s
साउदी अरबस्थित अलदाम अल मुजराफ को-अपरेसन एण्ड मेन्टेनेन्स कम्पनीमा गएका एक युवाले यहाँ म्यानपावरले भनेको जस्तो तलब तथा सेवासुविधा नपाएको गुनासो गरेका छन्।
ती युवा लोड अनलोड कामका लागि गण्डकी ओभरसिज कन्सर्न प्रालि नामक म्यानपावर कम्पनीमार्फत गएका थिए।
म्यानपावरलाई दुई लाख बुझाएर गएका उनलाई बेसिक तलब नै मासिक एक हजार रियाल भनिएको थियो। खाना खर्च कम्पनीले दिने र ओभरटाइम समेत गर्न सकिने हुँदा राम्रो तलब हुने सुनाइएको थियो।
केही समयअघि पुगेका उनी अहिले काममा एकदमै पेलिनुपर्छ। तर, तलब ८०० रियाल मात्रै पाउँछन्। खाना खर्च पनि कम्पनीले नदिएको उनको गुनासो छ। कम्पनीले दुःख दिने हो कि भन्ने डरका कारण उनले आफ्नो परिचय भने खुलाउन चाहेनन्।
उनी त एउटा प्रतिनिधि पात्र मात्रै हुन्। उनी जस्ता सप्लाइ कम्पनीमा गएका अधिकांश युवाहरूले दुःख पाइरहेको गुनासो बढेको छ। यहाँ हुँदा गरिएको करार सम्झौताअनुसार काम, तलब तथा सेवासुविधा रोजगारदाताले नदिने गरेको पाइएको छ। त्यस्तै त्यहाँ पिउन र सरसफाइ लगायतका लागि प्रयोग हुने पानी समेत किन्नु पर्ने अवस्था रहेको पाइएको छ।
केही समयअघि साउदीको दमामस्थित २१ जना नेपालीले पनि गएको लामो समय काम पाएका थिएनन्। उनीहरूलाई इलेक्ट्रिसियन, पेन्टर, वेटर लगायत विभिन्न कामका लागि दैलेख ओभर्सिज म्यानपावरले सप्लाई कम्पनीमा पठाएको थियो। काम गर्नका लागि गएका उनीहरू लामो समय बिना काम अव्यवस्थित तरिकाले बस्नु परेको गुनासो गरेका थिए।
त्यसैगरी, सिनामंगलमा रहेको न्यू एसभी इन्टरनेसनल प्रालि र सामाखुसीमा रहेको अल अमल ओभरसिज प्रालि नामक म्यानपावर कम्पनीले साउदीमा क्लिनर कामका लागि एक सप्लाई कम्पनीमा पठाएका ३० जना नेपाली समस्यामा परेको गुनासो आएको थियो।
यी दुई म्यानापवर कम्पनीले साउदीको जेद्धास्थित अल मदिना कन्स्ट्रक्सन कन्ट्र्याक्टिङ कम्पनीमा पठाएका ४० जनामध्ये अत्यधिक गर्मीमा कामको पेलान, पिउने पानी अभाव जस्ता कारण एक जनाको मृत्यु भएको ९ जना कामबाट भागेको र बाँकी ३० जनालाई खान बस्न समेत समस्या परेको विषयमा सेतोपाटीले लेखेको थियो।
उनीहरूलाई क्लिनर काम भनेर भारी बोक्न लगाइएको र भने जति तलब पनि नदिएको गुनासो थियो। अहिले केहीको समस्या सुल्झिए पनि अझै कतिपय समस्यामै रहेको त्यहाँ कार्यरत सुशिलकुमार मन्डलले गुनासो गरेका छन्।
नेपाली साझा मञ्च साउदी अरबका अध्यक्ष अन्जान गुभाजुले पछिल्लो समय सप्लाई कम्पनीमा साउदी जाने नयाँ श्रमिकहरू एकदमै समस्यामा पर्ने घटना बढिरहेको बताए।
उनका अनुसार श्रमिकहरूलाई नेपालमा सम्झौता गरेअनुसारको काम र तलब नदिने समस्याले एकदमै विकराल रूप लिइरहेको छ।
