s

खाडी मुलुकको तातोमा काम गर्ने नेपालीहरूमा भयावह बन्दै मिर्गौलाको समस्या

संखुवासभाका सुरेन्द्र तामाङ कतारमा सामान बोक्ने काम गर्थे। उखरमाउलो गर्मीमा काम गर्न गाह्रो थियो। तर ऋणपान गरेर परदेसिएका उनलाई काम नगर्न छुट थिएन। तातो भावरमा असिनपसिन हुँदै उनी करिब ६ वर्ष खटे।

त्यसपछि भने बिस्तारै उनका हातगोडा गले। सुन्निन थाले। ज्यान फतक्कै गल्थ्यो। खाना पनि राम्रोसँग रूच्न छाड्यो।

सुरेन्द्रको यस्तो अवस्था देखेपछि साथीहरूले उनलाई नेपाल फर्किन सुझाए।

'बिमार भइराख्ने, हातगोडा नै नलाग्ने हुन थाल्यो। काम पनि गर्न नसक्ने भएँ। अनि त फर्किनै पर्‍यो,' ३१ वर्षीय सुरेन्द्रले भने।

दुई वर्षअघि फर्किएका उनले आएलगत्तै काठमाडौंको चाबहिलस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गराए।

रिपोर्ट आयो — दुवै मिर्गौला खराब भइसकेको।

काम गर्नुपर्ने ऊर्जाशील उमेरमा आफ्नो शरीरको अवस्था सुनेर सुरेन्द्र खंग्रङ्ग भए। त्यस दिनदेखि उनको मन उकासिन सकेको छैन।

'अब शरीरले काम गर्न सक्दैन। डायलाइसिसका लागि काठमाडौंमा कोठा लिएर बसेको छु। कमाएको पैसा बसेर खाँदै सकियो,' गत साता सेतोपाटीसँग कुरा गर्दै उनले भने, 'के गर्नु, बल उतै सकेर आइएछ।'

सुरेन्द्रको मिर्गौलामा समस्या वैदेशिक रोजगारीमा गएपछि नै सुरू भएको हो। सबभन्दा पहिले उनी मलेसिया गएका थिए। त्यो बेला स्वास्थ्य परीक्षण गराउँदा उनी स्वस्थ थिए।

मलेसियामा उनी सिम कार्ड र बिजुलीका सामग्री बनाउने कम्पनीमा सामान प्याकिङको काम गर्थे। कम्पनीले हरेक वर्ष स्वास्थ्य परीक्षण गराउँथ्यो। पहिलो वर्ष उनले राम्ररी काम गरे। दोस्रो वर्षमा भने उनको मिर्गौलामा खराबी भएको रिपोर्ट आयो। यसपछि कम्पनीले उनलाई फिर्ता पठाइदियो।

'त्यस बेला त खास समस्या देखिएको थिएन तर जाऊ भनेपछि म फर्किएँ। फर्किँदा ठीकठाक थिएँ। जँचाउन पनि गइनँ। पछि साउदी जाने तयारीमा स्वास्थ्य परीक्षण गराउँदा पनि समस्या देखिएन,' उनले भने।

साउदीमा उनलाई आलुमिनियम कम्पनीमा काम भनिएको थियो। तर तातो सडकमा बिजुलीका खम्बा उठाउनुपर्ने काम पर्‍यो। साहुले तलब पनि नदिएपछि उनी महिना दिनमै फर्किए। त्यसपछि दुई वर्ष नेपाल बसेर उनी फेरि कतार उडेका थिए।

'अब त कामै गर्न नसक्ने अवस्था भयो। आफ्नो बाउ बाजे कसैलाई नलागेको रोग लाग्यो,' सुरेन्द्रले भने, 'अब मिर्गौला फेर्न नि सकिँदैन। त्यत्रो वर्ष दुःख गरेर बचाएको पैसा पनि उपचारमै सकियो।'

यो समस्याका भुक्तमान सुरेन्द्र एक्ला होइनन्। वैदेशिक रोजगारीमा गएका थुप्रै युवाहरूमा स्वास्थ्य समस्या बढ्दै गएको छ। विशेषगरी चर्को गर्मी हुने मलेसिया तथा खाडी मुलुक गएका युवाहरूको मिर्गौला खराब हुने समस्या बढ्दो छ।

