s
धनुषा — श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जानेलाई धितो बिना ऋण दिने प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।
'सरकारले ल्याएको मौद्रिक नीतिअनुसार बिनाधितो ऋण दिने प्रक्रिया अगाडि बढाइएको छ,' मन्त्री भण्डारीले भने,‘साहु महाजनबाट कर्जा लिएर वैदेशिक रोजगारीमा जानु पर्ने अवस्थाको अन्त्य हुँदैछ । गन्तव्य देशको लागत खर्च तोकेर बैंकबाट बिनाधितो ऋणको प्रक्रिया अगाडि बढाइएको हो । विदेशबाटै २ वर्षमा २४ किस्ता बुझाएर ऋण चुक्ता गर्ने व्यवस्था गरिएको छ ।’
उनले बैंकबाट सहज रुपमा ऋण पाउँदा लागत खर्च घट्ने र ठगीको घटनासमेत न्यूनीकरण हुने विश्वास व्यक्त गरे । महोत्तरीको बर्दिबासमा शुक्रबार वैदेशिक रोजगार विभागले रोजगार अनुमति प्रणली (ईपीएस)मार्फत दक्षिण कोरिया जान चाहनेहरुको लागि कोरियन भाषा परीक्षा मर्यादित, पारदर्शी र निष्पक्ष सञ्चालन हुने विषयक अन्तरक्रियामा मन्त्री भण्डारीले रोजगारीको विकल्प वैदेशिक रोजगारी रहेको र वैदेशिक रोजगारी व्यवस्थित, सुरक्षित, आकर्षक र मर्यादित बनाउन मन्त्रालय सक्रिय रहेको बताए ।
उनले चेतना अभावमा नजानेर मधेशीहरु वैदेशिक रोजगारमा जाँदा ठगिने गरेको उल्लेख गरे । 'अन्य प्रदेशका नागरिक जानीजानी दलालमार्फत प्रतिबन्धित देशमा जान खोज्दा ठगिन्छ,' मन्त्री भण्डारीले भने,‘मधेशीहरु चेतना अभावमा ठगिएका छन् । विदेश जाँदा चेतना बढाएर जानुपर्छ ।’ बजारमा रहेको रोजगारको अवसरमा सबैको समान पहुँच आवश्यक रहेको समेत उनको जोड थियो । मन्त्री भण्डारीले सुरक्षित र जानकारी लिएर अन्य देशभन्दा कोरिया जान मधेश प्रदेशका स्थानीय तहले नागरिकलाई सचेत बनाउनु पर्ने बताए ।
कोरिया ४ वर्ष बसेर रोजगार, पुँजीसँगै सीपसमेत सिक्ने अवसरबाट मधेश प्रदेशका नागरिक बञ्चित रहेको उनको भनाइ थियो । अन्य देशभन्दा सुरक्षित, व्यवस्थित र राम्रो कमाई हुने दक्षिण कोरिया जानेहरुमध्ये मधेश प्रदेशबाट सबैभन्दा कम रहेको उनले बताए । वैदेशिक रोजगामा सबैभन्दा बढी जाने जिल्लाहरु भएको प्रदेशमा कोरिया भाषा सिकाउने प्रशिक्षण केन्द्र नहुनु दुर्भाग्य भएको मन्त्री भण्डारीले बताए ।
'वैदेशकि रोजगार रहरभन्दा पनि बाध्यता रहेकोले विदेश सुरक्षित कसरी जाने मधेशको प्रमुख समस्या हो,' मन्त्री भण्डारीले भने,‘श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा श्रम र वैदेशकि रोजगार महाशाखामात्रै छ । अन्तर रोजगार महाशाखा थप्दै छौं । यो शाखाले विदेशबाट फर्किएकाहरुको सीप कसरी सदुपयोग गर्न सक्ने विषयमा अध्ययन गरी अगाडि बढ्ने छ ।’
वैदेशिक रोजगारीको क्रममा ठगी भएको भन्दै ६ हजार २ सयभन्दा बढी उजुरी काठमाडौंमा मात्रै रहेकोले कानुन बनाएर दोषीलाई कारबाही गर्ने तयारी मन्त्रालयले गरेको भण्डारीले बताए ।
कार्यक्रममा मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले कोरिया भाषा सिक्न मधेश प्रदेशका ८ वटै जिल्लामा प्रशिक्षण केन्द्र स्थापना गर्नुपर्ने बताए । शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीले सीप र भाषा सिकेरमात्रै वैदेशिक रोजगारीमा जानु पर्ने चेतना स्थानीय तहमा हुने रोजगार शाखाले दिनु पर्ने बताइन् ।
नेकपा एमालेकी प्रदेश सांसद शारदा थापाले विदेश जान चाहनेलाई रोक्न नसके पनि रोजगारीको अवसर ल्याएर वैदेशिक रोजगारीमा जाने समूहलाई मुलुकमै रोक्ने समय आएको बताइन् ।
कार्यक्रममा महोत्तरीका स्थानीय तहका प्रमुख, उपप्रमुख, स्थानीय तहका रोजगार संयोजकहरु, शिक्षक र महिला स्वास्थ्य स्वयंसेविकाहरु सहभागी थिए ।
Published on: 26 August 2024 | Kantipur
GET IN TOUCH