s

छैनन् कामदार

तयारी पोसाक उत्पादन गरेर पर्यटकलाई बिक्री गर्ने यहाँका उद्यमीले श्रमिकको अभाव झेलिरहेका छन्। मासिक औसत १८ हजार रुपैयाँ कमाउन दैनिक १५ सय जनशक्ति विदेश गइरहेको बेला स्वदेशमा मागअनुसार पोसाक उत्पादन गर्न कालिगढ अभाव भएको उद्यमी बताउँछन्। एम्ब्रोडरी एन्ड गार्मेन्ट एसोसिएसन पोखराका अध्यक्ष कृष्णकुमार श्रेष्ठका अनुसार यहाँका ७५ भन्दा बढी व्यवसायीमध्ये अधिकांशले एक/एकजना कालिगढका भरमा व्यवसायलाई निरन्तरता दिइरहेका छन्। 'एक त सीप भएको स्वदेशी मजदुर भेटिन्न, सीप सिकाएर राखौं भने पनि कोही काम गर्न आउँदैनन्,' उनले भने। ३/४ जना मजदुरलाई काम दिनसक्ने व्यवसायीले पनि एकजना कालिगढ राखेर काम चलाउनुपरेको उनले बताए।

स्वदेशमा भन्दा कम कमाइ भए पनि विदेशै जाने प्रवृत्ति बढेकाले मजदुर पाउन नसकेको श्रेष्ठ बताउँछन्। 'गार्मेन्टमा एउटा मजदुरले महिनामा २० हजार रुपैयाँ कमाउन सक्छ,' उनले भने, 'तर, विदेश जान पायो भने त्योभन्दा कममा पनि जाने प्रवृत्ति छ।' केही वर्षअघिसम्म यो उद्योगमा मुस्लिम समुदायका भारतीयको उपस्थिति बाक्लो थियो। बिहार लगायत प्रान्त विकसित हुँदै गएपछि भारतीयहरु उतै फर्किएका छन्।

यहाँका गार्मेन्ट उद्योगले काठमाडौं र विराटनगरबाट कच्चा कपडा ल्याएर पोसाक बनाउँदै आएका छन्। सबै उत्पादन पोखरामै खपत हुँदै आएको व्यवसायी बताउँछन्। 'स्थानीय बजारकै माग पूरा गरिहेका छौं। यहाँ घुम्न आउने विदेशीले नै उत्पादन किन्छन्,' अर्का व्यवसायी चिरञ्जीवी पोखरेल भन्छन्।

श्रेष्ठका अनुसार विदेशी सबैले सुतीका कपडा रुचाउँछन्। सुतीका टिसर्ट, पाइन्ट, ट्राउजर, हाफ पाइन्ट, कुर्ता लगायत सामग्री यहाँका उद्यमीले उत्पादन गर्दै आएका छन्। तयारी कपडामा नेपाल र पोखराका जानकारीमूलक सामग्रीको बुट्टा बनाएर प्रचार गर्दै आएको व्यवसायी उद्धव श्रेष्ठ बताउँछन्। 'पहिलापहिला नेपालसम्बन्धी बुट्टा भरेको कपडा विदेशीले मात्रै किन्थे,' उनले भने, 'अचेल नेपाली पनि आकर्षित भएका छन्।' विदेशमा रहेका आफन्तलाई कोसेली पठाउन नेपालीहरुले पनि यहाँका तयारी पोसाक किन्ने गरेका छन्।

गार्मेन्ट व्यवसायीले उपभोक्ताको रोजाइबमोजिम अर्डरअनुसार टिसर्टलगायत लुगामा फोटो छापिदिने र बुट्टा भर्ने सेवा दिँदै आएका छन्। विदेशीका लागि भनेर व्यवसायीले कपडामा बुद्ध, नेपाल, सगरमाथाका चित्रको बुट्टा बुन्दै आएका थिए। अचले भने स्थानीय उपभोक्ताका मागअनुसार पोखरा र अरु नेपाली सामग्री पनि बुन्न थालिएको श्रेष्ठले जानकारी दिए। 'यहाँको तयारी पोसाकमार्फत विश्वभरि नेपालको प्रचार भइरहेको छ,' उनले भने।

परम्परागत रुपमा सिलाइबुनाइको पेसा गर्नेहरु पनि अचेल वैदेशिक रोजगारीमा जाँदा कालिगढ अभाव भएको श्रेष्ठको अनुभव छ। सरकारी निकायबाट हातेबुट्टा बुनाइबारे तालिम नहुँदा पनि दक्ष जनशक्ति उत्पादन हुन नसकेको उनले बताए। स्थानीय बजारमै उत्पादन बिक्री भइहेकाले उद्यमीले अहिलेसम्म औपचारिक रुपमा विदेश निर्यात सुरु गरिसकेका छैनन्। ब्रान्ड स्थापिन गर्ने गरी पनि उत्पादन थालिएको छैन।

विदेशमा काम गर्ने नेपालीले आर्थिक वर्ष २०६९/०७० मा ४ खर्ब ३४ अर्ब ५८ करोड रुपैयाँ स्वदेश पठाएको नेपाल राष्ट्र बैंकको ताजा तथ्यांकले देखाउँछ। राष्ट्रिय जनगणना २०६८ अनुसार करिब २० लाख नेपाली विदेशमा कार्यरत छन्। गत वर्ष प्राप्त भएको रेमिटेन्सलाई २० लाखले भाग गर्दा प्रतिव्यक्ति वार्षिक रेमिटेन्स २ लाख १७ हजार दुई सय ९० हुन आउँछ। यो मासिक १८ हजार रुपैयाँभन्दा थोरै आम्दानी हो। यति कमाउन लाख रुपैयाँसम्म खर्चेर विदेश जाने युवायुवती स्वदेशमा काम गर्न भने नरुचाउने व्यवसायी बताउँछन्।

Published on: 9 September 2013 | Nagarik

Back to list

;