s

युवा नजोगाउने देश

Year of Publication: 14 August 2024 | Nagarik

Published by: CESLAM

कुनै पनि मुलुकको मेरूदण्डका रूपमा युवालाई लिइन्छ। युवा देश विकासको प्रमुख आधारस्तम्भ हुन। सामाजिक, आर्थिक, राजनीतिकरूपमा युवाको योगदानविना देशको विकास प्रायः असम्भव छ।

युवासँग जोश, जाँगर, शक्ति, प्रतिबद्धता र केही गर्ने हुटहुटी हुन्छ। युवा उमेरमा जे पनि गर्न सक्ने आँट पनि युवासँग उत्तिकै हुन्छ। कुनै पनि मुलुकको भविष्य पनि युवा जमातको भविष्यसँगै जोडिएको हुन्छ। बदलिँदो परिवेशमा कुनै पनि मुलुकको प्रतिष्ठा पनि युवाको सफलता र असफलता योगदानको आधारमा अन्तराष्ट्रिय जगत्ले मूल्यांकन गर्ने गर्छ। त्यही भएर युवाहरूमाथिको लगानीमा जोड दिएको पाइन्छ। युवामाथि लगानीबिनाको सफलता र उपलब्धि खोज्नु गैरजिम्मेवारपन हो। लगानी नगर्ने तर युवाहरूबाट गुणात्मक परिणाम खोज्नु कदापि उचित मान्न सकिँदैन।

युवाहरूको योगदानलाई बर्सेनि उत्सवका रूपमा मनाउन अगस्ट १२ लाई अन्तराष्ट्रिय युवा दिवसको रूपमा मनाइने गरिन्छ। प्रत्येक वर्ष नयाँ नयाँ मुद्दा र विषयमा आधारित भएर युवाको शारीरिक, मानसिक र बौद्धिक विकास र योगदान प्रवर्द्धन गर्नका लागि संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वव्यापीरूपमा भव्यताका साथ विभिन्न क्रियाकलाप गरेर मनाइन्छ। उक्त अवसरमा युवाहरूको मुख्य मुद्दा शिक्षा, स्वास्थ्य, रोजगार, व्यवसायी, लगानी जस्ता अवसर र चुनौतीबारे स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा ध्यान केन्द्रित गराउने कार्य हुँदै आएको छ। यति हुँदाहुँदै पनि युवाहरूसामु विकराल समस्या छन्। युवा केवल एक वस्तुका रूपमा प्रयोग हुँदै आएका देखिन्छ।

युवाका सही समस्या पहिचान र समाधानका लागि उचित पहल हुन सकेको छैन। लगानी पनि अपेक्षाकृतरूपमा हुन सकेको छैन। ब्रेन ड्रेनको मुख्य समस्याबाट युवा गुज्रिनुपरेको छ। युवाहरूमा निराशाका भाव सर्वत्र देखिन्छन्।

विश्वका अन्य भागका युवाभन्दा नेपालका युवाका पनि अनेकन समस्या छन्। नेपालका युवा एक होइन कि अनेकन समस्याबाट पीडित रहेका कटु सत्य नकार्ने ठाउँ छैन। नेपालको सन्दर्भमा युवाका समस्या एउटै उदाहरण काफी हुन सक्छ, यसका लागि हामीले धेरै अध्ययन र अनुसन्धान गर्नै पर्दैन।

दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारका लागि थोरै पैसामा श्रम बेच्न बाध्य भएर विदेशिनुपरेको पीडादायी अवस्था छ। घर/परिवार, आमा/बाबु, श्रीमती र छोरा/छोरीका लागि विदेशिनु युवाहरूको रहर होइन कि बाध्यता हो। किनभने देशमा रोजगारको अवसर छैन। हातमुख जोड्न हम्मेहम्मे छ। देशमा अन्य उद्यमको तुलनामा राजनीतिक उद्यमले झन् युवाहरू विक्षिप्त अवस्थामा पुगेका छन्।

देशका राजनीतिक दलका पछि लागेका युवाले यदाकदा अवसर पाए पनि सामान्य युवाले वर्तमान र भविष्य पनि संकटमा रहेको अनुभूत गरिरहेका छन्। पूर्णकालीन राजनीतिमा लागेका युवाले यदाकदा नेतृत्व गर्ने अवसर प्राप्त गरे पनि त्यो केवल टोकनका रूपमा मात्रै प्राप्त गर्ने गरेका छन्। बाँकी ९५ प्रतिशत युवा छन् जसले सामान्यभन्दा सामान्य अवसर पनि पाउन सकेका छैनन्।

आजको मूलभूत प्रश्न के हो भने युवाका यावत् समस्या किन समाधान हुन सकिरहेको छैन ? यसका बाधक को हुन ? किन युवाका समस्या राज्य सञ्चालकहरूको प्राथमिकतामा पर्दैनन्। करिब ५० लाख युवा जो विदेशी भूमिमा पसिना बगाउन बाध्य भएर बस्नुपरिरहेका छन्। उनीहरूको भविष्य र वर्तमानको बारेमा गम्भीर किन हुन सकिरहेका छैनन् ?

विदेशिएका युवाको कमाइ रेमिट्यान्समा रजाइँ गर्ने राज्य सञ्चालकले दिनहुँ प्राणपखेरु उडेर बाकसमा बन्द भई आएका उनीहरूको परिवारका सदस्यको पीडा किन बोध गर्न सकिरहेको छैन ? युवालाई देशमा रोक्न सकिएन भने एक दिन वृद्धवृद्धाको आश्रमका रूपमा परिणत हुन बेर लाग्दैन। देशलाई वृद्धाश्रम बनाउने कि युवाश्रम ? अब पनि सोच्न ढिला गर्नुहुँदैन।

राज्यले रोजगारीको अवसरको के कुरा गर्नु ? गुणस्तर शिक्षा पनि दिन सकिरहेको छैन। अब त हुँदाहुँदै नेपालका विश्वविद्यालय र कलेजहरू पनि खाली हुन थालेका छन्। कलेज छन् तर विद्यार्थी छैनन्। विद्यार्थी कक्षा १२ को प्रमाणपत्र हात पर्नेबित्तिकै देशबाट पलायन भइरहेका छन्। त्यसको खोजीमा लाग्छन्। उनीहरू उच्च शिक्षाका लागि नेपालका विश्वविद्यालय वा कलेजका पाठ्यक्रमभन्दा पनि बाबु/आमाको जायजेथा, ऋणको भारी बोकी जसरी पनि विदेशिनु एकमात्र अर्जुनदृष्टि बनाएका छन्।

सक्नेहरू युरोप, अमेरिका, क्यानडा जान्छन्, मध्यम आय स्तर भएकाहरू जापान, कोरिया जस्ता देश जान्छन् भने आर्थिक अवस्था कमजोर भएका युवा सयकडाको पाँचले चर्काे ब्याजदरमा ऋण लिएर ५० डिग्री भन्दा चर्काे तापक्रममा खाडी मुलुकमा काम गर्न सुन्दर भविष्यको अनेक सपना बोकेर कलिलै उमेरमा विदेशिन्छन्। देश र समाजको हितमा ऊर्जावान समय खर्चिने बेला विदेशी भूमिमा पसिना बगाउने युवा जमातमा आफ्नै देशप्रति कस्तो मनोभाव विकास हुन्छ होला ? सोचनीय छ।

Published on: 14 August 2024 | Nagarik

Link

Back to list

;