s

बिदेसिन बाध्य जेन-जी

काठमाडौँ — देशमा केही भएन भन्दै बिदेसिनेहरूमा नेपाली विद्यार्थीको ताँती लामो छ । विद्यार्थी भिसा बोकेर दिनहुँ सयौं युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै देश छोड्ने गर्छन् । अनलाइन प्लाटफर्म स्टडीपोर्टल्सले गरेको एक अध्ययनअनुसार विश्वभरका अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा १४ दशमलव ३ प्रतिशत त नेपाली विद्यार्थी नै छन् ।

गत आर्थिक वर्षमा मात्र एक लाखभन्दा बढी विद्यार्थी पढ्नका लागि विदेशिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअनुसार १ लाख १० हजार २ सय १७ विद्यार्थीले अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिएका थिए । त्यसैगरी २०८० साउनदेखि २०८० पुससम्मको ६ महिनामा मात्रै ५१ हजार ५ सय ६७ विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिएका थिए । बिदेसिने विद्यार्थीको यो तथ्यांकले नेपालमा उच्च शिक्षाका लागि पढ्न उपयुक्त छैन भन्ने संकेत दिन्छ ।

जबकि लगभग एक दर्जन हाराहारी विश्वविद्यालय र सयौं कलेज सञ्चालनमा छन् । अन्तर्राष्ट्रिय सम्बन्धनमा ‘ए लेभल’ लगायत थुप्रै विषय पठनपाठन हुने गरेको छ । सीटीईभीटीअन्तर्गतका प्राविधिक एवं व्यावसायिक थरी–थरीका कोर्स पनि सञ्चालित छन् । तर पनि नेपाली विद्यार्थीहरू पढ्नका लागि किन बिदेसिन्छन् त ?

‘सहज र उन्नत जीवन’, ‘गुणस्तरीय शिक्षा’, ‘सुरक्षित भविष्य’ को खोजीकै कारणले गर्दा विदेशप्रति मोह बढेको बताउँछिन्, नोरा भट्टराई । भन्छिन्, ‘नेपालमा प्रतिव्यक्ति आय एकदमै न्यून छ । अभाव र असुविधा अर्को मुख्य कारण हो ।’ १८ वर्षीया नोराको बुझाइमा खान, लाउन र बस्न पुग्नु मात्र जीवन होइन । आफ्नो इच्छा, सपना र चाहनाहरू पनि पूरा हुनुपर्‍यो ।

शिक्षा सदन कन्सल्टेन्सीमा आईईएलटीएस गरिरहेका आमोद याखाका अधिकांश साथीहरू १२ कक्षाको पढाइ सकेर उच्च शिक्षा अध्ययनका लागि विदेश गइसके । उनले भने नेपालमै पढ्ने सोच बनाए । स्नातक तहसम्मको अध्ययन पूरा गरेका २३ वर्षीय आमोद भन्छन्, ‘नेपालको अवस्था देखेर, भोगेर अब त मलाई पनि यहाँ केही हुन्छ जस्तो लाग्न छोड्यो । त्यसैले मास्टर्स गर्न विदेश नै जाने योजना बनाएको हुँ ।’

कोरिया जाने तयारी गरिरहेकी छन्, १८ वर्षीया जेनिया गुरुङ । ‘कोरिया मेरो ड्रिम प्लेस हो । स्टुडेन्ट भिसामा गए पनि पढ्दै काम गर्ने र पैसा कमाउन जाने हो,’ उनलाई नेपालमा बसेर पैसा धेरै कमाइन्छ भन्ने नै लाग्दैन । उनी थप्छिन्, ‘नेपालको कमाइ र बाहिरको कमाइ नै फरक छ ।’ मेकअप र फेसनप्रति रुचि भएकाले कोरिया जान लागेको बताउने उनी नेपाल र कोरियाको मेकअप आर्टिस्ट वा फेसन डिजाइनरको कमाइमा आकाश–पातालको अन्तर देख्छिन् ।

कमसल शिक्षा प्रणाली

नोराका अनुसार विदेशको शिक्षा प्रणाली नै फरक छ । ‘विदेशमा सैद्धान्तिकलाई भन्दा प्रयोगात्मक ज्ञानलाई प्राथमिकता दिइन्छ,’ उनी भन्छिन्, ‘पढ्नु भनेको सिक्नु हो । घोकेर पढेको काम लाग्दैन । हामीले पढेको गणितको फर्मूला कहाँ काम लाग्छ ?’ उनलाई नेपालमा पढाइको मूल्यांकन गर्ने तरिका पनि ठीक लाग्दैन रे । एउटा विद्यार्थी कति योग्य छ भन्ने निर्धारण एउटा परीक्षाले गर्छ । नेपालमा परीक्षाको एक दिनअघि पढे मात्र पनि राम्रो अंक ल्याउन सकिने बताउँदै उनी भन्छिन्, ‘नेपालका टपरहरूमा सैद्धान्तिक ज्ञान मात्र हुन्छ । प्रयोगात्मक हुँदैन, त्यही भएर जागिर खाँदा बटम लाइनबाट सुरु गर्नुपर्छ ।’

एउटै ग्रेड र एउटै विषयमा पनि विदेशमा र नेपालमा पढाइ हुने तरिका नै फरक हुने आमोद बताउँछन् । ‘नेपालमा होमवर्क दिँदा के, किन, कसरी जस्ता प्रश्न सोधिन्छ तर विदेशमा रियल लाइफ सिनारियो दिएर प्रश्न तयार पारिएको हुन्छ ।’

