s
नेपालसँग मिल्दोजुल्दो हावापानी भएको मलेसियामा रोजगारीका लागि पुगेका कतिपय युवा घर परिवारसँगको सम्पर्कबाट विहीन हुने गरेका छन् । मलेसियामा नेपाली कामदारको अवस्थाबारे राजधानीमा शुक्रबार सम्पन्न तीन दिने कार्यक्रमका वक्ताले यस तथ्यलाई औंल्याए । अनुमानित ४ लाखभन्दा बढी नेपाली कार्यरत मलेसियामा कति कामदार परिवारसँग सम्पर्कविहीन छन् भन्ने तथ्यांक भने छैन । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले ७ सयभन्दा बढी नेपाली कामदार घर परिवारको सम्पर्कमा नभएको जानकारी मिलेको जनाएको छ । ती पीडित परिवारले सोधखोज तथा उद्धार गरी स्वदेश फर्काइदिन आग्रह गरेको संस्थाका अध्यक्ष महेन्द्र पाण्डेले बताए ।
'एक सय ६३ व्यक्ति बेपत्ता भएको निवेदनै परेको छ,' उनले कान्तिपुरसँग भने, 'हामीले संकलन गरेको सबै विवरणअनुसार मलेसियामा करिब ७ सय नेपाली घर परिवारको सम्पर्कमा छैनन् ।' मोरङको सिजुवाबाट मात्रै २ सयभन्दा बढी मलेसियाबाट घर नफर्किएको उनले बताए । 'रुकुम, पाल्पा, झापा, इटहरी, चितवन, गोर्खा, सर्लाही सहितबाट बेखबर भएको जानकारी छ,' उनले भने ।
मलेसियाली अधिकारकर्मी, पूर्वराजदूत, मलेसियाबाट फर्केका कामदार, सरकारी अधिकारी र केही संस्थाका प्रतिनिधि सहभागी कार्यक्रममा बेखबर ९ परिवारबारे वृत्तचित्रसमेत पीएनसीसीले प्रदर्शन गरेको थियो । दमक- ८, झापाकी सकुन्तला दवाडी र छोरी अनुषाले रुँदै वृत्तचित्र हेरे । 'घरबाट हिँडेपछि मलेसिया पुगे/नपुगेको कुनै खबर छैन,' ८ वर्षदेखि बेपत्ता श्रीमान् कमलप्रसादको सकुसल पर्खाइमा बसेकी सकुन्तलाले भनिन्, 'पहिला त कहाँ, कसलाई भन्ने पनि थाहा भएन, अब त सोधखोज हुन्छ कि भन्ने लागेको छ ।'
परराष्ट्रको कन्सुलर शाखाका नायब सिष्टाचार महापाल दिलीप पौडेलले परिवारसँग सम्पर्क नगरी बस्नेको संख्या एकिन नभएको सुनाए । गत वर्ष मात्रै ४ सयभन्दा बढीले कन्सुलर शाखामा यससम्बन्धी खबर गरेको बताए । 'वास्तविक बेपत्ता कमै छन्, धेरै त घरपरिवार बिर्सेर बसेका छन्,' उनले कान्तिपुरलाई भने, 'कोही छोरो, कोही श्रीमान् खोजी दिनुपर्योत भनेर रुँदै आउँछन् । हराएकालाई खोज्न सकिन्छ, जिम्मेवारी र नैतिकतलाई बिर्सेर बस्नेहरूलाई के गर्ने ?'
GET IN TOUCH