'समस्यामा परेका दर्जनभन्दा बढी त हाम्रो सम्पर्कमा हुनुहुन्छ। नेपालबाट आउँदा दैनिक आठ घण्टाको एक हजार रियाल त्यसमा खाना र ओभरटाइम काम समेत गर्दा १३०० रियालसम्म कमाइ हुन्छ भनेर सम्झौता गर्ने गरिएको रहेछ। यहाँ आएपछि १२ घण्टा काम लगाएर ८०० रियाल तलब मात्रै दिने गरेको पाइएको छ,' उनले भने।
त्यसमाथि त्यही तलबबाट खाना खानुपर्दा कमाउने गएकाहरूलाई काम गरेको पैसा खाँदै ठिक्क हुने गरेको उनले बताए।
'१२ घण्टा काम लगाएर पैसा नदिने। यहाँ सामान्य खाना खायो भने पनि तीनदेखि चार सय जान्छ। ८०० तलब कति बचाउने कति खाने? साउदीमा अहिले यो एकदमै समस्या छ,' उनले भने, 'कोही साउदी आउँदै हुनुहुन्छ भने सप्लाई कम्पनीमा नआउनु भन्न चाहान्छु। सप्लाई कम्पनीमा एकदमै समस्या छ।'
वैदेशिक रोजगार विभागका निर्देशक गुरूदत्त सुवेदी पनि कामको खोजीमा साउदीस्थित सप्लाई कम्पनीमा गएका श्रमिकहरूले दुःख पाएको गुनासो बढ्दै गएको बताउँछन्।
उनका अनुसार सप्लाई कम्पनीले त्यहाँका होटल, सुरक्षा गार्ड, क्लिनिङ, निर्माण क्षेत्र लगायत क्षेत्रका लागि श्रमिक माग गर्छन्। यहाँबाट लगेका श्रमिकहरू त्यहाँ पुर्याएपछि जुन कामका लागि आवश्यक पर्छ त्यो काममा भर्ती गर्ने गरेको पाइएकाले भनेको जस्तो काम सेवा सुविधा तथा तलब नहुने गरेको पाइएको छ।
'सप्लाई कम्पनीमा गएका श्रमिकले कतिले काम नपाउने र पाए पनि भनेको जस्तो नहुने समस्या देखिएको छ। सप्लाई कम्पनीमा श्रमिक पठाउन कडाइ गर्नुपर्ने देखिएको छ,' सुवेदीले सेतोपाटीसँग भने।
धेरै समस्या दोहोरिरहेका कारण सप्लाई कम्पनीमा श्रमिक नै नपठाउने कि भनेर छलफल गर्नुपर्ने देखिएको उनले बताए।
हामीले यसबारे म्यानपावर व्यवसायीसँग पनि कुरा गरेका छौं। म्यानपावर व्यवसायीहहरूको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेल भने सबै सप्लाई कम्पनीमा समस्या नभएको बताउँछन्।
'मलेसिया र खाडीमा त ९० प्रतिशत श्रमिक सप्लाई कम्पनीमै पठाउने हो। सबैमा त्यस्तो समस्या छैन। साउदीमा यहाँको सरकारले मनलाग्दी तलब देऊ भनेकाले समस्या देखिएको हो,' उनले भने।
साउदी सरकारले नेपाल सरकारसँग कुनै सम्झौता नै नगरी न्यूनतम पारिश्रमिक नै एक हजार रियाल दिन भनेका कारण समस्या देखिएको उनको भनाइ छ।
'साउदीमा हामीले मात्रै कामदार पठाउने होइन, भारत, पाकिस्तान लगायत थुप्रै देशहरूले कामदार पठाउँछन्। उनीहरूले केही सीप नभएका जनरल श्रमिक पठाउँदा बेसिक ८०० रियालमै पठाउँछन्। हाम्रो सरकारले मनोमानी शुल्क तोकेर १००० भन्दा कममा पठाउन नपाउने भनेको छ। त्यसले गर्दा केही समस्या देखिएको छ। यसमा दुई सरकारले समन्वय गरेर समाधान गर्न सकिन्छ,' उनले भने।
कतिपय श्रमिकले सुरूमा धेरै तलब देखेर यो काम गर्न सक्छु जान्दछु भनेर अन्तर्वार्ता दिने र त्यहाँ पुगेपछि काम गर्न नजान्ने हुँदा पनि समस्या देखिएको उनले दाबी गरे।
Published on: 29 August 2024 | Setopati
GET IN TOUCH