s
रोजगारीका लागि विभिन्न मुलुक पुगेका ९५ जना श्रमिक मिर्गौला खराबी समस्याका कारण फर्किएका छन्। यो संख्या वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता लिएकाहरूको मात्रै हो।
मिर्गौला खराबी भएर फर्केर पनि बोर्डबाट आर्थिक सहायता नलिएकाहरूको संख्या पनि छ। तर, यस्तो संख्या कति छ भन्ने आँकडा सरकारसँग छैन।
विभिन्न अध्ययनहरूबाट खाडीको चर्को गर्मीमा एकदमै कडा परिश्रम गर्ने युवाहरूमा मिर्गौला खराबी समस्या बढ्दो देखिएको छ।
कडा तापक्रम भएका खाडी मुलुकहरू तथा मलेसियामा काम गर्ने ठूलो संख्यामा श्रमिकहरूमा मिर्गौला खराबी समस्या देखिएको पाइएको छ।
बोर्डको आँकडा अनुसार आर्थिक वर्ष २०८०-८१ मा मिर्गौला खराबी लगायत विभिन्न रोगले बिरामी भएका तथा दुर्घटनाका कारण अंगभंग भएका ६५३ जनाले बोर्डबाट आर्थिक सहायता लिएका छन्। कुल आर्थिक सहायता लिनेमध्ये १४ प्रतिशत मिर्गौला खराबी भएकाहरू छन्।
त्यसैगरी, क्यान्सर रोगको सिकार भएर फर्कनेहरू ७५ जना छन्। कार्यस्थल दुर्घटना पनि भयावह देखिएको छ। वर्ष दिनमा १२५ जनाले कार्यस्थल दुर्घटनामा अंगभंग भएका छन्।
सडक दुर्घटनाका कारण विदेशी भूमिमा अंगभंग भएर फर्किने पनि ७६ जना छन्। हृदयघात दुई जनामा भएको छ। अन्य रोग तथा विभिन्न कारणले बिरामी भएर फर्केका २८० जनाले बोर्डबाट सहायता लिएका छन्।
वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीका क्रममा विभिन्न किसिमका रोग तथा बिरामी भएर फर्केकाहरूलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ। यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकहरूले जम्मा गरेको कल्याणकारी कोषको रकमबाट उपलब्ध गराइन्छ।
बोर्डका निर्देशक टिकाराम ढकालले अंगभंग वा रोगको प्रकृति हेरेर बिरामी वा घाइते व्यक्तिलाई बोर्डले २५ हजारदेखि सात लाख रूपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउँदै आएको बताए।
बोर्डका कार्यकारी निर्देशक द्वारीका उप्रेतीले विशेष समितिको सिफारिसका आधारमा यस्तो सहायता उपलब्ध गराइँदै आएको उल्लेख गरे। 'हाम्रो चिकित्सकहरूको विशेष समिति छ। त्यो समितिले श्रमिकहरूको कागजात हेरेर क्षतिपूर्ति निर्धारण गर्छ। सोही आधारमा बोर्डले उपलब्ध गराउँछ,' उप्रेतीले भने।
वैदेशिक रोजगार नियमावली २०६४ अनुसार वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको करार अवधि वा करार अवधि सकिएको एक वर्षभित्र कुनै कारणले अंगभंग भएमा गम्भीर बिरामी भएमा बोर्डले आर्थिक सहायता उपलब्ध गराउँछ।
सहायताका लागि श्रमिकले बोर्डमा अंगभंग वा गम्भीर बिरामी भएको प्रमाणीत हुने अस्पतालको सिफारिस वा चिकित्सकको प्रेस्क्रिप्सन सहित निवेदन पेस गर्नुपर्नेछ। उक्त निवेदनमाथि बोर्डको विशेष समितिले अवस्था हेरेर बोर्डलाई आर्थिक सहायता उपलब्ध गराउन सिफारिस गर्छ।
कतारबाट दुबै मिर्गौला फेल भएर फर्किएका दोलखाका सुजन थामीले बोर्डबाट सात लाख रूपैयाँ आर्थिक सहायता पाएको बताए। त्यस्तै उनले बीमाबाट पाँच लाख रूपैयाँ पाएको बताए। उनीहरूले बीमाबाट समेत सुविधा पाउने गरेका छन्। तर, कतिपयलाई यस्तो सुविधाबारे जानकारी नहुँदा बञ्चित समेत हुनु परेको अवस्था छ।
कतिपय स्वास्थ्य अनुसन्धानकर्ता तथा अधिकारकर्मीहरूले दीर्घकालीन रोग लागेर वैदेशिक रोजगारीबाट फर्केकाहरूको जीवनभरको कमाइले पनि उपचारका लागि नपुग्ने हुँदा कल्याणकारी कोषबाट दिइने आर्थिक सहायता बढाउनुपर्नेमा जोड दिएका छन्।
पछिल्लो समय सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई दिइने आर्थिक सहायता भने बढाउने कुरा उठाइरहेको छ। तर, बिरामीको सहायता बढाउने विषय भने उठेको छैन।
बोर्डका कार्यकारी निर्देशक उप्रेती यससम्बन्धी समितिले सिफारिस गरेअनुसार मृतकका परिवारलाई दिइने आर्थिक सहायता बढाउने कुरा अघि सारिएको तर बिरामी वा अंगभंगको आर्थिक सहायता बारे केही कुरा नउठेको बताउँछन्।
श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी खाडी मुलुकहरूको तातोमा काम गर्ने युवाहरूमा मिर्गौला सम्बन्धी समस्या बढ्दै गइरहेको देखिएकाले न्यूनीकरणका लागि सरकारले पहल गर्ने बताउँछन्।
वैदेशिक रोजगारीमा जानुअघि दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रभावकारी बनाउने सन्दर्भमा पनि सरकारले काम गर्ने उनले बताए।
अंगभंग तथा गम्भीर बिरामी भएर उपचार गराइरहेका श्रमिकको उपचारका क्रममा मृत्यु भएमा उनीहरूको परिवारलाई पनि आर्थिक सहायता दिने व्यवस्था मिलाउने उनको भनाइ छ।
Published on: 2 September 2024 | Setopati
GET IN TOUCH