ग्लोबल हेल्थ एड्भोकेसी एन्ड रिसर्च (घर) नामक संस्थाले नेपाल विकास समाज र राष्ट्रिय मिर्गौला केन्द्र, काठमाडौंसँगको सहकार्यमा हालै एक अध्ययन गरेको थियो। अध्ययनमा राष्ट्रिय मिर्गौला केन्द्रमा डायलाइसिस गराइरहेका ३५४ जना बिरामी समावेश थिए।

उनीहरूमध्ये ३१ प्रतिशत युवा गर्मी हावापानी भएका देशमा काम गरेर फर्किएका पाइएको घरकी सह-संस्थापक, एन्डोक्रोनोलोजिस्ट तथा सिए डा. पूजा शेरचनले बताइन्।

'विदेशबाट फर्किएका मिर्गौलाका बिरामीमध्ये ७० प्रतिशतले एकदमै गर्मी ठाउँमा काम गरेको बताएका छन्। चर्को गर्मीमा कडा परिश्रम गर्नेहरूमा एकदमै चाँडो मिर्गौला खराब हुने समस्या देखिएको छ,' उनले भनिन्, 'त्यस्तै आधाजसो बिरामीको उमेर चालीस वर्षभन्दा कम छ।'

मानव अंग प्रत्यारोपण केन्द्रको एक अध्ययनले पनि वैदेशिक रोजगारीमा जानेहरूमा मिर्गौला खराबीको समस्या बढ्दै गएको देखाएको छ। केन्द्रले ७५१ जनामा अध्ययन गरेको थियो। तीमध्ये मिर्गौला खराबीको समस्या भएका २१७ जना अर्थात् २८.८९ प्रतिशत विदेशबाट फर्केकाहरू थिए। अधिकांश‍ युवा खाडी मुलुक र मलेसियामा काम गर्थे। उनीहरूमध्ये चालीस वर्षभन्दा कम उमेरका ४१.२५ प्रतिशत थिए।

त्यस्तै त्रिवि शिक्षण अस्पतालको नेफ्रोलोजी विभागको अध्ययन अनुसार मिर्गौला खराब हुनेमध्ये ३० प्रतिशत वैदेशिक रोजगारीबाट फर्किएकाहरू छन्।

नेपालमा स्वास्थ्य परीक्षण गरी निरोगी पुष्टि भएर गएको केही समयमै धेरै युवाहरूलाई मिर्गौलामा समस्या देखिन थालेको यी अध्ययनले प्रस्ट देखाएका छन्। र, यसका पछाडि तातो हावापानी नै मुख्य कारण देखिएको डा. शेरचन बताउँछिन्।

'धेरै तापक्रम भएको ठाउँमा काम गर्दा शरीर पनि ज्वरो आएको बेलाको जस्तै तातो हुन्छ। यसले विभिन्न समस्या निम्त्याउँछ। त्यसैले गर्मीमा काम गर्नु हुँदैन,' उनले भनिन्, 'गर्नैपर्ने हुँदा हरेक ४० मिनेटको खटाइपछि २० मिनेट आराम चाहिन्छ।'

उनका अनुसार यस्तो ठाउँमा काम गर्नेले खानपिनमा विशेष ध्यान दिनुपर्छ। प्रशस्त पानी पिउनुपर्छ। पानी कम हुँदा मिर्गौला खराब हुने जोखिम बढ्छ। तर यसबारे वैदेशिक रोजगारीमा जाने अधिकांशलाई पर्याप्त जानकारी छैन। पानी कम पिउने, पानीको साटो चिसो पेय पदार्थ पिउने गर्नाले कम उमेरमै युवाहरूमा मिर्गौला समस्या देखिएको उनले बताइन्।

घरले गरेको अध्ययनमा सहभागी केही मिर्गौला रोगीहरूले पनि आफूले पर्याप्त पानी नपिएको र तिर्खा लाग्दा चिसो पेय पिएको बताएका छन्।

संखुवासभाकै ३० वर्षीय सागर तामाङ सात वर्ष मलेसियामा काम गरेर फर्केका हुन्। उनका दुवै मिर्गौलाले काम गर्दैन।

मलेसियामा सुरक्षा गार्डको काम गरेका उनलाई भनेको समयमा पानी पिउने मेसो मिल्दैन थियो। धेरैजसो त उनी दिनभरि पानी नै नपिइ उभिन्थे।

