s
कुनै पनि देश पूर्ण रूपमा आत्मनिर्भर हुनु भनेको धेरै ठूलो विषय हो । अधिकांश देश पूर्ण रूपमा आत्मनिर्भर भएको पाइँदैन । भौतिक वस्तु होस् वा अभाौतिक, देशमा सबै खालका वस्तु तथा सेवाको उपलब्धता हुँदैन । विकासशील तथा अति कम विकसित देशले जहाँ जे उपलब्ध छ, त्यहीँबाट आयात–निर्यात गरी आफ्ना आवश्यकता तथा उद्देश्यहरू पूरा गर्छन् ।
त्यसै भएर होला, हिजो वस्तु विनिमयको माध्यमको प्रचलन थियो । भिन्नभिन्न देशका आ–आफ्नै गुण, विशेषता, वस्तु तथा सेवा, वातावरण, परिवेश प्राकृतिक स्रोत र साधनलगायत विविध विषय रहेका हुन्छन् । जुन देशसँग जे छ, ती देशले आफूले उपयोग गरेर बढी भएको वस्तु तथा सेवा अन्य देशको मागबमोजिम निर्यात गर्ने र आफूलाई आवश्यक पर्ने वस्तु तथा सेवा अन्य देशवाट आयात गर्ने गर्छन् । यसरी वस्तु तथा सेवाको आयात–निर्यातबाट नै देशहरू आफ्नो राज्य व्यवस्थालाई सहज रूपमा चलाइरहेका हुन्छन् ।
आयात होस् वा निर्यात गर्ने वस्तु/सेवाको उत्पादन, तिनको प्रकृति, लागत, कच्चा पदार्थको उपलब्धता, उत्पादित वस्तुको माग, आपूर्तिअनुसार भिन्न ठाउँमा भिन्न हुने गर्छ । कृषिसँग सम्बन्धित हो भने जमिनमा होला, कृषि फार्महरूमा होला, वस्तु हो भने वस्तु उत्पादन गर्ने कारखानामा होला । सेवासँग सम्बन्धित हो भने सेवा उत्पादन गर्ने शैक्षिक संस्था, तालिम केन्द्र, प्रशिक्षण केन्द्रहरूमा हुने गर्छ । समग्रतामा जे जस्ता वस्तु तथा सेवा उत्पादन गरे पनि उत्पादन गर्ने स्थानलाई कारखाना भनेर बुझ्न र भन्न सकिन्छ ।
कपडा कारखाना, कागज कारखाना, जुत्ता कारखाना, औषधि कारखाना, चिया कारखाना, मैदा कारखाना आदि । यसरी कारखानाबाट उत्पादित वस्तु तथा सेवालाई आवश्यक परिमाणमा उपयोग गरिन्छ र मागबमोजिम निर्यात गर्ने र अन्य देशबाट आवश्यक पर्ने सामग्री आयात गरिन्छ । जसको माध्यमबाट वैदेशिक व्यापारको कारोबार हुन्छ । यस्तो कारोबारको अर्थतन्त्रमा प्रत्यक्ष असर तथा प्रभाव रहेको हुन्छ । आयातभन्दा निर्यात बढी गर्न सक्यो भने भुक्तानी सन्तुलन सकारात्मक रहन्छ तर आयातभन्दा निर्यात कम हुन्छ भने भुक्तानी सन्तुलन नकारात्मक रहन्छ । भुक्तानी असन्तुलन कुनै पनि देशका लागि राम्रो होइन । यस्तो अवस्थामा विदेशी विनिमय सञ्चिति आवश्यक पर्छ । अर्को शब्दमा भन्नुपर्दा विदेशी मुद्राको व्यवस्था गर्नुपर्ने हुन्छ, आयात गरिएको सामानको भुक्तानी गर्नका लागि ।
