s

नेपाली महिला डेढ वर्षदेखि ओमानको अस्पतालमा अचेत

विराटनगर — झापाको मेचीनगर–१० धुलाबारीका सञ्जय कँवरलाई आमा बिनादेवी ओमान गएको थाहै थिएन । ओमान पुगेर बिनादेवीले नै घरमा सम्पर्क गरेपछि मात्र उनले चाल पाए । अघिल्लो पटक कुवेत जाँदा पनि सञ्जयले पत्तै पाएका थिएनन् । २०७५ पुसतिर कुवेत उडेकी बिनादेवी १४ महिनापछि फर्किएकी थिइन् । भनिएजस्तो काम नभएर कुवेतबाट फर्किएको महिना दिन नबित्दै उनी पुनः खाडी मुलुक ओमान उडेकी थिइन् ।

लोपोन्मुख आदिवासी समुदायकी बिनादेवी विदेश जानुअघि मेचीनगर–७ स्थित राज टी इस्टेटमा चियापत्ती टिप्ने श्रमिक थिइन् । उनका पति कारखानामा काम गर्थे । कोभिड महामारीअघि जागिरबाट अवकाश पाउनेबित्तिकै उनी विदेश हानिएकी थिइन् । कुवेतमा भनेजस्तो काम नभएको भन्दै उनी घर फर्केकी थिइन् ।

पहिले कुवेत पठाउने दलालले नै बिनादेवीलाई ओमान उड्न पनि सहयोग गर्‍यो । घरेलु कामदारका रूपमा नेपाली महिलालाई खाडी मुलुक जान सरकारले प्रतिबन्ध लगाएको छ । त्यसैले दलालले भारतीय बाटो प्रयोग गरेर नेपाली महिलालाई खाडी पुर्‍याउँछन् । बिनादेवी पनि पहिले कुवेत र पछि ओमान पनि भारतको बाटो हुँदै उडेकी थिइन् । तर ओमानमा उनी घर फर्किनै नसक्ने गरी थला परेकी छन् । उनी २०७९ माघ २३ देखि ओमानको एक अस्पतालमा जीवनमरणको दोसाँधमा छिन् ।

सुरुमा गएको कम्पनीमा ६ महिना मात्रै काम गरेर बिनादेवीले अर्को कम्पनीमार्फत काम गर्ने घर फेरेकी थिइन् । डेढ वर्ष जति अवैध रूपमा काम गरेकी उनले दुर्घटना हुनु केही समयअघि मात्रै वैधानिकता पाएकी थिइन् । उनी घरमा काम गर्दागर्दै ढलेको सहकर्मीहरूले परिवारलाई जानकारी दिएका थिए । छोरा सञ्जयका अनुसार ओमानस्थित नेपाली दूतावासले पनि घटनाबारे औपचारिक जानकारी त गरायो । तर त्यसका लागि परिवारले झन्डै ६ महिना कुर्नुपर्‍यो । चिकित्सकहरूका अनुसार बिनादेवीलाई हृदयाघात भएको थियो ।

‘लडेको दिनदेखि आमाको अहिलेसम्म होस आएको छैन,’ सञ्जयले सुनाए, ‘आमा कुन अस्पतालमा कुन हालतमा हुनुहुन्छ, थाहा छैन ।’ उनले ओमानबाट आमालाई नेपाल ल्याउन पाए यतै हुने जति उपचार गर्ने बताए ।

ओमानस्थित नेपाली दूतावासले पनि बिनादेवीलाई नेपाल पठाउने आश्वासन परिवारलाई दिएको थियो । त्यसका लागि सबै विवरण पनि मागिएको थियो । मेचीनगर नगरपालिकाले पनि गत वर्ष उद्धार गर्ने आश्वासन दिएको थियो । ‘काठमाडौंसम्म नगरपालिकाले ल्याइदिने त्यसपछि घरसम्म आफैं ल्याउनुपर्ने भनेर एउटा कागजमा मलाई हस्ताक्षर गराइएको थियो,’ सञ्जयले भने, ‘नगरपालिकाले पनि आश मात्रै देखायो ।’ मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले बिरामीको उद्धारका लागि पहल गरेको तर नगरको पहल मात्रैले उद्धार असम्भव भएको बताए । उनले पराराष्ट्र मन्त्रालय, ओमानस्थित नेपाली दूतावाससहितको पहलमा मात्रै बिनादेवीलाई उद्धार गर्न सकिने जनाए । ‘धेरै प्रयत्न गरिरहेका छौं । तर सार्थक भइरहेको छैन,’ प्रमुख बुढाथोकीले भने, ‘हामीले पहल छाडेका छैनौं ।’

आमाको उद्धारका लागि ५०/६० हजार रुपैयाँ व्यवस्थापन गरेका थिए सञ्जयले । तर उद्धार गर्नै ८/९ लाख रुपैयाँ खर्च लाग्ने थाहा पाए पछि त्यत्रो रकम कसरी जुटाउने भन्ने चिन्ताले उनी पिरोलिएका छन् । खर्च जुटाउँदा पनि आमाको उद्धार हुन्छ या हुन्न भन्ने अलमलमा उनी छन् । बिनादेवी अस्पतालमा अचेत भएको थाहा पाएपछि उनलाई ओमान पठाउने दलाल पनि बेपत्ता भएको परिवारको भनाइ छ । ‘आमालाई पठाउने दलाल धुलाबारीनजिकै खयरडाँगीमा बस्थे,’ सञ्जयले भने, ‘आमा बिरामी भएको खबर थाहा पाएपछि बेपत्ता छन् ।’

बिनादेवीको अवस्थाबारे सांसद तथा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले चासो व्यक्त गर्दै उद्धार र त्यसपछिको उपचार प्रबन्धमा पहल गर्ने आश्वासन दिएका छन् । शुक्रबार बिनादेवीको परिवारलाई भेटेपछि उनले ओमानस्थित नेपाली राजदूत डोरनाथ अर्याललाई फोन गरी अवस्था बुझेका थिए । राजदूत अर्यालका अनुसार सरकारी अस्पताल सुल्तान काबुसमा बिनादेवीको उपचार भइरहेको छ । ‘उनको अवस्था गम्भीर छ । तत्काल स्वदेश फर्काउन गाह्रो छ,’ राजदूत अर्यालले भनेका छन् । बिनादेवीको अवस्था बुझ्न छोरा सञ्जयलाई ओमान पठाउने पहल पनि भइरहेको छ । ‘आमाको अवस्था बुझेर छोरा फर्किनेछन्,’ महामन्त्री शर्माले भने, ‘आमासँग भेट गराउने सबै चाँजो दूतावासले मिलाउनेछ ।’

Published on: 20 August 2024 | Kantipur

Link

Back to list

;