s
धार्मिक आस्थाले भारतको हरियाणा (हिसार) को चण्डिगढ रोड, बरबालास्थित सतलोक आश्रम पुगेका २४ नेपाली त्यहाँको हिसार जेलमा थुनिएको पीडितका परिवारले बताएका छन् । विवादास्पद भारतीय धर्मगुरु रामपालको आश्रममा उनलाई खोजी गर्दै पुगेको प्रहरीले आश्रमबाट भारतीय र नेपाली केही भगत (भक्त) लाई पक्राउ गरेको हो । धार्मिक उद्देश्यले आश्रम गएका नेपाली पक्राउ पर्दा पनि रिहाइका लागि सरकारले पहल नगरेको भन्दै पीडित परिवार र सभासदले गुनासो पोखेका छन् । पक्राउ परेको सवा महिना भएको छ । पीडित परिवारले जिल्ला प्रशासनदेखि परराष्ट्र मन्त्रालय र दूतावासलाई समेत जानकारी गराइसकेका छन् ।
'म हिसार जेलमै गएर भाइलाई भेटेर आएँ,' धनुषाको क्षीरेश्वरनाथ नगरपालिका, सखुवाका निर्गुणकुमार महतोले कान्तिपुरसँग भने, 'मंसिर २ गते पक्राउ परेदेखि जताततै गुहारिरहेका छौं, तर अहिलेसम्म कुनै पहल नहुँदा भाइ जेलमै छन् ।' १२ कक्षामा अध्ययनरत २० वषर्ीय गणेशकुमार कात्तिक १८ मा पहिलो पटक १८ स्थानीयसँग सत्संग र भजनका लागि आश्रम हिँडेका थिए । 'जेलमा जम्मा १० मिनेट सिसाको बारबाट देखादेख गरेर फोनमा कुरा गर्यौं,' निर्गुणले सुनाए, 'आमा बिरामी हुनुहुन्छ, टेन्सन नलिन भन्नु, म चाँडै छुट्छु कि भन्छ, तर कहिले छुट्छ, के मुद्दा छ, कुनै पत्तो छैन ।' निर्गुणले भाइबाट पाएको जानकारीअनुसार प्रहरीले आश्रमभित्र रामपाललाई खोजी गर्दा भक्तहरूमध्ये युवालाई छुट्टै गाडी र बाँकीलाई छुट्टै गाडीमा पटक-पटक ओसारेर जेल पुर्याएको थियो । अरूलाई छाडेर युवालाई थुनेको र आश्रमबाट पक्राउ परेका करिब ९ सय भारतीय पनि जेलमा भएको उनको भनाइ छ ।
त्यही आश्रमबाट फर्केका धनुषा, सखुवाका नत्थु श्रेष्ठले आफ्नो भाइ पनि थुनामा परेको बताए । 'नारा-जुलुस भइरहेको थियो, प्रहरीले बालबच्चा, बृद्धहरूलाई छाडेर युवालाई पक्र्यो,' नत्थुले सुनाए, 'मेरो भाइ -ईश्वर श्रेष्ठ, ३७ वर्ष) पनि बिनाकारण जेलमा थुनिएको छ ।' पीडित परिवारका अनुसार पक्राउ पर्नेमा सिरहाका ६, धनुषाका ४, सुनसरीका २, रौतहटका २, कञ्चनपुरका २, काठमाडौंका २ र मोरङ, महोत्तरी, बर्दिया र भक्तपुरबाट १/१ जना छन् । नेपाली दूतावास दिल्लीले थप दुईसहित २४ नेपाली हिसारको '६० दिने न्यायिक हिरासतमा रहेको' बताएको छ । जेल पर्नेमा सिरहाको सिक्रौनका विजय साह, बर्छावाका राजेन्द्र सादा र शिवचरण यादव, चौहर्वाका उपेन्द्रप्रसाद सिंह, अरनामा लालपुरका रामसुगारथ महतो, गोलबजार असनपुरका विनोद यादव छन् । यस्तै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका सखुवाका गणेशकुमार महतो, ईश्वर श्रेष्ठ, मधुकरहीका रामचन्द्र यादव, औरहीका सन्तोष साह र मोरङको उर्लाबारीका सुरेश राई छन् ।
