s
काठमाडौँ — आकर्षक तलब सुविधासहितको वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले क्रोएसिया, दुबई लगायतका देशहरूमा पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँचथर मिक्लाजुङ गाउँपालिका-७ घर भई काठमाडौं माकलबारी बस्ने ४२ वर्षीय शशी लामा, कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ घर भई काठमाडौं रानीबारी बस्ने ३२ वर्षीया रोशनी विश्वकर्मा र सिन्धुली कमलामाई नगरपालिका-७ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने २५ वर्षीय गणेश बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये शशीले १ जना पीडितबाट ३ लाख ६५ हजार रूपैयाँ, रोशनीले १ जना पीडितबाट १ लाख २ हजार रूपैयाँ र गणेशले १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरी परेको प्रहरीले जनाएको छ ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शशीलाई काठमाडौं सितापाइलाबाट, रोशनीलाई काठमाडौं सरकारी धाराबाट र गणेशलाई ललितपुर झम्सीखेलबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
Published on: 30 August 2024 | Kantipur
GET IN TOUCH