'पालो दिने मान्छे हुँदैन थियो। ड्युटी छाडेर जान पनि नमिल्ने,' सागरले भने, 'पानी पिउनतिर ध्यान नै गएन। पछि जचाउँदा दुवै किड्नी फेल भएको रिपोर्ट आयो।'

मिर्गौला रोग पीडित सुरेन्द्रले पनि गर्मीमा पानी पिएका थिएनन्। बरू प्रशस्तै चिसो पेय खाए।

'साहुले दिएको पानी धेरै आइस हालेको र फोहोर हुन्थ्यो। त्यो खानुभन्दा चिसो पेय खानु बेस लागेर त्यही खान्थेँ,' उनले भने, 'त्यस्तो रापमा पानीको सट्टा चिसो पेय खाएरै मेरो मिर्गौला बिग्रेको होला!'

गर्मीमा के खाने, के नखाने, कसरी सुरक्षित भएर काम गर्ने भन्नेबारे जानकारी नहुँदा सुरेन्द्र र सागर जस्ता थुप्रै युवा अहिले मिर्गौला रोगका शिकार भएको डा. शेरचन बताउँछिन्।

वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा पूर्वप्रस्थान अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था सरकारले गरेको छ। यो तालिमको उद्देश्य विदेश जानुअगाडि आवश्यक विभिन्न जानकारी दिनु हो। यसका लागि तालिम प्रदायक केही संस्थाहरू पनि छन्। तर धेरै युवाले यस्तो तालिम नलिएको पाइएको छ। सुरेन्द्रले पनि अहिलेसम्म यस्तो कुनै तालिम नलिएको सेतोपाटीलाई बताए।

'तालिम पनि लिनुपर्छ र? मलाई त केही पनि जानकारी छैन त। तीनवटा देश गएँ, अहिलेसम्म कुनै तालिम लिएको छैन,' उनले भने।

कतिपय युवामा विदेश नजाँदै मिर्गौलाको समस्या सुरू भए पनि कहिलेकाहीँ परीक्षण रिपोर्टमा देखिँदैन। रोगका सुरूआती लक्षण नदेखिने, कहिलेकाहीँ स्वास्थ्य संस्थाले राम्ररी परीक्षण नगरिदिने, खराबी देखिए पनि मिलेमतोमा स्वास्थ्य राम्रो भएको रिपोर्ट दिने भएकाले पनि समस्या हुने गरेको छ। त्यस्तै केही देशले मिर्गौला सम्बन्धी परीक्षण नै नखोज्ने भएकाले पनि स्वास्थ्य रिपोर्टमा यसबारे उल्लेख नहुने डा. शेरचनले बताइन्।

'मान्छेको मिर्गौलाले ३० प्रतिशत मात्रै काम गरेको छ भने पनि कुनै लक्षण देखा नपर्न सक्छ। मानिसलाई सामान्य नै महसुस भइरहन्छ। त्यसैले बेलैमा समस्या थाहा पाउन कम्तीमा पनि वर्षको दुईपटक परीक्षण गराइरहन आवश्यक छ,' उनले भनिन्।

वैदेशिक रोजगारीमा गएका श्रमिकको स्वास्थ्य परीक्षण गराउने व्यवस्था मिलाउन सरकारले पहल गर्नुपर्ने उनी बताउँछन्। हाल केही देशले मात्र श्रमिकको स्वास्थ्य परीक्षण गरिदिन्छन्। तीमध्ये अधिकांशमा मिर्गौला परीक्षण भने पर्दैन। त्यसैले श्रमिकहरूमा अचानक समस्या देखिने गरेको छ।

गर्मी ठाउँमा काम गर्ने र गरेर फर्किएकाहरूमा मिर्गौला रोगको जोखिम धेरै भएको अर्को एउटा अध्ययनले पनि देखाएको छ। गत वर्ष बेलायतको बर्नमथ विश्वविद्यालयको टिम नेपाल आएको थियो। त्यो टिमले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकामा खाडीबाट एक वर्षअघि फर्किएका ७१८ जना पुरूषसँग कुरा गरेको थियो। ती पालिकामा एक वर्षअघि विदेशमा 'आउटडोर' ड्युटी गरेर फर्किएका पुरूषहरू मात्रै भेटिएकाले उनीहरूलाई मात्र अध्ययनमा समावेश गरिएको थियो।

