s

रूस–युक्रेन युद्धले खोसेको गजमेर परिवारको खुसी

५ भदौ, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–७ केमलीपुरकी सहुमाया गजमेर छोरा बिमललाई सम्झेर छिनछिनमा भावविह्वल हुन्छिन् । कहिले बिमल जिउँदो होला भन्ने आशाले मन थाम्छिन् । कहिले गुमाइसकेको हुनसक्ने डरले आँखाभरि आँशु पार्छिन् ।

वर्ष दिन हुन लागिसक्यो सहुमायाको खुसी हराएको । रुसी सेनामा भर्ना हुन पुगेका २९ वर्षीय बिमल सम्पर्कविहीन भएपछि गजमेर परिवारको खुसी खोसिएको छ ।

‘घरि जिउँदो छ जस्तो लाग्छ, घरि युद्धमा मारिए कि भन्ने लाग्छ । वर्ष दिनदेखि यस्तै मनको गुन्धुनमा छु’, सहुमायाले बह पोखिन्, ‘अहिलेसम्म न सास पाएँ, न लास ।’

बिमल तीन वर्षअघि वैदेशिक रोजगारका लागि दुबई पुगेका थिए । तर त्यहाँको कमाइमा उनलाई चित्त बुझेको थिएन । त्यही बेला रुसी सेनामा धेरै कमाइ हुन्छ भन्ने साथीहरुबाट सुने । रुसी सेनामा ४/५ लाखको मासिक कमाइ हुन्छ भन्ने सुनेपछि जाने निधो गरे ।

परिवारका सदस्यले त नजान सम्झाएका थिए । तर केही हुन्न भन्दै बिमलले आश्वस्त बनाए ।

बुबा तिलकका अनुसार रुसी सेनामा भर्ना हुन बिमल २० भदौ २०८० मा दुबईबाट रसिया पुगे । फोनमा कुराकानी हुने गरेको थियो । असोज ११ गते बिमल र परिवारका सदस्यहरुबीच कुराकानी भएको थियो । त्यसबेला उनले तीन महिना लामो तालिममा जान लागेको सुनाए ।

‘हाम्रो टिममा सात जना नेपाली र दुई जना रसियन सेना पनि छन् । सँगै जाँदैछौं । चिन्ता नलिनु होला’, अन्तिम पटक छोरा बिमलसँग भएको कुराकानी सम्झिँदै बुबा तिलक सुनाउँछन् ।

त्यसपछि भने बिमल सम्पर्कमै आएनन् । विभिन्न व्यक्तिमार्फत परिवारले पत्ता लगाउन प्रयास गर्‍यो ।

तिलकका अनुसार, रुसी सेनामा भर्ना भएर भागेका दोलखा चरिकोटका रामचन्द्र श्रेष्ठसँग भएको कुराकानीले झस्कायो । ८/१० दिनको तालिम दिन्छ, अनि युद्ध मैदानमा पठाइदिन्छन् । केको ३ महिना तालिम दिनू’ रामचन्द्रसित भएको कुरा सम्झिँदै बुबा तिलक भन्छन्, ‘यसले हामीलाई चिन्तामा पार्‍यो ।’

रुसी सेनामा भर्ना भएका नेपालीको मृत्यु भएको हरेक खबरले गजमेर परिवारलाई झस्काउँथ्यो । गत चैतमा त सरकारले नै रुसी सेनामा मारिएकामध्ये बिमल पनि हुनसक्ने आशंका गर्दै बाबु र आमाको डीएनए नमुना माग्यो ।

रुस सरकारले युद्धका क्रममा मारिएका १५ जना नेपालीको शव पहिचानको लागि जेनेटिक टेस्ट गर्न परिवारको डीएनए नमुना संकलन गरेर पठाउन आग्रह गरेको थियो । सम्पर्कविहीन भएकाहरुको नमुना लिने क्रममा नेपाल सरकारले बिमलका बुबा र आमाको पनि २ चैत २०८० मा डीएनए नमूना लियो ।

तर नमूना लगेको पाँच महिना बित्दा समेत उनको अवस्थाबारे परिवार अनभिज्ञ छ ।

आफ्नो छोराको खोजीका लागि सरकारले नै चासो नदिएकोे आमा सहुमायाको गुनासो छ । ‘सरकारले मेरो छोरा खोज्न चासो देखाएको छैन’ भावविह्वल हुँदै आमा सहुमायाले दुखेसो पोखिन्, ‘चैतमै हाम्रो रगतको नमूना पनि लगेको थियो । तर अहिलेसम्म न त सास पत्ता लगाएको छ, न त लास ।’

युक्रेन पक्षले केही नेपालीलाई बन्धक बनाएको छ भनेर सुन्दा दाइ बिमल पनि जिउँदो होला भन्ने झिनो आशा लाग्ने गरेको बिमलकी बहिनी अञ्जु सुनाउँछिन् ।

कमजोर आर्थिक अवस्थाका बिमलको वैदेशिक रोजगारीको यात्रा दुबई पहिलो थिएन ।

कक्षा १० सम्म पढेका बिमलले परिवारको कमजोर आर्थिक अवस्थाकै कारण वैदेशिक रोजगारीको बाटो रोजेका थिए । बुबा तिलकका अनुसार पहिलो पटक उनी मलेसिया पुगे । अपेक्षित कमाइ नभएपछि १४ महिनामा घर फर्किए । त्यसपछि कतार गए । त्यहाँ १२ महिना बुबा तिलकसँगै बसेर काम गरे ।

तर स्वास्थ्यमा समस्या भएपछि घर फर्किए । बुबा तिलक पनि फर्किसकेका थिए । बिमल नेपालमै व्यवसाय गर्ने योजना बनाए । ९ लाख रुपैयाँ ऋण लिएर बंगुर फारम खोले । तर राम्ररी चल्न सकेन । पहिलाकै चार लाख ऋण थियो ।
बंगुर फारम पनि डुबेपछि ऋण तिर्नकै लागि बिमल पुनः वैदेशिक रोजगारीमा जानुपर्ने भयो । यो पटक दुवई जाने निर्णय लिए । बुबातिलकका अनुसार राम्रो कमाइ हुन्छ भनेर एजेन्टले चार लाख रुपैयाँ लिएका गिए ।

तर मासिक ३०–३५ हजार रुपैयाँ मात्र बचत भयो । यो कमाइले नेपालको ऋण तिर्न लामो समय लाग्ने सोचिरहेको बेला बिमलले साथीहरुबाट रुसी सेनामा भर्ती भए राम्रो कमाइ हुने सुने ।

‘हामी थोरबहुत सम्झायौं, तर केही हुन्न भनेर हामीलाई नै विश्वस्त बनायो । तर छोरा फर्किएन’ बुबा तिलक भन्छन्, ‘रसिया ठीक छैन भन्न हामीलाई थाहै थिएन । नत्र जसरी पनि रोक्थ्यौं ।’

बिमल तिलक र सहुमायाका कान्छो छोरा हुन् । जेठो राजन, माइलो केशर र साइलो पवन छुट्टिइसकेका छन् । जेठी छोरी सुनिताको बिहे भइसकेको छ भने कोमल र अञ्जु आमाबाबुसँगै छन् ।

परिवारको आर्थिक स्थिति कमजोर हुँदा भरथेग गर्ने बिमल नै बेपत्ता भएपछि परिवार थप पीडामा छन् । आमा सहुमाया सरकारसँग हारगुहार गर्छिन्, ‘मेरो छोरा खोजिदिनु पर्‍यो ।’

Published on: 22 August 2024 | Onlinekhabar

Link

Back to list

;