s

विराटनगरमा संगठित वेश्यावृत्ति गराउने गिरोह सक्रिय, नाइके युवती पक्राउ

राम्रो पैसा आम्दानी हुने काम लगाइदिने बहानामा ललाइफकाई ल्याएर भाडाको कोठामा बन्धक बनाएर एक संगठित गिरोहले युवतीहरूलाई जबर्जस्ती वेश्यावृत्ति गराउँदै आएको खुलेको छ।

विराटनगर– ११ मा कोठा भाडामा लिएर विभिन्न ठाउँबाट ललाइफकाई प्रलोभनमा पारेर ल्याएका ६ जना युवतीलाई उद्धार गरी झापा बिर्तामोड नगरपालिका– ८ गरामनीकी नाइके २४ वर्षीया सन्ध्या चुँडाललाई मोरङ प्रहरीले पक्राउ गरेपछि संगठित गिरोहले वेश्यावृत्ति गराउँदै आएको खुलेको हो ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार नाइके सन्ध्याको गिरोहले विराटनगरका गीत–गजल रेस्टुरेन्टहरूमा राम्रो आम्दानी हुने काममा लगाइदिने भन्दै विभिन्न स्थानबाट ल्याइएका युवतीलाई भाडाको कोठामा बन्धक बनाएर राख्ने गर्दथ्याे । त्यसपछि गिराहले बन्धक बनाएका युवतीलाई मोटो रकम लिएर धाकधम्की दिँदै जबर्जस्ती वेश्यावृत्तिमा लगाउँदै आएकाे थियाे ।

गोप्य सूचनाका आधारमा दुई दिनअघि कोठामा छापा मारेर नाइके सन्ध्यालाई पक्राउ गरिएको र बन्धक बनाएका युवतीको उद्धार गरी अभिभावकको जिम्मा लगाएको डिएसपी बस्नेतले बताए । पक्राउ परेकी नाइके सन्ध्याललाई मानव बेचबिखन कसुरमा अदालतमा मुद्दा दर्ता गराएर थप अनुसन्धान भइरहेको र गिरोहमा संलग्न अन्य सदस्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Published on: 8 July 2024 | Naya Patrika

Link

Back to list

;