s

अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या

धनकुटा — अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या भएको छ । ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डेको उनकै अपार्टमेन्टमा गोली हानी हत्या गरिएको हो ।

पाण्डेलाई सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार साँझ ५:३५ बजे ह्युस्टन प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको थियो । ह्युस्टन प्रहरीले विज्ञप्ति जारी गर्दै पीडितलाई अपार्टमेन्टभित्र धेरैवटा गोली लागेको अवस्थामा मृत फेला पारिएको बताएको छ ।

भोजपुरकी पाण्डे सन् २०२१ मा स्नातक अध्ययनका लागि अमेरिका गएकी थिइन् । उनी ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषयमा अध्ययनरत रहेको नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले जानकारी दिए । पाण्डे सुरुमा नेपालबाट गएकी साथीसँगै बसेकी थिइन् । केही समययता भने एक्लै अपार्टमेन्टमा बस्थिन् ।

हाल काठमाडौंको काँडाघारीमा बसोबास गरिरहेकी मुनाकी आमा अनिता पाण्डेका अनुसार छोरीको हत्याबारे उनले मंगलबार बिहान खबर पाएकी थिइन् । ‘मंगलबार सबेरै छोरीकी साथीले मुनाको मृत्यु भएको बताइन्, फोन गर्ने साथीले उताबाट भक्कानिँदै खबर सुनाएपछि होसहवास नै उड्यो,’ उनले भनिन्, ‘सुन्नेबित्तिकै खुट्टा काम्यो र म अचेत भएँ ।’

अनितालाई एकमात्र छोरीको मृत्युको खबर गलत भइदिए हुन्थ्यो भन्ने लागेको छ । ‘मेरो सहारा, सर्वस्व गुमेको छ । अब के गर्ने, केही सोच्नै सकेको छैन,’ उनी भन्छिन् । अमेरिकाबाट खबर गर्नेले चार दिन पहिले नै उनको हत्या भइसकेको भन्ने जानकारी प्रहरीबाट प्राप्त भएको सुनाएका छन् । ‘कहिलेकाहीं घुम्न गएका बेला कुराकानी कम हुन्थ्यो,’ उनले भनिन्, ‘कतै घुम्न गएको होला भन्ने ठानेकी थिएँ, आखिर अकल्पनीय भयो ।’ उनका अनुसार अमेरिका गएको दुई वर्षसम्म मुना नेपालकै स्कुले साथीसँग अपार्टमेन्टमा सँगै बस्ने गरेकी थिइन् । एक वर्षअघि साथी कामका कारण अन्यत्र सरेपछि मुना एक्लै बस्दै आएको आमा अनिताले बताइन् ।

अनिताका अनुसार पछिल्लो समय मुनाले एक अमेरिकी श्वेत युवकसँग प्रेमसम्बन्ध रहेकोबारे परिवारलाई समेत सुनाएकी थिइन् । तर पछिल्लो अवस्थाबारे भने उनी स्पष्ट छैनन् ।

मुना २०२१ अगस्टमा अमेरिका गएकी थिइन् । त्यसयता नेपाल आएकी थिइनन् । ‘अर्को वर्ष पढाइ सकेपछि आउँछु भन्थी,’ अनिताले भनिन्, ‘तर, अब कहिल्यै नआउने गरी गई ।’ श्रीमान् श्यामनारायण पाण्डेसँग डिभोर्स भएपछि अनिता छोरीसँग काठमाडौंको काँडाघारीमा बस्दै आएकी थिइन् । उनको माइती घर भोजपुरको साल्पासिलिछो–३, चौकीडाँडा हो भने पूर्वश्रीमान्को घर संखुवासभाको खाँदबारी नगरपालिका–२, चेवा हो । तर उनी केही वर्षयता बसाइँसराइ गरेर सुनसरीको इटहरी–२, हलगाडमा बस्दै आएका छन् । ‘छोरी अमेरिका गएपछि भाइकी छोरी मसँगै बसिरहेकी छ,’ उनले भनिन् ।

अनिताले छोरीको हत्यारा पहिचान गरेर कडाभन्दा कडा कारबाही हुनुपर्ने बताएकी छन् । ‘छोरीबाट मैले ठूलो भरोसा राखेका थिएँ, मुना पढाइमा तेजिलो थिइन्,’ उनले भनिन्, ‘हत्यारालाई कारबाही हुनुपर्छ ।’

छोरीको मृत्युको खबर सुनेको केहीबेरपछि अनिताले धनकुटामा रहेका आफ्ना दाजु हरि अधिकारीलाई फोन गरेर बताएकी थिइन् । मामा हरिका अनुसार मुना बाल्यकालदेखि बर्सेनि मामाघर आउने गर्थिन् तर उच्च शिक्षाका लागि काठमाडौं गएपछि भने भेटघाट कम भएको थियो । ‘मंगलबार बिहानै खबर थाहा पाउनासाथ अनिताले मलाई कल गरेर सुनाइन्, सम्हाल्न सक्ने अवस्था थिएन,’ उनले भने, ‘त्यसपछि काठमाडौंमा रहेका आफन्तजनलाई खबर गरेर पठाएँ ।’ अनिता पछिल्लो समय आमा विष्णुमाया अधिकारी र कान्छा भाइको छोरी अनिशासँग सँगै बस्दै आएकी छन् ।

Published on: 29 August 2024 | Kantipur

Link

Back to list

;