यस्तै सुनसरीे इटहरीका मुकेश कार्की र लक्ष्मण बस्नेत, रौतहटको मर्जादपुरका दिनेश महतो र उमेश महतो, महोत्तरीको भमरपुराका शिव पुजन साह, कञ्चनपुरको महेन्द्रनगरका सुरेश भट्ट र योगेन्द्र चन्द, बर्दिया-२ का नन्दराम खैरहा, काठमाडौं गोंगबुका रनकुमार गिरी र जोरपाटीका जाकिर हुसेन र भक्तपुर थिमिका उपराज ढकाल जेलमा भएको उल्लेख छ । धनुषाका सभासद डा. चन्द्रमोहन यादवले खुला सिमानाका कारण सामान किनमेल, घुमफिर तथा धार्मिक कामलाई पनि नेपाली भारत जाने गरेको उल्लेख गर्दै पीडितको सरकारले उद्धार गर्नुपर्ने बताए । 'धार्मिक आस्थाका कारणले जाँदा उनीहरू झमेलामा फसे, तर कस्तो विडम्बना सरकारले कुनै पहल गरेको छैन,' उनले कान्तिपुरसँग भने, 'मैले मंगलबार परराष्ट्रमन्त्रीलाई भेटें र नेपाली दूतावास दिल्लीमा पनि फोन गरें, तर कुनै प्रगति छैन ।'
सतलोक आश्रममा आमावश्या (औंसी) र पूणिर्मामा ३/३ दिन सत्संग र भजनका लागि कविर धर्मावलम्बी त्यहाँ पुगेको निर्गुणको भनाइ छ । आ-आफ्नो ढंगले आश्रम पुगेकामध्ये पछिल्लोपल्ट मात्रै करिब ४ हजार नेपाली भएको अनुमान छ । कतिपय रोग र बिमार निको हुने विश्वासमा समेत पुगेका थिए । आश्रमबाट फर्केकी मैतीदेवी निवासी गौरी शर्माले रिहाइका लागि परराष्ट्र मन्त्रालय, भारतीय दूतावास, मानव अधिकारवादी संस्थामा निवेदन दिए पनि पहल नभएको गुनासो गरिन् । दिल्लीस्थित नेपाली दूतावासका अधिकारीले बुधबार स्थलगत रूपमा अध्ययन गर्दा २४ नेपाली 'न्यायिक हिरासत'मा रहेको भेटिएको बताए । 'न्यायिक हिरासतमा रहेको अवस्थामा ६० दिन प्रहरी अनुसन्धान हुने र त्यसपछि अदालती प्रकक्रियाबाट म्याद थप्छ वा छाड्छ,' एक अधिकारीले भने, 'दूतावासले पनि अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।' दूतावासबाट काउन्सिलरहरू यदुलाल खरेल र राजेन्द्रमान श्रेष्ठ गएका थिए ।
काठमाडौं बागबजारस्थित सतलोक आश्रमको सम्पर्क कार्यालयले अभिभावकलाई सार्क सम्मेलनलगत्तै मंसिर १२ गते बोलाएर हराएका २२ व्यक्तिको नामावली संकलन गरेको पीडित परिवारमध्येका निर्गुणको भनाइ छ । पीडित परिवारले परराष्ट्रमा १४ गते निवेदन दिएका थिए । परराष्ट्रले कन्सुलर सेवा विभागलाई फ्याक्स गरिदिएपछि कन्सुलरले १५ मंसिरमा नेपाली दूतावास दिल्लीलाई पत्र पठाएको थियो । पत्रमा धार्मिक उद्देश्यले भारतको हिसार -हरियाणा) जिल्ला चण्डीगढ रोड, बरबालास्थित सतलोक आश्रममा नोभेम्बर १४-१८ सम्म भएको प्रहरी अपरेसनमा केही दर्जन नेपाली भक्त हराइरहनु जानकारी आएकाले खोजी गरिदिन अनुरोध गरको थियो ।
कान्तिपुरमा मंसिर १७ गते 'भारतमा २२ नेपाली बेपत्ता' र पुस २ गते 'बेपत्ता नेपाली भारतीय जेलमा रहेको शंका' शीर्षकमा समाचार प्रकाशित भएको थियो । 'सरकारले अहिलेसम्म सुनुवाइ नगर्दा अब के गर्ने भनेर सल्लाह गर्दै छौं,' निर्गुणले भने, 'धेरै अभिभावक फेरि काठमाडौं आउनुभएको छ, हेरौं अब के गर्न सकिन्छ ।'
Published on: 25 December 2014 | Kantipur
GET IN TOUCH