s
काठमाडौँ — बंगलादेशबाट करिब ८ सय नेपाली विद्यार्थीहरु स्वदेश फर्किँदै गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विद्यार्थीहरु हवाई वा स्थलमार्ग हुँदै नेपाल आउँदै गरेको मन्त्रालयले शनिबार सामाजिक सञ्जालमार्फत जानकारी गराएको हो ।
ढाकास्थित नेपाली दूतावासले विद्यार्थीहरूलाई बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थललगायत अन्य सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरिरहेको समेत मन्त्रालयले उल्लेख गरेको छ ।
'हामीले बंगलादेशका विश्वविद्यालयहरू, सम्बन्धित निकायहरू र कानुन प्रवर्तन एजेन्सीहरूसँग नजिकबाट समन्वय गर्दै आएका छौं,' परराष्ट्रमन्त्री आरजु देउवा राणाले भनेकी छन्, 'नेपाल सरकार सबै नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध छ ।'
बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन चर्किएपछि सरकारले त्यहाँ रहेका नेपाली विद्यार्थीको उद्धार गरेको हो ।
सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा बंगलादेशमा एक साताअघिदेखि सुरु आन्दोलन हिंसात्मक बन्दा अहिलेसम्म कम्तीमा सय जनाले ज्यान गुमाइसकेका त्यहाँस्थित विभिन्न अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् । साथै, बंगलादेशका विभिन्न भागमा भएका प्रदर्शनीमा सयौं जना घाइते भएको जनाइएको छ । बीबीसीका अनुसार सरकारले शुक्रबार रातिदेखि देशभर कर्फ्यु लगाएको छ । त्यस्तै सञ्चार सेवा, इन्टरनेट र टेलिफोनका सेवा विच्छेद गरिएको छ ।
यसैबीच, मन्त्रालयले शनिबार सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित 'हेल्प डेस्क'को व्यवस्था गरिएको जनाएको छ । समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले निर्धारण गरेको इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न मन्त्रालयले अनुरोध गरेको छ ।
सम्पर्कका लागि नेपाली राजदूतावास ढाकामा द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्री तथा सिंहदरबारस्थित मन्त्रालयमा सम्पर्कका लागि शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । त्यसका अतिरिक्त भविष्यमा पुनः सहयोग आवश्यक पर्नसक्ने सन्दर्भमा आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना मन्त्रालयलाई जानकारी गराइदिनसमेत अनुरोध गरिएको सूचनामा उल्लेख छ ।
Published on: 22 July 2024 | Kantipur
GET IN TOUCH