s
काठमाडौँ — रुस र युक्रेनबीच एक सय १५ जना युद्धकैदीहरु साटासाट भएपनि ७ जना नेपाली परे/नपरेको पुष्टि भएको छैन । रुसी सेनामा भर्ना भई युक्रेनविरुद्ध लड्न गएकामध्ये ७ जना नेपालीलाई युक्रेनले युद्धबन्दीको रुपमा कैद गरी राखेको छ । संयुक्त अरव इमिरेट्स (युएई)को मध्यस्थतामा रुस र युक्रेनबीच एक सय १५ जना गरी दुई सय ३० जनालाई साटासाट गरिएको हो ।
युएईको विदेश मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा आफ्नो मध्यस्थतामा कैदी साटासाट भइसकेको जनाइएको छ । यो वर्षभित्र गरिएको यो सातौँ कैदी साटासाट हो । अहिलेसम्म १७ सय ८८ जना युद्धकैदी साटासाट भइसकेको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कुर्सक क्षेत्रमा पक्राउ परेका सेनाहरु साँटिएको पुष्टि गरेका छन् । दुई वर्षदेखि युद्ध भइरहेको दुई देशबीच शान्ति वार्ता नभए पनि युद्धकैदी आदानप्रदान गर्न युएईले मध्यस्धता गर्दै आइरहेको छ ।
युक्रेनको कब्जामा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन, मकवानपुरका ईश्वर लामिछाने, चितवनका सुजन सुवेदी र मदन दाहाल युद्धका क्रममा युक्रेनी सेनाको कब्जामा परेका छन् । सुवेदी र दाहाल युक्रेनी सेनाको कब्जामा परेको पछिल्लो समयमा हो ।
परराष्ट्र मन्त्रालयले ती ७ जना नेपाली युद्धकैदी साटासाटमा परे-नपरेको खबर आइनसकेको जनाएको छ । परराष्ट्रले युक्रेनी सेनाको कब्जामा रहेका नेपालीहरूलाई छुटाउनका लागि सरकारले निरन्तर पहल गरिरहेको दाबी गरेको छ ।
गत चैतको पहिलो हप्ता युक्रेनले ५ जना नेपाली सहित ८ जना रुसी सेनामा कार्यरत अन्य मुलुकका नागरिकहरूलाई एकै पटक सार्वजनिक गर्दै आफ्ना नागरिकलाई रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा रोक लगाउनका लागि पनि सार्वजनिक रूपमै आग्रह गरेको थियो ।
राजधानी किभमा भएको पत्रकार सम्मेलनमा कमजोर आय भएका देशका केही नागरिकहरूलाई रूसले भर्ती गर्ने र युद्धमा आˆनो हतियारका रुपमा प्रयोग गर्ने उच्च सम्भावना रहेको युक्रेनी सरकार ‘ट्रिटमेन्ट अफ प्रिजनर्स अफ वार’ हेडक्वार्टरका संयोजक पेट्रो यात्सेन्कोले वताएका थिए । गत पुष २३ गते युक्रेन हेर्ने जर्मनीस्थित नेपाली राजदुत रामकाजी खड्का र जर्मनीका लागि युक्रेनी राजदूतबीच भएको शिष्ट्राचार भेटमा युक्रेनले युद्धबन्दी साटासाट भएको बेला नेपालीलाई छाडिने बताएका थिए ।
रुस–युक्रेन युद्ध लड्न रुसी सेनामा भर्ती भएकामध्ये ३६ जना नेपालीको मृत्यु भइसकेको पुष्टि भइसकेको छ । अहिलेसम्म रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने बारेमा नेपालले पटक–पटक रुसलाई आग्रह गर्दासमेत जवाफ दिन मानेको छैन ।
Published on: 26 August 2024 | Kantipur
GET IN TOUCH