s

स्वरोजगारका लागि १६ हजार युवालाई सिपमुलक तालिम दिइंदै

Year of Publication: 18 March 2018 | Setopati

Publication Type: NEWS

Published by: CESLAM

सरकारले आर्थिक विपन्न युवालाई स्वरोजगार गराउने उद्देश्यले १६ हजारलाई सीपमूलक तालीम दिने भएको छ।गरिबी, सुविधाविहीन, अति  सीमान्तकृत तथा सीमान्तकृत जनजाति दलित र अपांगता भएकालाई पहिलो चरणमा उपत्यकाका चार हजार र उपत्यका बाहिरका १२ हजार युवालाई सीपमूलक तालीम दिन थालिएको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)का परियोजना प्रमुख टेकनारायण पाण्डेले बताए।
 
उपत्यका बाहिरका ४६ वटा जिल्लाका युवालाई भने तालीम शुरु गरिसकिएको छ। उनीहरुलाई छोटो अवधिको तालीम दिई रोजगारीमा लाग्न र स्वरोजगार बनाउनका लागि तालीम दिन थालिएको उनले बताए।
 
उक्त तालीम प्रवेशिका अनुत्तीण गरेका १६ देखि ४० वर्ष उमेर समूहलाई दिन लागिएको हो। युवालाई विल्डिङ इलेक्ट्रिसियन, इण्डिष्ट्रियल इलेक्ट्रिसियन, मोटरसाइकल सर्भिस, मेकानिकल, जुनियर कम्प्युटर हार्डवेर टेक्निसियन, मोबाइल मर्मत, भारतीय कुक, ब्यूटिसियन जस्ता तालीम दिन दिइने छ।
 
इभेन्ट परियोजना प्रमुख पाण्डेले तालीम दिन युवाको छनोट सकेर सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका चार हजारलाई भौचर वितरण गर्न थालिएको बताए।
 
भौचर लिइसकेपछि छनोटमा परेकाले तालीम प्रदायक संस्थाकहाँ गएर तालीम लिनसक्ने छन्। तीन महिने उक्त तालीम उपत्यका बाहिर भने शुरु भइसकेको परियोजना प्रमुख पाण्डेले बताए।
 
तालीम लिइसकेपछि ती युवाले लिएको तालीमको सीप परीक्षण केन्द्रबाट सीप परीक्षण गर्ने परियोजना उपनिर्देशक दिनेश खनालले बताए। ‘‘तालीम दिइसकेपछि उक्त संस्थाले नै तालीम लिएका युवालाई रोजगारी दिनेछन्’’ उनले भने।
 
इभेन्टले विश्व बैंकसँगको सहकार्यमा पाँच वर्षभित्र मुलुकका एक लाख १५ हजार युवालाई तालीम दिनेछ।
 
सन् २०११ बाट इभेन्टले बेरोजगार युवालाई रोजगार बनाउनका लागि छोटा अवधिका तालीम सञ्चालन गदैआएको छ। इभेन्टले अहिलेसम्म ८७ हजार पाँच सय युवालाई छोटा सीपमूलक तालीम दिइसकेको छ।  रासस
 
Published on: 18 March 2018 | Setopati

Back to list

;