s

विद्यार्थीको बहिर्गमन : चिन्ताभन्दा चिन्तनको विषय

पछिल्लो एक दशकमा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या चार गुणाले बढेको छ । आर्थिक वर्ष २०७०/७१ मा २८ हजार हाराहारीमा रहेको त्यस्तो संख्या २०८०/८१ मा आइपुग्दा १ लाख १२ हजार नाघेको छ । कोभिड अवधिभर त्यस्तो संख्या वार्षिक ३० हजार वरपर रहेको भए पनि त्यसपछिका आर्थिक वर्षमा भने लाख नाघ्न थालेको छ । त्यो रोकिने कुनै छाँटकाँट छैन । रोक्नका लागि कुनै पहल भएको पनि देखिँदैन ।

पढ्न होस् वा अन्य सन्दर्भ, एक देशबाट अर्को देशमा जानु स्वाभाविक प्रक्रिया हो । मानव सभ्यतासँगै सुरु भएको बसाइँसराइकै एउटा निरन्तरता हो । नयाँ ठाउँप्रति आकर्षित हुनु र आफ्नो जीवनयापन सहज हुने ठाउँमा पुग्न खोज्नु जोसुकैको प्रवृत्ति हुन्छ । चेतनशील व्यक्तिले त बृहत्तर अवसरका लागि प्रयत्न गरिरहन्छ । कहाँ रहँदा आफ्नो सिकाइलाई थप बलियो बनाउन, क्षमताको उच्चतम प्रयोग गर्न र आर्थिक सबलता सुनिश्चित गर्न सकिएला भनेर खोजी गरिरहन्छ ।

काम गर्दै पढ्न पाइने मुलुकमा विद्यार्थीको बढी आकर्षण देखिनुले पनि विद्यार्थीले शैक्षिक उपलब्धिका साथसाथै आर्थिक विकासको पाटोलाई पनि ध्यानमा राखेको देखिन्छ । यसबाट पनि विद्यार्थी वर्गको पछिल्लो मनोविज्ञान केलाउन सकिन्छ । आफ्नो भविष्यको आकलन गर्न सक्ने वर्गले स्वदेशमै पनि सम्भावनायुक्त ठाउँ खोज्छ भने विदेश जानु अनौठो होइन । अध्ययनका लागि कुनै सुदूर गाउँबाट काठमाडौं आउने सिलसिलाकै विस्तारित रूप हो– विदेश जानु पनि ।

विदेशमा पाइने सकारात्मक वातावरण र सम्भावित अवसरका अतिरिक्त विद्यार्थीलाई विदेशिन उत्प्रेरित गर्ने अर्को पक्ष स्वदेशको वातावरण पनि हो । जसरी बाह्य देशको वातावरणले विद्यार्थीलाई तानिरहेको हुन्छ, त्यसैगरी स्वदेशको वातावरणले धकेल्न प्रत्यक्ष/अप्रत्यक्ष भूमिका खेलिरहेको हुन्छ । यहाँ नियमित रूपमा भइरहेको पठनपाठन प्रक्रिया र विषयवस्तुले विद्यार्थीलाई आकर्षण गर्न छाडेको विश्लेषण सार्वजनिक भइरहेका हुन्छन् । जो यहीँ पढिरहेका छन्, उनीहरूले प्रभावकारी शैक्षिक वातावरण पाउन सकेका छैनन् । विश्वविद्यालयहरू दलीयकरणका दुष्परिणामले थिलथिलो भएका छन् । समयमै परीक्षा नहुनेदेखि परीक्षाफल सार्वजनिक नहुने कारणले विद्यार्थीहरू दिग्दार छन् । शिक्षा क्षेत्रमा विद्यार्थी र सरोकारवालालाई निराश बनाउने अन्य कैयौं विकृतिहरू केही समयको अन्तरालमा सार्वजनिक भइरहेका हुन्छन् । विद्यार्थीलाई यहाँ पढ्नु भनेको समयको बर्बादी मात्रै हो भन्ने लाग्नु चिन्तनको विषय हो ।

