार कोषले सहुलियत कर्जा उपलब्ध गराएर उद्यमी बनाउन सहकार्य गर्ने विषयमा दुई निकायबीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र सिटिइभिटीका सदस्य सचिव जीवनारायण काफ्लेले हस्ताक्षर गरेका हुन्।
परिषद्ले सीप सिकाउने छ भने कोषले पुँजी प्रदान गर्नेछ। युवालाई स्वरोजगार बनाई आत्मनिर्भर अर्थतन्त्रमा सघाउ पुग्ने कोषका कार्यकारी निर्देशक अधिकारीले बताए। ‘सिटिइभिटीले सीप सिकाउँछ, हामीले पुँजी उपलब्ध गराउछौं,’ उनले भने, ‘यसले उद्यमशीलता विकासमा सघाउ पुग्छ ।’ कोषले यो वर्ष करिब १२ हजार रोजगारी सृजना गर्ने लक्ष्य लिएको अधिकारीले बताए।
विदेशमा सीप आर्जन गरेर स्वदेश पर्केका निम्न वर्गीय परिवारका युवालाई बिनाधितो सहुलियत दरमा कर्जा उपलब्ध गराउने कोषले जनाएको छ। ‘परिषद्ले सीप सिकाउँछ,’ कार्यकारी निर्देशक अधिकारीले भने, ‘सीपयुक्त युवालाई कोषले बिउ पुँजी उपलब्ध गराउँछ।’
वार्षिक श्रम बजारमा आउने युवाहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षा, सीपमूलक तालिम र उद्यमशीलताको विकासमार्फत रोजगारी सृजना गर्न सघाउ पुग्ने सदस्य सचिव काफ्लेले बताए। वैदेशिक रोजगारीबाट सीप, अनुभव र पुँजीसमेत आर्जन गरी स्वदेश फर्किएका युर्वा उद्यमशीलतासँग जोडिनेछन्।
उद्योगी, व्यवसायी एवं रोजगारदाताको सहभागितामा पहिचान भई आएका पेसा तथा व्यवसायलाई सघाउने योजना रहेको छ। श्रम बजारको माग, स्थानीय स्तरको आवश्यकता र युवाहरूको चाहना र क्षमताअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा र सीपमूलक तालिममार्फत पनि रोजगारी सृजना गर्ने तयारी रहेको छ।
सिटिइभिटी माताहतका निकायबाट करिव वार्षिक ५० हजारलाई विभिन्न प्रकारका सीपमूलक तथा प्राविधिक शिक्षा दिँदै आएको छ। यता स्वरोजगार कोषले यो वर्ष १ अर्ब २० करोड रूपैयाँ लगानी गरेर करिब १२ हजार युवालाई स्वरोजगार बनाउने तयारी गरेको छ। पुँजी अभावले बेरोजगार बनेका युवालाई रोजगार बनाउनका लागि न्यून ब्याजदरमा रकम दिने कोषले जनाएको छ।
कोषले अहिलेसम्म रोटेसनमा करिब नौ अर्ब रूपैयाँ लगानी गरेर करिव ९८ हजार रोजगारी सृजना गरेको छ। कोषले लगानी गरे पछि कृषि, घरेलु उद्योग, रिक्सा, अटोरिक्सा, ठेलागाढा व्यवसाय, दूधजन्य व्यवसाय, प्लम्बिङ, इलेक्ट्रिसियन, साना तथा घरेलु व्यवसाय गरेर उद्यमी बनेका छन्। त्यसैगरी, सिकर्मी, डकर्मी, रङरोगन, शिल्पकार, खुद्रा तथा किसाना पसल सञ्चालन गरेका छन्।
कोषले ३.२ प्रतिशत ब्याजमा कर्जा दिएर उद्यमशीलता विकास गर्न सघाएको छ। मुलुकका ७५ जिल्लामा कोषले करिब १६ सय सहकारी, वैंक, लघुवित्त संस्थामार्फत लगानी गर्दै आएको छ। स्वरोजगारमूलक उद्यमका लागि प्रस्तावका आधारमा ऋण लगानी गर्ने अधिकारीले बताए। कोषले बैंक तथा वित्तीय संस्थालाई अधिकतम ५ करोड रूपैयाँ र सहकारीलाई कम्तीमा २० लाख र बढीमा एक करोड रूपैयाँ कर्जा दिन्छ।
कोष र वित्तीय संस्था तथा सहकारी संस्थालाई पहिलो किस्तामा ५० प्रतिशत र दोस्रो किस्ता ५० प्रतिशत रकम दिन्छ। सोही रकमलाई आवश्यकता अनुसार बिना धितो लगानी गर्छन्। यसले एक गाउँ एक उत्पादन र एक परिवार एक रोजगार परियोजना पनि अघि बढाएको छ।
व्यक्तिलाई बढीमा दुई लाख रूपैयाँ लगानी गर्ने व्यवस्था छ। स्वरोजगारमूलक उद्यम गर्न चाहनेले आफूलाई अनुकुल हुने गरी सहकारी तथा बैंकमा प्रस्ताव पेश गरेर स्वीकृत भएपछि रकम पाउँछन्। व्यक्तिगत मात्र नभएर समूहमा पनि लगानी गर्ने गरिएको छ।
Published on: 7 January 2022 | Nagarik
GET IN TOUCH