s
साउदी अरेबियामा कामका लागि गएका ३० जना नेपाली श्रमिकले मासिक तलब १५ हजार रुपैयाँमा काम गर्न बाध्य भएको भन्दै स्वदेश फर्काउन हारगुहार गरिरहेका छन्।
काठमाडौंको सिनामंगलस्थित न्यु एसभी इन्टरनेसनल प्रालि र सामाखुसीस्थित अल अमल ओभरसिज प्रालिलाई ६ महिनाअघि दुई लाख ५० हजार रुपैयाँ तिरेर उनीहरू साउदी पुगेका थिए।
तर, उनीहरू नेपालबाट जुन कम्पनी र तलब भनेर बिदेसिएका थिए, त्यही कम्पनीमा काम नभएर फरक ठाउँमा काम गर्न बाध्य भएपछि उनीहरूको गुनासो बाहिर आएको हो। त्यहाँ पुगेपछि उनीहरूलाई आश्वासन दिएभन्दा निकै कम तलबमा काम गराउन खोजिएको आरोप पीडितहरूको छ।
नेपालबाट श्रम सम्झौता गरेअनुसार कागजातमा अल मदिना कम्पनीमा कामदारहरूको पारिश्रमिक एक हजार रियल मासिक तलब र खाना भत्ता गरेर तीन सय रियल गरी एक हजार तीन सय रियल (नेपाली ४६ हजार तीन सय ४८ रुपैयाँ) दिने भनिएको थियाे।
श्रमिकहरूलाई श्रम सम्झौता अनुसार दिने भनिएको रकमभन्दा निकै कम बनाएर सिटी क्लिनिङ कम्पनीमा काम गराई सुख्खा मासिक तलब साउदी नौ सय रियल मात्र दिइएको छ। त्यही तलब पनि करिब तीन महिनादेखि हातमा नपरेको साउदीमा पीडित बनेका नेपाली श्रमिकहरूले सामाजिक सञ्जाल ह्वाट्सअपमार्फत नागरिक न्युजसँग गुनासो गरेका छन्।
अहिले ती ३० जनाको एउटै माग नेपाल फर्कनु रहेको छ। अर्कै कम्पनीमा काम गर्नु परेपछि उनीहरूले पीडा महसुस गरेका छन्। यो कम्पनीमा दिएको पारिश्रमिकबाट वास, खाना, पिउने पानी, शौचालय जाने पानीसमेत आफैंले किन्नुपरेको पीडितमध्येका एक मोहमद अजमत अन्सारीले गुनासो गरे।
‘यहाँ धेरै अप्ठेरोसँग बसिरहेका छौं’, अन्सारीले आइतबार नागरिक न्युजसँग भने, ‘खाना, पिउने पानी मात्रै नभएर नुहाउने र ट्वाइलेट जाने पानी पनि हामीले नै किन्ने गरेका छौं। तलब नआएको तीन महिना हुन् लागिसक्यो। कसरी चल्ने खानलाई पानी त दिएको छैन, अरू सुविधा झन् के दिन्छ ? खाना खान र पेटभरि पानी पिउन पनि पाएका छैनौं।’
साउदीमा सरकारी नगरपालिकामा राम्रो काम हो भनेर म्यानपावरले श्रमिकसँग लाखौं रकम उठाएर विदेश पठाएको थियो। फरक कम्पनीमा झाडुपोछा लगाएसँगै जेलभित्र पनि काम गर्नुपरेकोमा उनीहरूलाई आपत्तिजनक नभए पनि कम तलबमा काम गर्नु मात्र परेको छैन। खान, बस्न र पानी धरी किनेर खानुपरेका कारण समस्यामा परेको उनीहरूले सुनाए।
काम गर्ने ठाउँमा पनि आफैंले पानी किनी लैजानुपरेको पीडित अन्सारीले भने, ‘यस्तो धुपमा बाहिर काम गर्नुपरेको छ, तर पिउने पानीसमेत आफैंले किनेर काममा जानुपरेको छ। पानी नखाएरै मरिन्छ जस्तो छ। त्यही कारणले हामीसँगै आएको साथीले पानीसमेत राम्ररी खान नपाउँदा महिना दिनअघि मृत्यु भयो। लगभग १५ हजार रुपैयाँ तलब आउँछ। महिनामा खाना र पानी किनेर कसरी खाने ? त्यसमा पनि बैंकबाट ऋण गरेर आएका कारण ब्याज मात्र मासिक सात हजार पाँच सय रुपैयाँ त नेपाल पठाउनै पर्यो भन्दै अघिल्लो दिन मात्रै भनेको साथीको एक्कासि मृत्यु भयो।’
पीडितहरूका अनुसार मृत्यु हुनेमा दोलखाका एक पुरुष थिए। उनी विदेश आएदेखि गाह्रो कामसँगै कम तलब र खानबस्नको पनि केही सेवासुविधा नभएपछि धेरै चिन्तित देखिन्थे। उनीसँग पैसा नहुँदा पानीसमेत किनेर खान नपाएकाे मृतकसँगै बस्ने एक साथीले नागरिककर्मीलाई बताए।
‘उहाँले हामीले किनेको पानीले नै मुख भिजाउने गर्थे, तर एक रात परिवारको धेरै चिन्ता लागेको बेथा हामीमाझ पोखिरहेका थिए। भोलिपल्ट त उहाँको सुतेकै ठाउँमा निधन भयो। उहाँकै बिस्तारामा हामी सुत्ने गरेको महिना दिन भइसक्यो, तर त्यो शव धरी नेपाल पुगेको छैन। हाम्रो कामको के फेरबदल होला र ?’, नेपाल फर्कन अपिल गरिरहेका अन्सारीले भने।
