s
श्रम स्वीकृतीका लागि पुगेकी महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा प्रक्राउ परेका श्रम कार्यालयका कर्मचारीलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ । पीडितको उजुरीका आधारमा प्रहरीले आरोपीलाई पक्राउ गरेर मुद्दा दायर गरे पनि अदालतले धरौटीमा छाड्न आदेश दिएको हो ।
काठमाडौंको ताहाचलस्थित श्रम कार्यालयमा कार्यरत सुब्बा घलेले श्रम स्वीकृतिका लागि सहयोग गरिदिने आश्वास दिँदै नजिक भई बलात्कार गरेको पीडितको दावी छ । जिल्ला अदालत काठमाडौंले उनलाई बुधबार धरौटीमा छाड्न आदेश दिएको हो ।
पीडित महिला १५ वर्षदेखि दुबईमा बस्दै आएकी थिइन । उनी गत पुसमा नेपाल आएकी थिइन् । बिदामा नेपाल आएकी उनी पुनः दुबई जान श्रम स्वीकृति लिन गतवर्ष २९ माघमा श्रम कार्यालय पुगेकी थिइन् । त्यहाँ उनको घलेसँग भेट भयो । श्रम स्वीकृति लिन कार्यालय आइरहन नपर्ने भन्दै घलेले आफैंले ल्याइदिने आश्वासन दिएका थिए । २८ वर्षीय घले कार्यालय सहयोगीका रुपमा श्रम कार्यालयमा कार्यरत थिए ।
पटक पटक आफुले फोन गर्दा पनि श्रम स्वीकृति नदिएको र १९ फागुनमा कागज पत्र ल्याइदिन्छु भन्दै जोरपाटीमा भेट्न बोलाएका थिए । त्यसपछि सुन्धाराको कालिगण्डकी होटलमा लगेर बलात्कार गरेको पीडितको जाहेरी छ । विवाह गर्ने आश्वासन दिएर आफुमाथि बलात्कार गरिएको पीडितको दाबी छ ।
पछि ९ वैशाखमा पुनः नयाँ बसपार्कस्थित होटल सम्मृद्धि एण्ड गेष्ट हाउसमा लगेर बलात्कार गरेको पीडितको आरोप छ । त्यसपछि महिला दुबई गएकी थिइन । यसबिचमा उनीहरूको झगडा परेको थियो । घलेले बिहे गर्न नसक्ने भन्दै गालीगलौच गरेपछि महिलाले महिला तथा बालबालिका सेल, काठमाडौंमा उजुरी गरेकी थिइन् ।
ती युवक विवाहित समेत रहेको खुलेपछि उनीहरुबिच झगडा बढेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । सुब्बाले महिलालाई सामाजिक सञ्जालमा पनि ब्लक गरेका थिए । गत महिना नेपाल आएर महिलाले जर्बजस्ती करणीको जाहेरी दिएकोमा प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको हो । जिल्ला न्यायाधीश पदमराज पाण्डेयको इजलाशले उनलाई तीन लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो ।
Published on: 5 September 2024 | Naya Patrika
GET IN TOUCH