टिमले ती पुरूष र वैदेशिक रोजगारीमा नगएका ७२० जना (महिला र पुरूष) स्थानीयको स्वास्थ्य तुलना गरेर अध्ययन गरेको थियो। सो टिमका अध्येता एवं मिर्गौला रोग विशेषज्ञ डा. निर्मल अर्यालका अनुसार सुरक्षा गार्ड, चालक र निर्माण क्षेत्र लगायतमा काम गर्नेहरूको मिर्गौला जोखिममा रहेको पाइएको छ।

'हामीले उनीहरूको मिर्गौलाले एक मिनेटमा कति रगत छान्छ भनेर हेरेका थियौं। दुवै समूहको तुलना गर्दा विदेश जानेहरूको मिर्गौलाको कार्यक्षमतामा कमी आएको देखिएको थियो,' उनले भने।

यसरी कमाउन भनेर विदेश गएकाहरू रोग बोकेर फर्किने र कमाएको पैसा पनि उपचारमा सकिने अवस्था बढ्दै गएको देखिएको छ। सरकारले मिर्गौला रोगीका लागि डायलाइसिस सेवा निःशुल्क गरिदिए पनि औषधि, आवश्यक रगतको खर्च बिरामीले नै बेहोर्नुपर्छ। काम गर्न नसक्ने र लामो समय उपचार गराइरहँदा धेरै बिरामीलाई यो खर्च जुटाउन हम्मे पर्छ।

बागलुङका अर्जुन दमाईलाई अहिले यही समस्याले सताइरहेको छ। मलेसियामा चार वर्ष मजदुरी गरेर फर्केपछि उनी साउदी गएका थिए। त्यहाँ अत्यधिक गर्मीमा क्लिनरको काम गरे। गएको दुई महिनामै उनी बिरामी परे। जचाउँदा दुवै मिर्गौलाले काम नगर्ने भइसकेका थिए।

उनी २०७५ सालमा फर्किए।

'हप्तामा तीन दिन उहाँको डायलाइसिस गराउनुपर्छ। औषधि जोहो गर्न पनि गाह्रो पर्छ,' अर्जुनकी श्रीमती सीता दमाईले भनिन्, 'अलिअलि कमाएको सबै सकियो। उहाँ काम गर्न सक्नुहुन्न। म दुइटा घरमा काम गरिरहेकी छु। घरखर्च, डेराभाडा, छोरीको पढाइ खर्च, उहाँको उपचार धान्न साह्रै गाह्रो छ।'

यस्तो अवस्थामा कम्तीमा उनीहरूलाई वैदेशिक रोजगारीमा जानुअघि उनीहरूले पैसा जम्मा गरेको वैदेशिक रोजगार कल्याणकारी कोषबाट केही सुविधा दिनुपर्ने स्वास्थ्य अध्येताहरू बताउँछन्।

त्यस्तै जाने देशको हावापानी, स्वास्थ्यको ख्याल कसरी राख्ने जस्ता विषयमा परामर्श, प्रभावकारी सचेतनामूलक कार्यक्रम र बेलाबेलामा मिर्गौला परीक्षण गराउने व्यवस्था आवश्यक रहेको घरका सहसंस्थापक तथा अमेरिका मिसिगनका नेफ्रोलोजिस्ट डा. शैलेन्द्र शर्माले बताए।

'मलेसिया तथा खाडी मुलुकमा ठूलो संख्यामा नेपालीहरू जान्छन्। उनीहरूको स्वास्थ्यमा समस्या बढ्दै गए जनस्वास्थ्य संकट निम्तिन्छ,' ‍डा. शर्माले भने।

युवाहरूलाई सचेत बनाएर पठाउन र गन्तव्य मुलुकमा श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्न त्यहाँको सरकारसँग लबिङ गर्न अनुसन्धानकर्ताहरूले बेलाबेलामा सरकारलाई सुझाव पनि दिँदै आएका छन्। तर सरकारले त्यतातिर ध्यान नदिँदा यो समस्या अझ बढ्दै गएको उनीहरूको गुनासो छ।

Published on: 27 August 2024 | Setopati

Link

Back to list

;