एक पीडितका अनुसार घरबाट छोराछोरीको स्कुल फी तिर्नुपर्यो भनेर फोन आउँछ। आमा, पत्नी र छोराछोरीको बिजोक सम्झँदा मन भक्कानिन्छ। विदेश पुग्नेबित्तिकै महिनैपिच्छे ऋण तिर्छु भनी यहाँ आएको थिएँ, तर सधैं साहु घरम पुगेर परिवारलाई टोकसो गर्ने गरेको साउदीमा रहेको पीडितहरूले बताए।
‘यहाँ बसेर कामअनुसारको पैसा छैन। जसले गर्दा घर पठाउन सकिएको छैन। गर्मीमा ६०/७० केजीको भारी बोक्नुपरेको छ। तिर्खाले मर्नुजस्तो भए पनि किनेको पिउने पानी सकिएला कि भन्ने डर लाग्छ। नेपाल फर्कन पाए आफ्नै देशको हावापानीले बाँच्न सकिन्थ्यो। जसरी पनि नेपाल फर्काइदिनुस् है बिन्ती छ तपाईंलाई’, पीडित अन्सारीको ह्वाट्सअपमार्फत अर्का पीडितले भने।
साउदी अवतरण गरेको केही समयमा फरक कम्पनीमा पुर्याएपछि ती सबै श्रमिकले आआफ्नो म्यानपावरवालासँग अर्कै कम्पनीका लागि किन पठाएको भन्दै प्रश्न राखेका थिए।
हामी श्रम सम्झौताअनुसारकै कम्पनीमा काम गर्ने भनेर आएका हौं, तर फरक कम्पनीमा काम गर्दैनौं भनेर श्रमिकहरूले म्यानपावरवालालाई भनेका थिए। न्यु एसभी म्यानपावर सञ्चालक गंगा श्रेष्ठको जवाफ उधृत गर्दै एक पीडितले भने, ‘त्यो कम्पनी पनि धेरै राम्रो छ। त्यहाँ काम गर्दै गर्नू। पछि केही अप्ठेरो भयो भने म छु त किन चिन्ता लिनुपर् यो। क्षणभरमै राम्रो कम्पनीमा सार्दिन्छु। अहिले त्यसैमा काम गर्दै गर्नू।’
न्यु एसभी इन्टरनेसनल म्यानपावर सञ्चालक गंगा श्रेष्ठका अनुसार, को नेपाल फर्कने र को नफर्कने भनेर यहाँबाट एक कर्मचारी पठाएका छौं। उनीहरूका समस्याको समाधान गरेसँगै काम गर्न चाहने त्यहीं बस्छन्, काम गर्न मन नभएका नेपाल फर्कन्छन्।
‘हामीले त्यही काम भनेरै पठाएका हौं’, श्रेष्ठले भने, ‘उनीहरूसँग कुनै पैसा लिएका पनि छैनौं। कोको एजेन्टले लियो होला, हामीलाई थाहा छैन। लिएको कुनै प्रमाण भए कानुनी दायरामा आउन राजी छौं।’
सोही काम र सोही तलब भनेर पठाएको सञ्चालक श्रेष्ठले बताए। पीडितका अनुसार रोजगारदाताले भनेर प्रतिव्यक्ति आठ हजार रियाल तिरेको दाबी गरेका छन्।
साउदी पुगेदेखि नै आफूलाई बाँच्नै गाह्रो भएसँगै म्यानपावरवालालाई हारगुहार माग्दामाग्दै थाकिसकेपछि साउदीस्थित नेपाली दूतावासमा खबर पनि गरेका थिए।
पीडितका अनुसार ३९ जना नेपाली साउदी अरब पुगेका मध्ये दुई जना कम्पनीमा काम छोडेर भागेका, एक जनाको मृत्यु भएको, ६ जना नेपाली कामदार रोजगारदाताको कम्पनीमै बस्ने र बाँकी ३० जना नेपाल फर्कने छन् ।
साथै विभागलाई काटेको उक्त चिठीमा लामो समयसम्म पनि नेपाली कामदारहरूको समस्या समाधान नगर्नेमाथि उल्लिखित इजाजतपत्रहरूलाई थप जवाफदेही बनाउन आवश्यक कारबाही तथा समन्वयका लागि सादर अनुरोधसमेत रहेको छ।
वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार साउदी अरेबियामा रहेका पीडितबारे अनुगमन भइरहेको छ। यसबारे सक्दो ध्यानाकर्षण गरिने उनले बताए।
नेपाल फर्कन आतुर पीडितहरू
शंकर मण्डल, सुशीलकुमार मण्डल, राम मण्डल, हरि माझी, नकिम मिया, अजय साह, रामलोचन महतो, नवीनकुमार राम, कुलदीप चौधरी, मोहमद बसिरुद्दिन मिया, सुदिशकुमार यादव, रामदरेश राम, रामविश्वास महरा, भुनेश्वर बैठा धोबी, शिवराम साह तेली, निरञ्जनराम माधव, रामेश्वर महतो, सुजन तिमल्सिना, किसुन सहनी, जिबछ ठाकुर बरही, मोहमद अजमत अन्सारी, उमेश महतो, अनवर अन्सारी, जितेन्द्र अधिकारी, कृष्णबहादुर राना, राजु मुंगराती, मैते तामाङ, पेम्बा तामाङ, मनबहादुर थापा मगर।
Published on: 29 July 2024 | Nagarik
GET IN TOUCH