सामान्यतया कारखानामा वस्तु तथा सेवाको उत्पादन गर्ने गरिन्छ, जुन निर्जीव हुन्छ । तर यस्तो कारखाना जहाँ वस्तु तथा सेवा होइन निर्यातयोग्य साधन/मानव साधन उत्पादन गरिन्छ । प्लस टु, स्नातक, स्नातकोत्तरपछि कोही अमेरिका, अस्ट्रेलिया, युरोप, यूकेमा निर्यात हुन्छन् भने कति मलेसिया, अरब, दुबई, कतारतिर निर्यात हुन्छन् । जसरी वस्तु उत्पादन गर्दा वस्तुको गुणस्तरको मागका आधारमा फरक देशहरूमा आयात–निर्यात हुन्छ, त्यसैगरी शैक्षिक स्तरधारी मानव साधन अहिलेका शिक्षण संस्थारूपी कारखानाबाट उत्पादन भई भिन्नभिन्न देशका लागि निर्यात भइरहेका छन् । आजका दिनमा देशका युवा जनशक्ति दैनिक २२ सयदेखि २५ सयसम्म देशबाट बाहिरिएका छन् । वैशाखमा मात्र ७० हजारभन्दा बढी युवा बिदेसिएको तथ्यांकले देखाउँछ । युवापिँढी दिनानुदिन बाहिरिँदै गर्दा शिक्षण संस्थामा विद्यार्थीको संख्या कम हुँदा ब्याचलर र डिग्रीका कलेज बन्द हुने अवस्थामा पुगेका छन् । घरहरू बुढाबुढी बस्ने वृद्धाश्रम बन्दै छन् । गाउँमा मर्दा मलामी र बिहेमा जन्ती जाने मान्छेको अभाव छ ।
वर्तमान परिस्थितिमा शिक्षण संस्था श्रम निर्यात गर्ने कारखानाका रूपमा रूपान्तरित भएका छन् । भनिन्छ— कुनै पनि देशलाई सखाप पार्नुछ भने त्यस देशको शिक्षा प्रणालीलाई सखाप पारिदिए पुग्छ । आजको समयमा कोही युवा छैन कि म देशमै केही गर्छु र गर्न सकिन्छ भन्ने सोच राख्ने । सर्वप्रथम त हाम्रो शिक्षा प्रणालीलाई कस्तो बनायौं ? कस्तो बनाउनुपर्थ्यो ? कस्तो हुनुपर्छ ? यस्ता यावत् प्रश्नको उत्तर खोज्न ढिला भइसकेको छ । समाजमा रोजगारीको अवसर नहुनु, राजनीतिक अस्थिरताले स्थिर सरकार बन्न नसक्दा विभिन्न गठबन्धनका गाँठा कहिले कता कसिने, कहिले कता फुस्किने अवस्था हुनुले पनि युवाले देशभित्र भविष्य देखिरहेका छैनन् । आयोजना समयमा पूरा नहुनु, समाजमा अनुशासन र नैतिकता हराउँदै जानु, भ्रष्टाचारले संस्थागत रूप लिनु, नातावाद, कृपावादले प्रश्रय पाउनु, नागरिकमा जोसँग धन छ, त्यसलाई महत्त्व दिनुले यहाँ इमानदार र नैतिकवान्को कुनै महत्त्व देखिन्न । हरेक क्षेत्रमा बिचौलियाको बिगबिगी रहनु, राम्राभन्दा हाम्राले स्थान पाउनु, प्रणालीको विकास होला भन्दा भत्किँदै जानु जस्ता विविध विषयले गर्दा आजका युवामा देशप्रति निराशा छ ।
घरपरिवार छाडेर पराइको देशमा श्रम गरेर पढ्न तथा आयआर्जन गर्न पक्कै सहज छैन । तर आकर्षण उतै छ किन ? जो विदेशका लागि फिट हुँदैनन्, त्यस्तो वर्ग समुदाय यहीं रहने तर जोसँग सीप, ज्ञान, श्रम, क्षमता छ, उनीहरूले देश छाड्ने समय आइसकेको छ । जो प्लस टु, स्नातक, स्नातकोत्तरको पढाइपछि बिदेसिन्छन्, पसिना बगाउँछन्, तिनै निर्याती श्रमको मूल्य ‘रेमिट्यान्स’ ले मुलुकको टेको लागिरहेको छ । पसिनाको थोपाथोपा मूल्य आयातित सामानको भुक्तानीमा प्रयोग गरिन्छ । मानव साधन निर्यात गरेको मूल्यले सबै देश चलाउनु भनेको घर डढाएर खरानीको व्यापार गर्नु जस्तै हो ।
