s
वैदेशिक रोजगारमा पुगेका श्रमिकलाई कतिपय रोजगारदाताले राम्रै व्यवहार गरेका छन् भने कतिपयले अत्यन्त निकृष्ट व्यवहार गर्न पछि परेका छैनन्। रोजगारदाता कम्पनी लिन नआउँदा कैयौँ दिनसम्म विमानस्थलमै अलपत्र पर्नुपरेको छ।
सम्झौतापत्रमा उल्लेख भएअनुरूपको पारिश्रमिक तथा अन्य सेवा/सुविधा उपलब्ध गराउन आनाकानी गरिएको छ। सम्झौतापत्रमा उल्लिखितभन्दा कठिन कार्य गर्न बाध्य गरिएको छ। आवश्यकता वा चाहनाअनुरूप स्वदेश फिर्ता, रोजगारदाता वा कार्य परिवर्तन गर्ने छूट दिइएको छैन्। कार्य गर्दागर्दै बीचैमा स्वदेश फर्कनुपर्दा कार्य गरेको अवधिको पारिश्रमिक गुमाउनुपरेको छ।
वैदेशिक रोजगार व्यवसायी तथा एजेन्टद्वारा अनेक रूपमा ठगी, बेइमानी, धोका तथा बदमासी गरिएको छ। खासगरी श्रमिकबाट मनपरी रकम असुल गरिएको मात्र छैन, विनारसिद कामदारबाट अग्रिम रकम लिने गरिएको छ। नक्कली सम्झौतापत्र तयार गर्ने मात्र गरिएको छैन, सम्झौतापत्र अध्ययनको अवसरबाट श्रमिकलाई वञ्चित गरिएको छ।
हवाई टिकट, राहादानी, सम्झौतापत्र आफूसँगै राखी हतारहतारमा सम्झौतापत्रमा हस्ताक्षर गराइ उडान समयमा मात्र कामदारको हातमा थमाउने गरिएको छ। रोजगारदाताले सम्झौताअनुरूप सेवा/सुविधा उपलब्ध नगराउँदा जिम्मवारी बहन गर्न आनाकानी गरिएको छ।
विदेशमा पुगेका श्रमशक्तिमध्ये सबै सकुशल फर्कने गरेका छैनन्। अर्थात् अनाहकमा कैयन्को ज्यान जाने गरेको छ। अधिक गर्मी, शरीरमा पानीको कमी, कामको सिलसिला सुरक्षा उपाय तथा तालिम अभावका कारण ज्यान गुम्ने गरेको हो। यी र यस्तै कारणले अहिले दैनिक दुई देखि तीन जना र वार्षिक सात सयदेखि आठ सय श्रमिकको ज्यान जाने गरेको हो। कुबेत लगायतका मुलुकमा आवासीय कानुन उल्लंघन गरी विनाभिसा लुकिछिपी बस्ने गरिएको छ। कारावासको जीवन बिताउनु परिरहेको छ।
वैदेशिक रोजगारका क्रममा ठगिनु–नठगिनु, अनाहकमा ज्यान गुम्नु–सकुशल फिर्ता हुनु, आप्रवासी कानुनी फन्दामा पर्नु–नपर्नु मूलतः श्रमिकमै निर्भर हुने कुरा हो। यसर्थ, वैदेशिक रोजगारमा प्रस्थान गर्नुपूर्व रोजगारदाता मुलुकको भाषा, संस्कृति, रहनसहन, आप्रवासनसम्बन्धी कानुन, लाग्ने खर्च तथा सेवा शुल्क, प्राप्त हुने पारिश्रमिक तथा अन्य सुविधा, कार्यप्रकृति तथा कार्य घण्टा आदि राम्रोसँग अध्ययन गरी चित्त बुझेमा मात्र रोजगार सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्छ।
वैदेशिक रोजगारका लागि पत्रपत्रिकामा प्रकाशन भएका सूचनाको आधिकारिता पहिल्याउन वैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा सम्पर्क गरी वा विज्ञापनमा उल्लिखित लट नम्बर टाइप गरी तोकिएको नम्बर (४३००१) मा एसएमएस गरी सूचनाको आधिकारिकता पहिल्याउनुपर्छ।
कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी र मनिट्रान्सफर कम्पनीलाई वैदेशिक रोजगारमा पठाउने अधिकार नभएको हुँदा त्यस्ता संस्थाको फन्दामा पर्नु हुँदैन। वैदेशिक रोजगार इजाजतवाला संस्थाले राहदानी माग गरेमा गन्तव्य मुलुक, रोजगार अवधि, लागत खर्च निक्र्योल नगरी वा भर्पाइ नलिई सक्कल राहादानी उपलब्ध गराउनु हुँदैन।
आफ्नो नाममा भिसा प्राप्त नभई वैदेशिक रोजगार व्यवसयी वा निजको प्रतिनिधिलाई नगद बुझाउनु हुँदैन। नगद बुझाउँदा इजाजतवाला संस्थाको बैंक खाता वा प्रधान कार्यालयमा बुझाउनुपर्छ। नगद बुझाएपश्चात नगद बुझाएको भर्पाइ वा रसिद माग गर्नुपर्दछ।
वैदेशिक रोजगारमा प्रस्थानपूर्व, सरकारले तोकेको बिमकमार्फत बिमा गराउन र कल्याणकारी कोषमा सरकारले निर्धारण गरेको रकम दाखिला गरी रसिद लिन भुल्नु हुँदैन। त्यस्तै, अभिमुखीकरण तालिम लिन, रोजगारदाता मुलुकको श्रम कानुन, भौगोलिक अवस्था, सामाजिक तथा सांस्कृतिक वातावरण, हावापानी, ट्राफिक नियमबारे सक्दो जानकारी लिन पछि पर्नु हुँदैन।
वैदेशिक रोजगारमा प्रस्थानका लागि नेपालको विमानस्थल प्रयोग नगर्दा ठगिने सम्भावना हुन्छ भन्ने हेक्का राख्नुपर्दछ। अन्य मुलुकको पथ प्रयोग गरी वा ललाइफकाइ लैजान लागेको शंका लागेमा प्रहरी प्रशासनलाई खबर गर्नुपर्दछ।
अवैध रूपमा वा लुकिछिपी वैदेशिक रोजगारमा जाँदा कानुनी कारबाही हुनसक्ने, अलपत्र परिनसक्ने, सम्झौताबमोजिम कार्य तथा पारिश्रमिक प्राप्त गर्न नसकिने, उद्धार गर्न कठिन हुने, कल्याणकारी कोष र बिमाबापतको रकम प्राप्त नहुने हुँदा विशेष सतर्क हुनुपर्दछ। ठगिन लागेको शंका लागेमा नियामक निकायले उललब्ध गराएको टेलिफोन नम्बर वा वैदेशिक रोजगार बोर्डको सचिवालयले उपलब्ध गराएको हन्टिङ्ग नम्बरमा शीघ्र सम्पर्क गर्नुपर्दछ।
वैदेशिक रोजगारमा प्रस्थान गर्नुपूर्व प्रस्थान गर्न लागेको मुलुुकमा रहेको नेपाली राजदूतावास र श्रमिकलाई सघाउने संघ/संस्था वा व्यक्तिको सम्पर्क ठेगाना जानकारी राख्नुपर्दछ। श्रम स्वीकृतिको निस्सा प्राप्त नहुँदै हवाई टिकट खरिद गर्नु हुँदैन। वैदेशिक रोजगारमा प्रस्थानपूर्व आफूले प्राप्त गरेको रोजगार सम्बद्ध कागजातहरूको एक थान प्रतिलिपि परिवारको सदस्यलाई सुरक्षित राख्न लगाइ सक्कल कागजात आफूसँगै लैजानुपर्दछ।
पहिले लिएको श्रम स्वीकृतिको म्याद पूरा भएको भए वा नयाँ मुलुक वा कम्पनीमा प्रस्थान गर्नुपर्ने अवस्थामा श्रम स्वीकृति नवीकरण गराउनुपर्दछ। कार्य सम्झौता अवधि समाप्तिपश्चात् स्वीकृतिबेगर वा गैरकानुनी रूपमा अथवा भिसाको म्यादभन्दा अधिक समय रोजगारदाता मुलुकमा बसिरहनुहँुदैन। गैरकानुनी रूपमा बस्दा रोजगारदाता मुलुकको कानुनी फन्दामा पर्न सकिने जोखिम भुल्नु हुँदैन। भरसक भारत वा तेस्रो मुलुकको पथ हुँदै वैदेशिक रोजगारमा प्रस्थान गर्नु हुँदैन, कथंकदाचित प्रस्थान गरिहाल्नुपर्दा नेपाली राजदूतावासले जारी गर्ने ‘नो अब्जेक्सन लेटर’ लिन छुटाउनु हुँदैन।
Published on: 13 September 2024 | Nagarik
GET IN TOUCH