s

लेबनानको ‘परिस्थिति हेर्दै’ नेपाली श्रमिक

काठमाडौँ — कञ्चनपुरकी सोमती तामाङ लेबनानको राजधानी बेरुतस्थित दाउरा क्षेत्रमा काम गर्न थालेको २० वर्ष पुगिसक्यो । बेरुत आएदेखि लेबनानमा उनले कहिले पनि शान्ति छाएको महसुस गर्न पाएकी छैनन् ।

‘म २००४ मा घरेलु श्रमिक बनेर लेबनान आएकी थिएँ, अहिले आफ्नो स्पोन्सरबाहेक पनि स्वतन्त्र रूपमा काम गर्छु, कहिले घरमा, कहिले अफिसमा काम गर्छु,’ उनले भनिन्, ‘जसरी मेरो काम एउटै छ, त्यसरी नै लेबनानको वातावरण पनि उस्तै छ ।’

सधैंभरि इजरायल, लेबनान र हिजबुल्लाहबीचको आपसी द्वन्द्वको समाचार सुनिराख्ने भएकाले आफ्ना लागि नयाँ कुरा र आश्चर्य नभएको उनले सुनाइन् । ‘२००६ मा पनि धेरै ठूलो लडाइँ भएको थियो, त्यो हेरी अहिले त कोही होइन । त्यसबाहेक पनि प्रायःजसो लडाइँ भई नै राखेको छ,’ बेरुतको दाउरामा बस्दै आएकी उनले भनिन्, ‘बुधबार यहाँ दायिहयामा ठूलो आक्रमण भएको थियो, त्यो आक्रमण हामी बस्ने ठाउँबाट नजिकै हो ।’

इजरायलद्वारा दायिहयामा गरिएको आक्रमणमा परी हिजबुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि लेबनान र इजरायलबीच तनाव झनै बढेको छ । बुधबार बिहान नै हमासका राजनीतिक प्रमुख पनि इरानमा मारिएपछि मध्यपूर्वको सुरक्षा अवस्था झन् जटिल बनेको छ । त्यसअघि इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट आक्रमण गरेको थियो । गत वर्ष अक्टोबरदेखि इजरायल र हमासबीच गाजामा युद्ध सुरु भएयता लेबनानका तर्फबाट बुधबार इजरायलमा भएको रकेट आक्रमण सबैभन्दा ठूलो हो ।

यो घटनापछि बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा कार्यरत नेपाली श्रमिकलाई सतर्कता अपनाउन सूचना जारी गर्नुका साथै लेबनानमा कार्यरत नेपालीको विवरण संकलन गर्न थालेको छ । ‘विकसित घटनाक्रमको निरन्तर अनुगमन गरिरहेको एवं नेपाली नागरिकको सुरक्षाका लागि बेरुतस्थित अवैतनिक वाणिज्य दूतावासमार्फत सम्बन्धित निकायसँग समन्वय गरिरहेको’ सूचनामा उल्लेख छ । लेबनानमा कार्यरत हेटौंडाका अशोक थापाले आफूहरू पछिल्लो घटनाक्रमबारे ‘अपडेट’ रहेको बताए । ‘लेबनानमा जहाँ बम आक्रमण भएको छ, त्यो मुस्लिमको

बाहुल्य रहेको क्षेत्र हो । त्यो ठाउँ नेपाली रहेको ठाउँबाट बसमा दुई घण्टा जति लाग्छ । त्यो क्षेत्रमा नेपाली छैनन्,’ गैरआवासीय नेपाली संघ लेबनानका पूर्व अध्यक्ष रहेका थापाले भने, ‘बेरुत क्षेत्रको अवस्था सामान्य छ । पहिला जस्तो थियो, अहिलेको जनजीवन पनि उस्तै छ ।’

उनले नेपालीको बसाइ क्रिश्चियन बाहुल्य रहेको क्षेत्रमा रहेकाले आफूहरू ढुक्क रहेको बताए । ‘यहाँ जति नेपाली छन्, सबैजसो एकआपसमा सम्पर्कमै छन् । नयाँ कोही आएका छन् भने उनीहरू सम्पर्कमा छैनन्,’ उनले भने, ‘कोही आत्तिएका छैनन्, लेबनानीहरू पनि आत्तिएका छैनन् ।’

१६ वर्षदेखि बेरुतमा कार्यरत झापाकी दिलु लिम्बूले परिस्थति खराब बन्दै गयो भने मात्र नेपाल फर्कने बताइन् । ‘अहिले बेरुतको जे अवस्था छ, त्यसमा आत्तिहाल्नुपर्ने अवस्था छैन,’ लिम्बूले भनिन्, ‘आफ्नो ज्यानको माया जसलाई पनि लाग्छ, त्यस्तै संकटको अवस्था आयो भने मात्र मुलुक फिर्नेछु ।’

१२ वर्षदेखि लेबनानमा कार्यरत सिन्धुपाल्चोककी माया तामाङले आफू तत्काल घर फर्कने सोचमा नरहेको बताइन् । ‘म अहिले बेरुत नजिकै पहाडी क्षेत्रमा लेबनानीको घरमा काम गरिरहेको छु, हामी बसेको ठाउँमा केही भएको छैन । तर, मेरो घरको साहु–साहुनीले तिम्रो दूतावास बेरुतमा छ कि छैन भनेर सोधिरहेका छन्,’ उनले भनिन्, ‘म यहाँ आएदेखि सधैं लडाइँ मात्र भएको सुनिरहेको छु । मैले अहिलेसम्म त्यस्तो असर परेको भोगेको छैन ।’

लेबनान मामिला हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा कार्यरत नेपाली श्रमिकलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नयाँ परिस्थिति कस्तो हुन्छ भनेर यकिन गर्न सकिने अवस्था नभएको बताए । ‘हामी छिमेकी देशलगायतको अप्रोज कस्तो हुन्छ भनेर नियालिरहेका छौं,’ उनले कान्तिपुरसँग भने, ‘युद्धबाट प्रभावित ठाउँमा नेपाली नरहेकाले बढी आत्तिहाल्नुपर्ने अवस्था छैन ।’

गत वर्ष लेबनान सरकारले १ हजार ५० नेपाली रहेको विवरण दूतावासलाई उपलब्ध गराएको थियो । पछिल्लो समय यो संख्या थप घटेको छ । लेबनानस्थित नेपालका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद विसाम घुजायलले नेपाली नागरिकलाई आपत्कालीन सहयोग चाहिएमा आफू तुरुन्तै उपलब्ध हुने बताए ।

‘अहिलेसम्म कुनै पनि कूटनीतिक नियोगले यात्राका लागि आह्वान गरेको छैन । यस क्षेत्रको अवस्था अस्पष्ट छ । हामी उपयुक्त निर्णय गर्न समय लिइरहेका छौं । नेपाली समुदाय सुरक्षित छन्,’ उनले कान्तिपुरसँग भने, ‘तिनीहरूमध्ये धेरैजसो रोजगारदाताहरूसँग सुरक्षित क्षेत्रमा काम गरिरहेका छन् । हामी रोजगारदाताहरूसँग निरन्तर सम्पर्कमा छौं । कुनै पनि आपत्कालीन अवस्था आइपरेमा कायरोस्थित दूतावास र परराष्ट्र मन्त्रालयसँग समन्वय गरिनेछ ।’

Published on: 5 August 2024 | Kantipur

Link

Back to list

;