आज गाउँदेखि सहरसम्मका धेरै घर वृद्धाश्रममा परिणत भइरहेका छन् । चाडबाड आउँछ, सन्तान साथमा नहुँदा त्यो घरमा कस्तो अवस्था होला ? घरमा अशक्त बाआमा छन्, तातो पानी दिने कोही छैन । बैंक खातामा रेमिटबाट पैसा आएको छ, उपचार गर्न अस्पताल सँगै जाने साथी छैन । न त बुबाआमा विदेशमै गएर बस्न सक्छन्, न विदेश गएका सन्तान स्वदेश फर्कन सक्छन् । अहिले यस्तो अवस्था देखिइरहेको छ कि बुबाआमाको मृत्युपछि छोराछोरी विदेशदेखि आउनुपर्ने हुँदा मृत शरीर कैयौं दिन बाकसमा राख्नुपर्ने सामान्य जस्तै भइसकेको छ ।
कमाउने आसमा बिदेसिएकाहरू रातो बाकसमा मृत शरीर फर्किनुको पीडा भोग्ने परिवारलाई मात्र थाहा छ । चाहे त्यो पढ्नका लागि होस् वा आयआर्जनका लागि गएको होस् । जुन प्रयोजनका लागि बिदेसिए पनि ती सबै न पढाइ सकेर देश फर्किने वाला छन् न आयआर्जनले पुगेर घर फर्किने सोचमा छन् । युरोप, अमेरिका, अस्ट्रेलिया, यूके जस्ता देशमा जाने कतिपय युवामा त नेपालको सम्पत्ति बिक्री गरी पैसा लगेर विदेशमा घरबास तथा व्यापार–व्यवसाय गर्ने प्रवृत्ति बढ्दो छ । थोरैले मात्र देशमा पैसा पठाउँछन् । अरब, साउदी, मलेसिया, कतार जानेहरू जो वर्किङ भिसामा गएका हुन्छन्, तिनीहरूले पठाउने रकम रेमिट्यान्सका रूपमा देशमा आउने गर्छ । त्यही रेमिट्यान्सले आजको दिनमा देशको अर्थतन्त्र सहजतातर्फ लागिरहेको उच्च ओहदाका जानकारहरू बताइरहेका छन् ।
अबको समयमा प्लस टु, स्नातक, स्नातकोत्तरसम्मका शिक्षण संस्थाहरू श्रम निर्यात गर्ने कारखाना बन्नबाट बन्द हुनुपर्छ । श्रमको प्रयोगले वस्तु उत्पादन गरी निर्यात गर्ने हो, न कि श्रम उत्पादन गरेर निर्यात । श्रम अमूल्य निधि हो । जसरी गुणस्तरयुक्त वस्तु उत्पादन गर्न कारखानामा कच्चा पदार्थ पनि गुणस्तरयुक्त नै चाहिन्छ, त्यसैगरी गुणस्तरयुक्त मानव जनशक्ति तयार गर्न शैक्षिक प्रणालीमा पनि सुधार हुनुपर्छ । यसरी योग्य जनशक्ति तयार गरी देशमै काम गरेर जीविकोपार्जन गर्ने वातावरण बनाउन सरोकारवालाले ध्यान पुर्याउन ढिला भइसकेको छ । शैक्षिक गुणस्तरयुक्त लेबल लगाइएका श्रमधारीको प्रयोगले वस्तु तथा सेवा उत्पादन गरी निर्यात गर्ने बाटो खोज्नु आजको आवश्यकता हो । जसले आर्थिक वृद्धिसँगै देशको समृद्धिको अवधारणालाई आत्मसात् गर्न सक्छ ।
Published on: 29 July 2024 | Kantipur
GET IN TOUCH