s
Year of Publication: 7 November 2018 | Annapurna Post
Publication Type: NEWS
Published by: CESLAM
उद्योग वर्ष घोषणा गरेको प्रदेश ३ लाई पहिलो गाँसमै ढुंगा लागेको छ। पहिलो वर्षलाई उद्योग वर्ष मनाउन कच्चा पदार्थ र दक्ष कामदार अभाव, सीमित औद्योगिक बजारलगायत एक दर्जन चुनौती छन्। एक सय १९ स्थानीय तह भएको प्रदेश ३ ले उच्च उत्पादन लागत, उद्योग स्थापनाका लागि जग्गा प्राप्तिमा चुनौती, रुग्ण उद्योग पुनर्स्थापना, अन्तर्राष्ट्रिय बजारको मागअनुसार ठूलो परिणाममा उत्पादन, बाह्य लगानी र प्रविधिको प्रयोग र प्रदूषण नियन्त्रण गर्नुलाई चुनौतीको रूपमा विश्लेषण गरेको छ।
नेपालका ११ औद्योगिक क्षेत्रमध्ये प्रदेश ३ मा चारवटा छन्। प्रदेश ३ को नीति तथा योजना आयोगले बनाइरहेको आवधिक योजना आधारपत्र तर्जुमाका क्रममा सबै स्थानीय तहलाई ‘ब्रिफिङ’ गर्दै विज्ञ डा. गोविन्द नेपालले मंगलबार भने, ‘प्रदेश ३ ले पहिलो वर्षलाई उद्योग वर्षका मनाउने घोषणा गरेको छ तर मुख्य ६ वटा चुनौती चिर्नुपर्ने देखिन्छ जुन सहज छैन।’
प्रदेशका चार औद्योगिक क्षेत्रमा पाँच हजार ६३ ठूला उद्योग छन्। यसमध्ये ऊर्जामूलक एक सय १८, उत्पादनमूलक उद्योग एक हजार पाँच सय ९९, कृषि तथा वन पैदावारमा आधारिक दुई सय ५८ र सेवामूलक एक हजार सात सय ६९ छन्। यस्तै साना तथा घरेलु उद्योगको संख्या ९९ हजार आठ सय १९ छन्। यसमध्ये सेवामूलक उद्योग ४३ हजार दुई सय ९८, उत्पादनमूलक उद्योग २६ हजार नौ सय ५१, पर्यटन उद्योग १५ हजार पाँच सय ८७ र कृषि तथा वनजन्य उद्योग १२ हजार ६ सय छन्।
उद्योग वर्षका लागि प्रदेश सरकारले औद्योगिक क्षेत्रमा गुणस्तरीय पूर्वाधार र व्यवस्थापनका लागि संघीय सरकारसँग सहकार्य गर्ने र निजीक्षेत्रलाई प्रोत्साहन गर्न उद्योग क्षेत्रमा पहुँचमार्ग, विद्युत् लाइन र सञ्चार सञ्जालको विस्तार गर्ने भएको छ।आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले उद्योगको विकास तथा प्रवद्र्धन गर्न कोषको स्थापना गरिने जानकारी दिए। उनले अन्नपूर्णसँग भने, ‘प्रत्येक जिल्लामा बहुविषयगत उद्यमशीलता विकास गर्न प्राविधिक तालिम केन्द्र र व्यवस्थित औद्योगिक पार्कको निर्माण गर्ने काम हुँदैछ।’
उद्योगलाई प्रवद्र्धन र दिगो बनाउन प्रदेश सरकारले झन्झटमुक्त उद्योग दर्ता, अनुमति, नवीकरण, खारेजी प्रक्रियाको कानुनी सुनिश्चितता गर्नेदेखि कृषि तथा गैरकाष्ठमा आधारित प्रशोधन उद्योगलाई प्राथमिकता दिने भएको छ। प्रदेश सरकारले स्थानीय सरकारसँग मिलेर सहकारीमा आधारित साना, घरेलु एवं कुटीर उद्योगलाई प्रोत्साहन गर्ने योजना बनाएको छ।देवकोटाले छिमेकी देश भारत र चीनमा ठूला बजार रहेको भन्दै स्वदेशी र विदेशी लगानीका लागि अनुकूल वातावरण बनाउन सकिने जानकारी दिए।
उद्योगको विकासले पूर्वाधार निर्माणमा लगानी बढ्दै जाने काम हुने प्रदेशको भनाइ छ। सानाठूला र थोरैधेरै जेजति र जस्तो अवस्थामा भए पनि प्रदेशका १३ वटै जिल्लामा उद्योग सञ्चालनमा छन्। यसमध्ये सबैभन्दा बढी काठमाडौंमा तीन हजार दुई सय ६१ र ललितपुरमा दुई हजार ६ सय ७६ रहेको उद्योग विभागको तथ्यांक छ।
Published on: 7 November 2018 | Annapurna Post
GET IN TOUCH