यसरी रियल लाइफ सिनारियो दिँदा हरेक प्रश्नको समाधान गर्न सकिने भन्दै नोरा आमोदको कुरामा सही थाप्छिन् । उनी नेपालमा पाठ्यक्रम परिमार्जित नहुने अर्को समस्या भएको बताउँछिन् । ‘विश्वमा मिनेटमै नयाँ कुरा परिवर्तन भइरहन्छ, त्यहीअनुसार उनीहरू अपडेट हुन्छन् । करियर सुरक्षित हुने कारण पनि त्यही हो । विदेशमा र यहाँ उस्तै मिहिनेत गर्दा हाम्रो करियर र कमाइ दुवैमा फरक पर्छ ।’ नेपालमा शिक्षालाई पनि बिजनेसका रूपमा हेर्ने गरिएको भन्दै उनी तीतो पोख्छिन् ।

बेरोजगार र न्यून आय

‘नेपालमा बेरोजगारी अर्को समस्या हो,’ नोरा भन्छिन्, ‘धेरै खर्च गरेर पढेको हुन्छ तर पढाइ सकेपछि काम पाइँदैन । पाए पनि सुरुवाती तलब एकदमै कम हुन्छ । नेपालमा भनेजस्तो जागिर नपाएपछि विदेश नै जानुपर्ने बाध्यता हुन्छ ।’ जेनियाले नेपालमा स्नातक सकेर पनि काम नपाएका धेरै देखेकी छन् ।

‘मेरा साथीहरू काम नपाएर दिनभरि मोबाइल चलाएर घरमै बस्छन् । विदेशमा सर्टिफिकेट नभए पनि सीप छ भने काम गर्न त पाइन्छ,’ उनी थप्छिन्, ‘नेपालमा पैसा धेरै कमाउन नेताकै छोराछोरी हुनुपर्‍यो कि ठूलो मान्छेलाई चिन्नुपर्‍यो ।’

आमोद नेपालमा कलेज टपरहरूसमेत बेरोजगार भएर बस्नुपरेको तर्क गर्छन् । भन्छन्, ‘टपर नै भए पनि सर्टिफिकेटले जागिर पाइँदैन । राम्रो कम्पनीले अनुभव खोज्छ । त्यसैले टपर होस् वा डिग्री होल्डर, एकदमै न्यूनतम तलबबाट उसले जागिर सुरु गर्नुपर्छ ।’

नोराको बुझाइमा नेपालको वर्क कल्चरमा ‘नेपोटिज्म’ हाबी छ । ‘यहाँ सोर्सफोर्समा मात्र जागिर पाइन्छ । क्षमतावानले जागिर नै पाउँदैनन्,’ त्यसो त उनी विदेश विकसित हुनुको कारण पनि क्षमता हेरेर रोजगारी दिइनुलाई ठान्छिन् । कक्षा १० मा पढ्दा आमोदका ४० जना सहपाठी थिए । अहिले ६–७ जना मात्र देशमा छन् । ‘बाँकी रहेका साथीहरू पनि बाहिर जान खोजिरहेका छन् । कतिले जागिर खाए, बिजनेस सुरु गरे तर भनेजस्तो नभएपछि बाहिर जान खोजिरहेका छन्,’ आमोद थप्छन्, ‘नेपालमा युवाहरू निराश भइरहेका छन् । बजार महँगीले आकाश छोइसक्यो, थोरैतिनो आम्दानीले त केही गर्नै पुग्दैन ।’

नोरा नेपालमा सानोतिनो काम गर्दा इज्जत नगरिने गुनासो गर्दै भन्छिन्, ‘तर विदेशमा कामको इज्जत हुन्छ, भाँडा माझेरै भविष्य सुरक्षित गर्न सकिन्छ भने त्यो काम किन नगर्ने ?’ विदेशमा पैसाको महत्त्वले लोभ्याएको उनको भनाइ छ । ‘नेपालमा सबै कुरा राम्रो हुँदो हो त परिवार छाडेर कसलाई पो विदेश जान मन लाग्दो होला र ?’ जेनिया तर्क गर्छिन्, ‘विदेशमा दुःख भए पनि पैसा छ । चाँडै विदेश गएर पैसा कमाएर घर पठाइदिउँजस्तो लागिरहेको छ । आमाबुबाले ३०–३५ वर्षदेखि कमाएर दुःख गरिरहनुभएको छ । अब मेरो पालो आयोजस्तो लाग्छ । आफैंले कमाएको पैसाले उहाँहरूलाई के किन्न मन छ भनी सोध्न मन छ । त्यो खुसीलाई एक पटक अनुभव गर्न मन छ ।’

नोरा नेपालमा राजनीतिक अस्थिरताले गर्दा भविष्य अन्योलमा रहेको गुनासो गर्छिन् । उनलाई नेपालको राजनीतिक प्रणाली राम्रो भयो भने शिक्षा प्रणाली पनि राम्रो हुन्छ भन्ने लाग्छ । भन्छिन्, ‘शिक्षा, रोजगारको अवसर राम्रो भए आफ्नो देश, परिवार र संस्कार छोडेर जानुपर्ने थिएन ।’

Published on: 23 August 2024 | Kantipur

Link

Back to list

;