यहाँको राजनीतिक दैनिकीले यहीँ बस्ने किशोरकिशोरीको भविष्य राम्रो हुन्छ भन्ने आशा दिन सकेको छैन । त्यसको अनुभूति गरेरै हुन सक्छ, स्वयं राजनीतिक वा प्रशासनिक क्षेत्रका कैयौं उच्च पदस्थहरू आफ्ना सन्तानलाई विदेश पठाउने र आफू पनि जानका लागि खुट्टा उचालिरहेको उदाहरण छरपस्ट छन् । यस्तो स्थितिमा आम जनताका छोराछोरीहरू यहाँको शैक्षिक गुणस्तरमा वृद्धि होला, त्यसपछि रोजगारी र व्यावसायिक वातावरण बन्ला, आफ्नो क्षमता उपयोग गरेर देशमै आर्थिक र सामाजिक हैसियत उठाउँला भनेर सिर्जनशील समय बिताउने पक्षमा छैनन् । समाज नै यो देश बन्दैन भन्नेमा करिब–करिब सहमत भएको जस्तो दुर्भाग्यपूर्ण स्थिति छ । अर्कोतिर, परिवारका सदस्य विदेश जानु भनेको सम्बन्धित परिवार र आफन्तका निम्ति गर्वको विषय बनेको देखिन्छ । त्यसले पनि विद्यार्थीलाई विदेश धकेलिरहेको छ ।

आफ्नो हित सोचेर विदेश जाने विद्यार्थीप्रति असन्तुष्टि व्यक्त गर्नुपर्ने आवश्यकता भने छैन । बरु यसबाट व्यक्त भइरहेको र हुन सक्ने सन्देशप्रति भने गम्भीर हुन आवश्यक छ । चिन्तन गर्न आवश्यक छ । जबसम्म शैक्षिक र आर्थिक हैसियत वृद्धिका लागि विद्यार्थी विदेशिन्छन्, त्यसमा चिन्ता गर्नुपर्दैन । बरु शिक्षा तथा सीपयुक्त जनशक्तिका रूपमा नेपाल फर्किन सक्ने वातावरण बनाउनुपर्छ । वा, विदेशमै रहेका नेपालीलाई पनि पुँजीका रूपमा उपयोग गर्न सक्नुपर्छ । देश–विदेशमा विभिन्न क्षेत्रमा, संस्थामा नेपालीहरूको प्रभावशाली उपस्थिति हुन सक्यो भने त नेपालप्रति गरिने विश्वासको आधारमै बढोत्तरी आउँछ । डायस्पोरा बलियो बन्दा पनि देशलाई फाइदै पुग्छ । यसको सर्तचाहिँ देशले नै

आफ्ना नागरिकलाई आफूसँग जोडिरहन सक्नुपर्छ । नागरिक जहाँ पुगे पनि उनीहरूलाई देशको हितका निम्ति उपयोग गरिरहन सक्ने सामर्थ्य विकास गर्नुपर्छ । तर, स्वदेशमा रहेका वा विदेशमा पुगेकाहरूबाट देश खत्तम भइसक्यो, राजनीतिक वा शैक्षिक भविष्य राम्रो छैन, सबैसम्म चाँडो देश छोडेकै राम्रो भन्ने खालको सन्देश विस्तारित भयो भनेचाहिँ हामी चिन्ताग्रस्त अवस्थामा पुगेको ठहर्छ । हामी कहाँ पुगेका छौं, अब के गर्ने हो भन्ने विषयमा राजनीतिक, शैक्षिक र सार्वजनिक संघसंस्थाका नेतृत्ववर्ग सचेत बन्न जरुरी छ ।

विदेशिने विद्यार्थीको संख्यामा न्यूनीकरण गर्नका लागि नियन्त्रणका कठोर उपाय अपनाउनुपर्ने तर्क पनि बेलाबखतमा राजनीतिक र शैक्षिक नेतृत्वबाट व्यक्त हुने गरेको छ । तर, बुझ्नुपर्ने कुरा के छ भने, विदेश जाने प्रक्रियामा कडाइ गर्ने वा निश्चित विषय पढ्नका लागि मात्रै अनुमति दिनेजस्ता उपाय निरर्थक हुनेछन् । यस्तो उल्टो बाटो हिँडेर कहीँ पुग्न सकिँदैन । नियन्त्रणका लागि बुद्धि खियाउने समय यहाँको शैक्षिक र राजनीतिक वातावरण सुधार गर्न र रोजगारीको सम्भावना विस्तार गर्न खर्चिने हो भने बरु लाभदायक हुन सक्छ ।

Published on: 31 July 2024 | Kantipur

Link

Back to list

;